Photo of Milford Sound in New Zealand

-डीबी विष्ट
बझाङ । गाना वादीका तीन वर्षीय छोरा विराज वादीले पुस २२ गते शनिबार राती एक्कासि सास फेर्न छोडे । गानाले राती २ बजेको समयमा दुध दिँदा बालकले दुध खाएनन् । सँधै १ बजे राती बच्चा कराएपछि दुध दिने गरेकी गानाले राती २ बजेसम्म पनि बालक नरोएपछि आफैले दुध दिन खोजिन् । काखैमा सुतेका छोरालाई दुध खुवाउन खोज्दा छोराले सास फेरे नफेरेको छुट्याउन सकिनन् ।

शरीर पुरै चिसो थियो । गानाले छोरा मरिसकेको ठानिन् । रुवाबासी गर्न थालिन् । उनी रोएको सुनेपछि छिमेकीहरू जम्मा हुन थाले । विराज बेहोस अवस्थामा थिए । छिमेकीहरूले पनि बालकको मृत्यु नै भएको अड्कल काटे । तर छिमेकी राधा वादीले बालकलाई राम्रोसँग हेरिन् र काखका लिईन् । बालकले मुखबाट अलिअलि सास लिए जस्तो राधालाई लाग्यो । अनि उनले जतिसक्दो चाँडो आगो बाल्न भनिन् । हतार–हतारमा आगो बालियो । अनि त्यही आगोले बालकलाई सेके (तताए) । केही मिनेटमै विराजले खुट्टा चलाए । गानाले हर्षका आँसु खसाइन् । छिमेकी पनि सबै खुसी भए । राधालाई धन्यवाद दिए ।

मरिसक्यो भनिएको छोरा जीवित भएपछि अहिले गानाले आफूले लगाउँने गरेको धोतीमा बेरेर छोरालाई न्यानो बनाउने कोसिस त गरेकी छन् । तर टिनले छाएको टहराको छानोबाट रातभर शरीरमै तपतप शीत चुहिन्छ । गानालाई आफू समेत कुन दिन कठ्याङ्ग्रिएर मर्छु भन्ने चिन्ताले सताइरहेको छ । आफू भन्दा पनि छोरा बचोस् भन्ने चाहानाले रातभर जाग्राम बस्ने गरेको उनले दुखेसो पोखिन् ।

बझाङ सदरमुकाम चैनपुर र थलारास्थित टिनले छाएका स–साना टहराको वादी बस्तीमा रातको समयमा रुवाबासी नचलेको दिन हुदैन । चैनपुर र थलारा गाउपालिकाको खोलीमा बसोबास रहेका वादी बस्तीमा चिसो सुरु भएसँगै यो आपत् आइलागेको हो ।

गरिवी, अशिक्षा र विपन्नताका कारण वादी समुदायलाई हिउँदको यो कठ्याङ्ग्रिने चिसो शत्रुका रुपमा आएको छ । एकसरो लुगा र पेटभरी खानेकुराको अभावमा उनीहरूलाई जाडो छल्न अत्यन्तै मुस्किल छ ।

टुहुरालाई झन् समस्या

चैनपुर र थलाराका वादी बस्तीमा कतिपय टुहुरा बालबालिका छन् । कसैका आमा छैनन् । कसैका बुबाआमा दुवै छैनन् । उनीहरूलाई दया मायाले छिमेकीले लालन पालन गरेको अवस्था छ । शिक्षा र स्वास्थ्यबाट उनीहरू पूर्ण रुपमा बञ्चित छन् ।
थलारा गाउँपालिका खोली बस्ने सुर्मा वादी अहिले १२ वर्षकी भइन् । उनका भाई विजय १० वर्ष पुग्नै थाले । सुर्माका बुबाआमा छैनन् । उनीहरू ७ वर्ष पहिले बितेका रहेछन् । सुर्माका बुबा खम्म वादी रोगका कारण र आमा विमलाले खान लाउँन समस्या भएपछि आत्महत्या गरेकी रहिछन् । सुर्माकी बज्यै पुनीदेवी वादीले उनीहरूको लालन पालन गरिरहेकी छन् ।

पुनीदेवीलाई पनि बुढ्यौलीले छोइसकेको छ । मागेरै गुजारा चलाउँदै आएको उनको परिवारमा अहिले गाउँमा गएर माग्न सक्ने समेत कोही छैनन् । पुनीदेवी गाउँ हिँड्न सक्दिनन् । माग्ने कसरी सुर्माका दिदीभाईलाई थाहा छैन । छिमेकीले दिए खाना पाउँछन् । नत्र भोकै बस्नु पर्ने बाध्यता छ । शरीरमा च्यात्तिएका लुगा छन् । शरीर न्यानो पार्ने कपडा छैन । दिउसोमा त घाम तापेर जाडो छल्छन् । रातको समयमा ओड्ने र ओछ्याउनेको अभाव छ । त्यसैले रातभर दाउरा बालेर, आगो तापेर रात बिताउछन् उनीहरू ।
आमाबुबा नहुँदा बज्यैको सहारामा हुर्किरहेका सुर्माका दिदीभाईलाई छिमेकीले समेत घृणा र हेला गर्छन्् । बलियो अभिभावक नहुँदा केटाकेटीहरूले छिमेकीबाटै हेलाका्े भारी बोक्नुपर्दोरहेछ भन्ने कुराको उदाहरण सुर्मा र विजयबाट प्रष्ट हुन्छ ।

कुराकानीका क्रममा सुर्मा रोइन मात्रै । उनकी बज्यैले नै आफूहरूको दुख र पीडाको भारी ओकलिन् । विजयलाई अभाव त थाहा रहेछ, व्यक्त गर्न सकेनन् । पेट गुजाराका लागि सुर्माले काम पनि खोजेकी रहिछन् । तर सानै छस्, के काम गर्छेस् र भन्दै कसैले कामै दिएका छैनन् ।

प्रमिला वादीका बुबाको मृत्यु भएको पनि पाँच वर्ष पुग्यो । पुरानो एउटा कम्बल थियो । अरुले नै दिएको त्यो कम्बल पनि बुबाको लाससँगै जलाइयो । त्यो दिनदेखि ओड्ने केही छैन । प्रमीलाका बुबा पद्म्या वादी विरामी भएर बितेका रहेछन् । मान्छे मर्दा कुनै न कुनै एउटा कपडा दिनुपर्छ मान्यता अनुसार त्यो कम्बल उनको लाससँगै जलाएको प्रमिला वादीकी आमा हरीना वादीले बताईन् । अब कम्बल किन्न सक्ने क्षमता उनीहरूसँग छैन ।

प्रमिलाका दुई दिदीबहिनी छन् । हरीनाले छोरीहरूलाई चिसोबाट जोगाउन बजारमा फालिएका चाउ चाउ र बिष्कुटका कार्टुन ल्याएर बिछ्याएकी छन् । ओड्ने गतिलो चिज केही छैन । त्यसैले आमाछोरीहरू धेरै नै निन्द्रा लागे त्यही कार्टन र फाटाटुटा लुगा ओढेर केही बेर निदाउने र फेरि आगो ताप्ने गर्छन् ।

पत्रकारप्रति वितृष्णा

बझाङ्का वादीहरूलाई पत्रकार र एनजीओप्रति पनि ठूलो आक्रोस छ । १२ वर्षीया सुर्माले भनिन्, ‘यस्ता कुरा सोध्ने र फोटा खिच्ने त कति आए आए । तम्लाई (तपाईंलाई) हाम्रा कुरा लेखेर फाइदा होला । हाम्लाई त केही फाइदा छैन दाइ ।’

समाचार वा कुनै कुराका लागि वादी बस्तीमा जाँदा उनीहरूको भनाइ यस्तै हुन्छ । पीडा र आक्रोस सँगसँगै पोख्छन् उनीहरू ।

जनता आवास कार्यक्रम अन्तरगत घर बन्न ढिलाइ

थलारा गाउँपालिकाको खोलीमा बस्ने २८ परिवार र चैनपुरमा बस्ने १३ वादी परिवारको पीडा एउटै छ ।

सरकारले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गर्न लागे पनि महिनौं बितिसक्दा लाग्दा समेत उनीहरूका घर निर्माण गरिएका छैनन् । केहीका पिल्लरहरू ठड्याइएका छन् भने कुनै घरको कामसम्म सुरु गरिएको छैन । सरकारको लापर्वाही र वेवास्ताका कारण घर निर्माणमा ढिलाई भइरहेको उनीहरूको भनाइ छ ।

भदौ ३० गतेभित्र घर निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने भए पनि अहिलेसम्म घर बनाउने काम भएको छैन । किस्ता ढिला आएका कारण घर निर्माणमा ढिलाई भएको चरी ढुङ्गा रसाईली टोल जनता आवास निर्माण समिती संयोजक सुनिल रसाईलीले बताए ।

जनता आवास कार्यक्रम अन्तरगत एक परिवारले जम्मा २ लाख ३३ हजार ७ सय २० रुपैयाँ पाउनु पर्ने हुन्छ । रसाइलीका अनुसार पहिलो किस्ता स्वरुप ५८ हजार र दोस्रो किस्ता स्वरुप ७१ हजार मात्र निकासा भएको छ । तेस्रो किस्ता आउन बाँकी छ । सम्झौता अनुसार भदौ ३० भित्र नै घर निर्माण गरिसक्नु पर्ने हो । पहिलो, दोस्रो किस्ता नै ढिला भुक्तानी भएका कारण समस्या भएको हो र घर निर्माण गर्ने काम समेत ढिला भएको उनको भनाइ छ ।

सरकारले बनाइदिने भनिएका घर निर्माणमा समेत ढिलासुस्ती भएको छ । जीवनमा पहिलोपटक पक्की घरमा बस्ने आसा गरेका उनीहरूको त्यो सपना पूरा हुन सकेको छैन ।

सहयोगको अपेक्षा

गरिवी र अभावको मारमा परेर कष्टपूर्ण जीवन बिताइरहेका वादी समुदायलाई चिसो मौमस शत्रुका रुपमा आइदिन्छ । जसले गर्दा यतिबेला वादी बस्तीमा चिसोका कारण बालबालिका, वृद्धवृद्धा, सुत्केरी र गर्भवती महिलाहरू बढी मारमा रहेको दिल्प्या वादीले बताए ।
दिल्प्याका अनुसार चिसोकै कारण यतिबेला कतिपय वादीहरू बिरामी अवस्थामा छन् । उनीहरू चिसो छल्ने खालका लत्ता कपडा र सहयोगको पखाईमा छन् । उनले सहयोगी हातहरूलाई न्यानो कपडा र औषधीपोचारको व्यवस्था गरिदिन समेत आग्रह गरेका छन् ।

-महिला खबर बाट साभार गरिएको

The post कठ्याङ्ग्रिएर मरे भनिएका बालक आगोले तताएपछि बाँचे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D3UN6A
via IFTTT

0 comments:

Post a Comment

add

 
Top