Photo of Milford Sound in New Zealand

काठमाडौं । गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र सांस्कृतिक कार्यक्रम भइरहेको थियो । बाहिर घुमुवा टोलीका तीन प्रहरी कसैलाई पक्रने सुरसारमा कुरिरहेका थिए । कार्यक्रम सकिएपछि प्रहरी टोलीले एक खुट्टाको भरमा नाच देखाएर चर्चा बटुलेकी रोमा न्यौपानेलाई पक्राउ गर्‍यो ।

रोमालाई सुरुमा महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याइयो । त्यहाँबाट महानगरीय प्रहरी वृत्त, लैनचौर लगियो । लैनचौर वृत्तले दरबारमार्ग वृत्तमै फिर्ता पठायो । सोही साँझ दरबारमार्ग वृत्तले रोमालाई छाडिदियो ।

आखिर कसैले भनेकै भरमा रोमालाई दिनभर कुरेर प्रहरीले किन पक्राउ गर्‍यो ? अनि उनलाई दिनभर यताउता डुलाएर साँझ त्यत्तिकै किन छाडियो ?

यस्तो थियो घटना
२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए ।

लगानीको अवसर ठानेर कोहिनुरलगायतका तीनै जनाले रोमालाई पैसा दिएका थिए । रोमाले आफ्नो संस्थाबाट भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारीजस्तै संस्था पनि चलाएकी थिइन् । तर उक्त संस्था कहीँकतै दर्ता थिएन, तर त्यसले सहकारीको बचतकर्ताकै शैलीमा बचत पुस्तिका वितरण गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले घटनामाथि अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले २०७२ साउन १५ मा रोमा दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । ठगीमाथि अनुसन्धानका क्रममा प्रहरीले २०७२ वैशाखमा ठमेलबाट रोमाका श्रीमान चिरञ्जीवीलाई पक्राउ गर्‍यो भने रोमा फरार नै रहिन् ।

अदालती प्रक्रियालाई समेत असहयोग गरेपछि रोमा फरार अभियुक्त भइन् । काठमाडौं जिल्ला अदालतले २०७३ पुस २६ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनायो ।

फरार घोषित गरिएपछि पनि रोमा विभिन्न सार्वजनिक समारोहमा देखा पर्दै आएकी थिइन् । गत साता पीडितमध्येकी एकले फरार रोमा सार्वजनिक कार्यक्रममा रहेको भन्दै प्रहरीको हटलाइन सेवा एक सय नम्बरमा फोन गरेर सूचना दिएकी थिइन् । सोही सूचनाकै भरमा प्रहरीले दिनभर नाचघरबाहिर पर्खेर कार्यक्रम सकिएपछि रोमालाई पक्राउ गरेको थियो ।

तर फरार अभियुक्तलाई समातेको प्रहरीले भने मुद्दाको गम्भीरता नै नबुझी सोही साँझ उनलाई छाडिदियो । काठमाडौं परिसरको मुद्दा शाखाका डिएसपी मोहन थापाले फरार अभियुक्तलाई पक्राउ गरेर छाडेकामा आश्चर्य व्यक्त गरे । उनले कान्तिपुरसँग भने, ‘मैले यताबाट पत्र पठाइसकेको थिएँ ।’

परिसरले सोही साँझ चलानी नम्बर ४५२५ को पत्रमार्फत् रोमाको नाममा पक्राउ पुर्जी जारी गरेको देखिन्छ । उक्त पुर्जीमा लेखिएको छ, ‘अन्दाजी ३७ वर्षकी रोमा न्यौपाने पोख्रेललाई पक्राउ गरी बृत्तबाटै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदिनुहुन अनुरोध गरिएको छ । काठमाडौं जिल्ला अदालतस्रोतका अनुसार न्यायाधीश कृष्ण कोइरालाको इजलासले गत पुस २६ गते उक्त ठगी मुद्दामाथि आंशिक दाबी पुग्ने भन्दै अन्तिम आदेश जारी गरिसकेको छ ।

रोमाले आफूलाई किर्ते कागज, छाप र चलानीका आधारमा फसाउन खोजिएको दाबी गरिन् । उनले शनिबार आफूलाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउँदै भनिन्, ‘म साक्षी बसेकै कारण मलाई फसाउन खोजियो । दु:ख दिने काम भयो ।’ रोमाले आफ्नाविरुद्ध अदालतमा मुद्दा रहेको आफूलाई थाहा नभएको र अदालतबाट कुनै त्यस्तो पत्र नआएको बताइन् ।

को हुन् रोमा ?
२०७२ सालमा नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड पाएकी रोमा नृत्य र अभिनयका क्षेत्रमा ख्याती कमाएकी कलाकार हुन् ।

८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एउटा खुट्टाकै भरमा कुशल नृत्य गर्न सक्ने भनी चर्चित भइन् । टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा देखाएकी उनले पछिल्ला वर्षमा देश(विदेशमा हुने स्टेज सोहरूमा नृत्य प्रस्तुत गर्ने गरेकी छन् । – कान्तिपुरबाट

The post एक खुट्टाले नाचेर संसार हल्लाउने रोमा न्यौपाने काठमण्डौमा पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2oIiwz9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top