Photo of Milford Sound in New Zealand

अभिनेता धीरेन शाक्य र राजेश हमाल एकताका नेपाली फिल्म क्षेत्रमा प्रतिस्पर्धी नाम थियो । यी दुई अभिनेताका चलचित्र सँगै रिजिल हुँदा हलमा दर्शकहरू ‘कता जाऊँ कता’ हुन्थे । दुवैको अभिनय बेजोड थियो । दर्जनभन्दा बढी फिल्ममा यी दुई अभिनेताले सँगै काम पनि गरे । शिव श्रेष्ठ र सरोज खनालसँग पनि धीरेन एउटै फिल्ममा खेले । भुवनसँग भने फिल्मबाहिरको सम्बन्ध रह्यो । यी पाँच अभिनेतामा उमेर र फिल्मी करिअर दुवै पाटोबाट धीरेन नै कान्छा हुन् । उनै धीरेनलाई प्रवीण देवकोटाले सोधे, तपाईंको नजरमा कुन हिरो कस्तो ? उनले सुनाए :

शिव श्रेष्ठ : ठट्टाका पारखी

शिव श्रेष्ठलाई मैले ‘दाइ’ सम्बोधन गर्छु । उहाँप्रति यो मेरो सम्मान हो । उहाँ मभन्दा निकै ‘सिनियर’ हो । म केटाकेटी छँदा नै उहाँ पर्दामा उदाइसक्नुभएको थियो । शिव दाइलाई मैले पहिलोपटक देखेको पाल्पामा हो । मेरो घरनजिकै ‘कान्छी’ फिल्म सुटिङका लागि पुग्नुभएको रहेछ । उहाँ आएको थाहा पाएपछि सुटिङ पनि हेर्न र शिव दाइलाई पनि नियाल्न भन्दै दौडिँदै पुगेँ । लामो समयसम्म उहाँको सुटिङ हेरेँ । त्यतिखेरै कल्पिन्थेँ, ‘शिव श्रेष्ठजस्तै हिरो बन्न पाए !’

संयोग नै भनाँं, अन्ततः म पनि यही क्षेत्रमा आइपुगेँ । मैले जीवनमा उहाँसँगै एउटाबाहेक फिल्म खेल्न पाएको छैन । तुलसी दाइ (तुलसी घिमिरे)ले बनाएको फिल्म ‘साइत’मा शिव दाइ र मैले सँगै खेल्ने मौका मिल्यो । तर, यो खुसीमा पनि दुःखको पाटो आयो, सुटिङमा उहाँसँग भेट हुनै पाएन । उहाँ र मेरो ‘सिन’ एकैचोटि नपरेपछि भेट हुने अवसर गुम्यो । खासमा मलाई सुटिङमै भेट्ने खुब रहर थियो । म केटाकेटी छँदै उहाँले पाल्पामा सुटिङ गरेको ‘कान्छी’को सिन सम्झाउन मन थियो ।

त्यसो त यो फिल्म खेल्नुअघि केही कार्यक्रममा हल्काफुल्का भेट भएको थियो । साइत रिलिजपछि भने भेट केही बढी नै भयो । उहाँसँगको केही भेटमै म निकै नजिकिएँ । उहाँ खुबै ‘फ्य्रांक’ मान्छे । त्यो स्वभावले नै मलाई उहाँतिर नजिक गरायो ।

अभिनय त मलाई पहिल्यै मन पर्ने । आफ्नै प्रकारको दम छ, उहाँको अभिनयमा । व्यक्तिगत स्वभाव झन् गज्जबको । चुप बस्दै नबस्ने, जोक गरिरहने बानी । भेटको निकै छोटो समयमा उहाँसँग निकटता बढ्यो ।

हामी त हुँदाहुँदै यति नजिक भइयो कि छिमेकी नै बन्न मन लाग्यो । केही वर्षदेखि म भैँसेपाटीमा उहाँकै घरनजिक गएर बसेको छु । सल्लाहमै नजिक बसौँ भनेर यसो गरेका हौँ । अहिले हामी छिमेकी पनि हौँ । उहाँलाई एकपटक कान्छीको सुटिङ स्मरण गराउँदा खुब ‘नोस्टाल्जिक’ हुनुभयो । पाल्पाका एक–एक दृश्य स्मरण गर्नुभयो ।

आजभोलि त एकै ठाउँमा घर भएपछि झन् बाक्लो भेट हुन्छ । झन्, रमाइला गफ हुन्छन् । मेरो घरैअगाडि उहाँको रेस्टुरेन्ट छ । दिनभर त्यतै व्यस्त हुनुहुन्छ, उहाँ । दिउँसो, बेलुका समय निकालेर भेट्न पुग्छु । बसाइमा उहाँले फिल्म क्षेत्रका र बाहिरका विभिन्न साथीका स्वभावबारे ठट्टा गर्नुहुन्छ । रमाइला जोक सुनाउनुहुन्छ । सबै त कसरी भनूँ र ! उहाँको रेस्टुरेन्टमा बसेर रमाइला पलहरू बिताएका छौँ ।

भुवन केसी : बोल्यो कि लठ्ठै पार्ने

भुवन केसी पनि मभन्दा निकै सिनियर ‘एक्टर’ हुनुहुन्छ । मेरो फिल्मी जीवनमा खड्किएको एउटा कुरा हो, भुवन दाइसँग फिल्म खेल्ने रहर । त्यो अवसर अहिलेसम्म जुरेको छैन । मलाई निकै रहर हो, सँगै खेल्ने । अहिले पनि त्यो प्यास मेटिएको छैन ।

भुवन दाइ त मलाई नमुना एक्टरजस्तो लाग्छ । सधैँ फ्रेस र एक्टिभ देखिने । व्यक्तिगत स्वभाव पनि एकदमै राम्रो । सबैसँग समान ढंगले बोल्ने । सानो–ठूलो ठानेर बोल्ने उहाँको स्वभाव छैन । उहाँसँग बोल्दा पहिलो भेटमै जो पनि लठ्ठ पर्छ । बाबु, भाइलगायत सम्बोधन गरेर बोल्नुहुन्छ ।

उहाँको अभिनय र बानी व्यहोराबाट मात्रै होइन, लवाइमा पनि म लठ्ठिन्छु । भुवन दाइको ड्रेसबाट प्रभावित छु । ड्रेसअपकै कारण उहाँको लुक्स एक्स्ट्रा देखिन्छ । उहाँका ‘कुसुमे रुमाल’लगायत फिल्मबाट पनि प्रभावित भएको छु । धेरै चर्चित फिल्महरू दिनुभयो, उहाँले ।

कहिलेकाहीँ केटाकेटीजस्तो व्यवहार पनि देखाउनुहुन्छ । चुलबुले पाराको, जोक भनिरहनुपर्ने स्वभाव छ । रमाइला–रमाइला कुरा गरेर हँसाउनुहुन्छ । उहाँसँग कार्यक्रमहरूमा भेट भइरहन्छ ।

त्यस्तो बाक्लो भेटघाट उहाँसँग हुँदैन । पार्टी तथा कार्यक्रमहरूमा भेट हुँदाचाहिँ सँगै रहन्छौँ । म आफैँ दाइको नजिक जान्छु । मुस्कानले स्वागत गर्नुहुन्छ ।

राजेश हमाल : वाक्यै मिलेको छैन

राजेशजीसँग सम्बन्ध छ भन्ने कि छैन भन्ने । उहाँ र मैले सँगै खेलेका धेरै फिल्म छन् । तर, उहाँसँग सामान्य मात्रै सम्बन्ध रह्यो । १०–१५ वटा फिल्म सँगै गर्दा पनि सम्बन्ध गाढा भएन । हिरो र हिरोको सम्बन्ध मात्रै रह्यो, त्यो पनि कामको सिलसिलामा । पार्टी, कार्यक्रम र फिल्म सेटमा पनि खासै बोलचाल भएन।

उहाँसँग कुनै रिस–रागका कारण सम्बन्ध नमिलेको होइन । मान्छेको एउटा स्वभाव हुने रहेछ । उहाँ एक प्रकारको हुनुहुन्छ, म फरक प्रकारको छु । भन्ने चलन छ नि, ‘कस्तो ग्रह नमिलेकोजस्तो’, हो हाम्रो सम्बन्ध त्यस्तै हो । म अलि बोल्नुपर्ने स्वभावको छु । तर, उहाँ नबोल्ने । मसँगै मात्रै हो कि यस्तो भन्ने पनि लाग्थ्यो । बोल्नुपर्ने ठाउँमा त बोलिरहेकै देख्छु, मेरो अगाडि त कहिल्यै बोल्नुभएन ।

‘सिमाना’, ‘भीष्म प्रतिज्ञा’, ‘अर्जुन’, ‘भाग्यले जुरायो’लगायत फिल्ममा राजेशजी र मैले सँगै काम गरियो । फिल्ममा आ–आफ्नो रोल गरिन्थ्यो, निर्देशकको निर्देशनअनुसार । आ–आफ्नो रोल गर्यो, चुप लाग्यो, कुनै बोलचालै भएन । फिल्म सेटमा त कुरा नभएपछि अन्त के हुनु ? कहिल्यै त्यस्तो सम्बन्ध रहेन ।

उमेर र फिल्मी करिअर दुवै पाटोमा राजेशजी पनि मभन्दा सिनियर हो । उहाँको फिल्मीयात्रा मेरोभन्दा लगभग ८–९ महिना पहिले सुरु भएको हो । उहाँले फिल्म डेब्यु गर्दा म भिडियो फिल्म गरिरहेको थिएँ ।

नेपाली फिल्म उद्योगमा सबैभन्दा बढी फिल्म उहाँसँगै गरेँ, तर सम्बन्ध टाढाको हुँदा कहिलेकाहीँ अप्ठ्यारो महसुस हुन्छ । तर, कुनै पनि प्रतिस्पर्धा र इगोले होइन । आजभन्दा २०–२२ वर्षअघि त्यस्तो सुपरस्टार बन्ने भन्ने प्रतिस्पर्धा पनि खासै हुँदैनथ्यो । फिल्महरू नै कम बन्थे ।

राजेशजी पेसामा कामचाहिँ राम्रो गर्नुहुन्छ । निर्देशकले खोजेको प्रस्तुति दिन सक्ने क्षमता छ । कामको हिसाबमा उहाँ राम्रो ‘एक्टर’ लाग्छ । उहाँसँगै सबैभन्दा पहिले सिमाना फिल्म गरेको हुँ, ०५१–५२ तिर । भेट पनि त्यहीँ नै पहिलोपटक भएको हो । देखादेखचाहिँ त्यसअघि पनि भएको थियो ।

सरोज खनाल : उत्कृष्ठ अभिनय

सरोज खनालसँग ‘कर्जा’ फिल्म सँगै गरेँ । तर, फिल्म गर्दा उहाँसँग भेट हुनै पाएन । फरक–फरक समयमा रोल थियो । त्यसैले त्यो मौका मिलेन । सरोजजी नाटकतिरबाट आउनुभएको हो । त्यसैले पनि उहाँको अभिनय निकै राम्रो थियो । मलाई उहाँको अभिनय दमदार लाग्थ्यो । नराम्रो पक्ष त उहाँमा केही लागेन । मिलनसार हुनुहुन्छ ।

त्यसो त लामो समय फिल्म लाइनमा रहनुभएन । त्यसैले धेरै घुलमिल हुन पाइएन । छोटो समय नजिक रहँदा उहाँ शान्त स्वभावको लाग्थ्यो । कर्जा गरेपछि उहाँ अमेरिका जानुभयो । फेरि फर्किएको बल्ल एक–दुई वर्ष भयो क्यारे । आजकाल खासै भेट हुँदैन ।

बरु, उहाँसँग केही वर्षअघि अमेरिकामै भेट भएको थियो । उहाँ अमेरिकामै रहँदा म पनि एकपटक गएको थिएँ । उहाँसँग भेट भयो । उहाँ बस्नेनजिकै मेरो आफन्त बस्नुहुन्थ्यो । त्यहाँ गएपछि ‘सरोज खनाल पनि यहीँ हो नि बस्ने भनेपछि थाहा भयो । उहाँलाई भेटेँ ।

अमेरिकामा उहाँसँग भएको भेट निकै रमाइलो रह्यो । उहाँको स्वभाव त त्यतिखेर धेरै बुझ्न पाएँ । बेलुका सँगै बसेर रमाइलो ग¥यौँ । भोलिपल्ट बिहान पनि सँगै खाना खाएर, दिनभर घुम्यौँ । ‘माइ डियर’ हुनुहुन्छ । साथीहरूसँग घुलमिल हुने स्वभाव छ ।

–नयाँ पत्रिका दैनिकबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tMyY2H
via IFTTT

0 comments:

Post a Comment

add

 
Top