Tuesday, May 24, 2016

निशा रावल वाइल्ड कार्डबाट रियो ओलम्पिकमा छनौट

१२ जेस्ठ। तेक्वान्दो खेलाडी निशा रावल ब्राजिलको रियो दि जेनेरियो शहरमा हुने ३१ औं ग्रिष्मकालिन ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनौट भएकी छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मंगलबार सार्वजनिक गरेको नामावलीमा तेक्वान्दोकी निशाले वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । उनी नेपालबाट रियो ओलम्पिकमा छनौट हुने पहिलो खेलाडीसमेत बनेकी छन् ।
तेक्वान्दो खेलका लागि रहेका चारवटा कोाटामध्ये एउटा नेपालकी खेलाडीले पाउन सफल भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनलाइनखवरलाई जानकारी दिए ।
ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने निशा सन् २०१५ जनवरीदेखि आइओसीले प्रदान गर्ने छात्रबृति ओलम्पिक सोलिडारिटी प्रोग्राम अन्तरगत प्रशिक्षण गर्दै आएकी थिइन । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठका अनुसार उनलाई ओलम्पिकका लागि छनौट हुन त्यही कोर्षले सहयोग पुगेको हो ।
ललितपूरको इमाडोल निवासी २० बर्षीया निशाले यसअघि सन् २०१४ को इन्चोन एशियाडमा सहभागी भएकी थिइन् । त्यस्तै उनले हङकङ एशियन सिटी गेम र काठमाडौंमै भएको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन । जेन्जु इन्टरनेशनल ओपनमा च्याम्पियनसीपमा भने उनले रजत जितेकी थिइन् ।
नेपाली तेक्वान्दोले आशा गरेको खेलाडीको रुपमा रहेकी निशा केहि समयअघि भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा उनको तौल समूह समावेश नगरिएका कारण सहभागी हुन सकेकी थिइनन् । घरेलु प्रतियोगितामा उनी ७३ केजी माथि तौलसमूहमा खेल्दै आएकी छन् ।
रियो ओलम्पिकमा छनौट भएपछि उनी निक्कै उत्साही देखिएकी छन् । अनलाइनखवरलाई प्रतिक्रिया दिँदै उनले प्रतियोगितामा आफुले उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।
नेपालले एथ्लेटिक्स र स्वीमिङबाहेक ६ वटा खेलमा वाइल्ड कार्डका लागि आवेदन दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । जसमा सुटिङ, ब्याटमिन्टन, आर्चरी, जुडो, बक्सिङ, तेक्वान्दो थिए । तेक्वान्दोबाट १ जनालाई छनौट गरिएको छ भने अन्य खेलहरुको पनि खेलाडी वाइल्ड कार्डमार्फत छनौट हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अन्य खेलहरुको छनौट प्रक्रिया भइरहेको छ ।


from ARENA http://ift.tt/1TVd4zz
via IFTTT

No comments:

Post a Comment