Photo of Milford Sound in New Zealand

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, पुस २४ –२०४४ साल मंसिर १९ गते बैतडीको पञ्चेस्वर गाँउपालिका –४, निंगलाडमा जन्मिएकी कुस्मा चन्द असार १४ गते भएको स्थानीय तह दोस्रो चरणकोे चुनावबाट शिवनाथ गाँउपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । शान्त अनि सरल स्वभावकी कुस्मा लामो समय राजनीति गरेर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको होइन ।

कुस्मा कक्षा ६ मा पढ्दै गर्दा उहाँको विवाह भयो । बिहे गर्दा उहाँ जम्मा १४ वर्षकी हुनुन्थ्यो । कक्षा ६ मा पढ्दै गर्दा छोरीलाइ पढाउनु हुँदैन भन्ने समाजमा कुरा उठेपछि उहाँका बुवा आमाले उहाँलाई पढाइ छोड्न लगाएर बिहे गरिदिनुभयो ।

बिहेपछि पढ्न पाउने कुनै सम्भावना थिएन । त्यो समयमा सासू ससुराले घरको काम गर्न लगाउने भनी छोराको बिहे गराएको रे ! २५ जनाको संयुक्त परिवारमा बिहे गरेकी कुस्माले घरका सबै मान्छेको सेवा गर्नुपथ्र्यो । तर, कलिलै उमेरमा विवाह हुँदा बिहेपछिका जिम्मेवारीको विषयमा उहाँ अनविज्ञ हुनुहुन्थ्यो । जसो तसो उहाँले घरको काम गर्नुभयो ।

बिहे गरेको केही महिनामै कुस्माका पति प्रकाश चन्द मजदुरीका लागि भारत जानुभयो । बिहेको एक वर्ष नपुग्दै उहाँ सुत्केरी हुनुभयो । तर, गर्भावस्थामा उहाँलाई सामान्य स्याहार गर्ने पनि कोही भएन । उहाँकी सासूको पहिला नै निधन भइसकेको र सौतेनी सासूले राम्रो व्यवहार नगर्दा निकै दुःख भोग्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सौतेनी सासुले आफू गर्भावस्थामा हुदाँ विभिन्न किसिमका कचकच सुनाइन् । मन लागेको बेला खान पाइनँ । मनपरेको खान पाइनँ । गर्भावस्थामा समेत बिहानै ४ बजे ब्यँुझेर दिनभर मेलापात, घाँस, दाउरा तथा ओखल जाँतो गर्दै हिड्नुपथ्र्यो । पेटमा बच्चा भएको बेला के के कुरा खान मन लाग्थ्यो । पेटभरी खान मन लाग्थ्यो तर मनभरीका पीडा सुनिदिने कोही थिएन ।’

आँशु झार्दै उहाँले भन्नुभयो, ‘छोरा जन्माउँदा पनि घरमा नभएर भैँसी गोठमा छोरा जन्माएँ ।’ छोरा जन्मिएपछि पनि कुस्मालाई घरको कुनै सदस्यले पनि माया गरेनन्, उल्टै छोरालाई ६ महिना पुग्दा सासूले आफ्नो घरबाट छुट्याएर अलग्गै राखिदिइन् ।

‘सासूले घरको अंश पनि नदिँदा ६ महिनाको छोरा बोक्दै एउटा पुरानो घरमा बस्दाको पीडा सम्झदा अहिलेको दिन आउला जस्तो लागेको थिएन । तर, मैले हिम्मत हारिन’ उहाँले भन्नुभयो । घरमा चाहिने भाँडाकुडा तथा अन्न थोरै मात्रामा पनि नदिदा उनी अलग्गै बस्न थालिन्, तर उहाँका पति प्रकाश भारतमै थिए । ‘मलाई घरबाट अलग गरेको बारे श्रीमानलाई केही थाहा थिएन । म अलग्गै बस्न थालेको झण्डै १ वर्ष पछि मात्रै श्रीमान घर फर्किनुभयो तर उँहा पनि परिवारसँगै बस्न थाल्नु भयो । मेरो ख्याल कसैले गरेनन्, उल्टो कहिले श्रीमानले १÷२ सय रुपैयाँ दियो भने पनि गाली खानु पथ्र्यो’, उहाँले भन्नुभयो ।

उहाँले एक्लै बस्दा गाँउलेबाट खाना मागेर खाँदै अरुको बाँझो जग्गा खनेर तरकारी खेती सुरु गर्नुभएको थियो । गरेपछि के हुँदैन ? काखमा छोरालाई बोक्दै भैँसी, गोरु, बाख्रा पाल्दै उहाँले पैसा जम्मा गर्न थाल्नुभयो । तरकारी बेचेर दैनिक घर खर्च चलाउन पुग्थ्यो । त्यहीबेलादेखि भैँसीको घ्यू बेचेर सहकारी संस्थामा केही रुपैयाँ जम्मा गर्न थालेपछि अहिले उहाँले महेन्द्रनगरमा ५ कट्ठा जग्गासमेत किनिसक्नुभएको छ । छोरा हुर्कदै गएपछि उहाँले २०६५ सालमा फेरि पढाई सुरु गर्नुभयो । छोरा बढ्दै गएपछि काखमा छोरा च्यापेर माइतीमा गएर कक्षा ८ मा भर्ना हुनुभयो ।

कक्षा ८ र ९ पहिलो श्रेणीमा उत्तीर्ण गर्नुभएको कुस्माले कक्षा १० (एसएलसी) पनि पहिलो श्रेणीमै उत्तिर्ण गर्नुभयो । उनले गणित विषय लिएर उच्च माध्यमिक तह उत्तीर्ण गरिसकेपछि उहाँले गाउँकै विद्यालयमा अध्यापन गराउनेकाम सुरु गर्नुभयो । २ वर्ष शिक्षण गरेपछि उहाँ श्रीमानसँगै भारत जानुभयो । भारतमा बस्दा सिलाइ कटाइको काम सिकेर भारतमै काम गर्न थाल्नुभयो ।

एक वर्ष भारतमा बसेर पुनः घर फर्किनुभएकी कुस्माले माद्यमिक विद्यालयमा गणित विषयमा अध्यापन गराउन थाल्नुभयो । दुईवर्ष शिक्षण पेशामा आबद्ध भएपछि उहाँलाई संघसंस्थामा काम गर्ने रहर जाग्यो । कुस्माले जिल्लामा सञ्चालित एजजिसिडिपी कार्यक्रम अन्तर्गत सामाजिक परिचालक भएर काम गर्न थाल्नुभयो । विद्यार्थी छँदा देखिनै एमालेसँग नजिक रहेकी उहाँलाई गाउँपालिका उपाध्यक्षमा उमेदवारी दिन अवसर आयो र उम्मेदवारी दिइन् । मतदाताले बैतडी शिवनाथ गाँउपालिका अध्यक्षमा नेपाली कांगे्रसका कर्णसिंह साउद लाई जिते पनि उपाध्यक्षमा भने एमालेकी कुस्मा चन्द विजयी भइन् । उहाँको हरेक संघर्षले सफलता दिइरह्यो ।

विगतमा घर बाटै अनेक पिडादायी हिंसा भोग्नु भएकी कुस्माले अहिले घरपरिवारको विश्वास जित्नुभएको छ । ‘अहिले श्रीमान र ससुराले कमाएको पैसासमेत मलाई नै दिने गर्छन् । मैले भने अनुसार परिवार चलेको छ । ५ नन्दहरु मध्ये ३ को बिहे भैसक्यो बिहेको सबै खर्च मैले नै व्यवस्थापन गरेकी हुँ ।’

बैतडीका धेरै जसोे महिलाले आफ्नो जस्तै पिडा भोगिरहेको उहाँले बताउनुभयो । आफ्नो उदाहरण दिँदै आफू कमजोर भए सबै पराई हुने भएकाले आत्म निर्भर बनेर अघि बढ्न उहाँले सबैलाई आग्रहसमेत गर्नुभयो । उज्यालो बाट

The post कुनै बेला अरुको घरमा मागेर खाएकी थिइन् गाउँपालिका उपाध्यक्ष चन्दले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2m6qW26
via IFTTT

0 comments:

Post a Comment

add

 
Top