Thursday, December 17, 2015

पछिल्ला १० खेलमा नेपाली टोली गोलविहीन

पुस २ । भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीे अभ्यास खेलमा बंगलादेशसँग पराजित भएकोे छ ।

बंगलादेशको ढाकामा विहीबार साँझ सम्पन्न खेलमा बंगलादेशको राष्ट्रिय फुटबल टोलीले नेपाललाई १–० गोलले पराजित गरेको हो ।

बंगलादेशका लागि खेलको १८औंमिनेटमा शाखावत रुनीले निर्णायक गोल गरे ।

पहिलो हाफमा नेपालले गोलका लागि पाएका केही राम्रा अवसर खेर फाल्दा बंगलादेशले पनी अग्रता दोब्बर बनाउने अवसरहरु खेर फाल्यो । दोस्रो हाफमा नेपाली टोलीले केही सुन्दर अवसरहरु सिर्जना त गर्‍यो तर त्यसलाई गोलमा परिणत भने गर्न सकेन ।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले विहीबार सुरुआती ११ मा अधिकांश युवा खेलाडीलाई मौका दिएका थिए । नियमित गोलरक्षक किरण चेम्जोङको स्थानमा विकेश कुथुले सुरुआती ११ मा मौका पाएका थिए ।

नेपाली राष्ट्रिय टोलीबाट विहीबार मिडफिल्डरहरु हेमन गुरुङ, योगेश गुरुङ तथा विंगर नवीन लामाले ‘डेब्यु’ गरेका छन् । हेमन गुरुङ र नवीन लामाले सुरुआती ११ मा पर्दै राष्ट्रिय टोलीबाट डेब्यु गर्दा योगेशले ५७औं मिनेटमा विक्रम लामालाई स्थानान्तरण गर्दै राष्ट्रिय टोलीको जर्सी लगाएका हुन् ।

दोस्रो हाफको सुरुआतमै नेपाली प्रशिक्षक प्याट्रिक ओसेम्सले गोलरक्षक विकेश कुथुको स्थानमा किरण चेम्जोङ, अनिल गुरुङको स्थानमा नवयुग श्रेष्ठ, नवीन लामाको स्थानमा विमल घर्तीमगर तथा विशाल राईको स्थानमा रोहित चन्दलाइ मैदान छिराएका थिए । प्रशिक्षक ओसेम्सले विक्रम लामाको स्थानमा योगेश गुरुङलाई मौका दिँदा हेमन गुरुङको स्थानमा जगजित श्रेष्ठलाई मौका दिएका थिए ।

विहीबारको खेलमा पराजित भएसँगै नेपाली टोली पछिल्ला १० खेलमा गोलविहीन बनेको छ । पछिल्लोपटक २०७० साल भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको समूह चरणमा भारतलाई २–१ ले हराएरको नेपालले त्यसपछिका १० खेलमा गोल गर्न सकेको छैन ।

यीमध्ये ८ खेल हारेको नेपालले भारतविरुद्धका पछिल्ला दुई खेल भने गोलरहित बराबरीमा सकाएको थियो ।

अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्यता छ । ‘म्याच फिक्सिङ’ प्रकरणमा नियमित कप्तान र उपकप्तानसहितका केही खेलाडी निलम्बनमा परेपछि नेपाली टोलीमा अधिकांश नयाँ खेलाडीहरु समेटिएको हो ।

भारतमा यही पुस ८ गतेदेखि हुन लागेको साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत र श्रीलंकासँगै समूह ‘ए’मा रहेको छ ।

बंगलादेशको अभ्यास सकाएर नेपाली टोली सोझै प्रतियोगिता खेल्न भारत जाने छ । 


from SHYANE http://ift.tt/1P9KOt9
via IFTTT

No comments:

Post a Comment