अम्बिका दाहाल/खोटाङ ।
साउन २२– दुई हप्ता पहिले सूचना केन्द्रमा आएर रुँदै विन्ती गरेकी विमला भट्टराई आइतबार आउँदा भने निक्कै खुसी हुनुहुन्थ्यो । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेकी बिमला दुई हप्ता पहिले कतारमा हराएको छोरा भोजकुमार खोज्न सहयोगका लागि निवेदन दिन आउनु भएको थियो ।
तर आइतबार उहाँलाई सूचना केन्द्रको कुनै सहयोग चाहिएको थिएन । न त छोरो हराउँदा परेको पीडा नै सुनाउनु थियो । सूचना केन्द्रमा निवेदन दिएपछि छोराले फोन गर्दाको खुसी बाँड्न उहाँ झण्डै एक घण्टा हिंडेर दिक्तेल आइपुग्नु भएको थियो ।
२०७२ सालको भदौमा कतार गएका भोजकुमारले फोन गर्न छाडेको डेढवर्ष भएको थियो । डेढ वर्षसम्म छोराको खबर थाहा नपाउँदा परिवारमा भने अनेक संका उब्जीएका थिए ।
गएको साउन ९ गते सूचना केन्द्रमा आएर बिमलाले छोरो खोजीदिन आग्रह गरेपछि झोलामा फोटो बोकेर भोजकुमार खोज्दै बिमला शिर्षकको समाचार उज्यालो अनलाइनमा प्रकाशन भयो ।
यो समाचार भोजकुमारले पढ्नु भयो र धरानमा भएकी दिदी गंगालाई फोन गर्दै भन्नुभयो । ‘म कतारमा छु, मलाई केहिपनि भएको छैन, किन समाचारमा निकालेको ?’
छोराले समाचार निकालेको भन्दै गुनासो गरेपनि बिमलाको भने खुसीको सिमै थिएन । ‘उसले फोन नगर्दा म कति रात सुतिन, कति छाक भात खाइन होला, आमालाई कति तनाव भएको होला भनेर एक पटक पनि सोचेनछ’ बिमलाले सुनाउनुभयो ।
बिमलालाई फोन आएपछि ढुक्क त भयो तर भेट्ने रहर भने बाँकी नै छ । आमा छोराको भेट नभएको ७ वर्ष पुरा भयो । यसअघि मलेसिया गएर फर्किएका भोजकुमार घर पुग्नु भएको थिएन । काठमाडौंमा एक हप्ता बसेर कतार जानु भएको थियो । बिमलाले घर आएर मात्रै जाउ भन्दापनि साथीले भिसा पठायो, बरु अर्को पटक छिट्टै आउँछु नि भन्नुभएको थियो ।
भिजिट भिसामा गएर काम गर्ने भनेका बिमलले काम पाएँ भनेर फोन गरेपनि छ महिनापछि कुरा हुन पाएन । साउन ९ गते सुरक्षित आप्रवासन परियोजना सामीले खोटाङमा सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रमा छोरो खोजीदिन आग्रह गर्दै हिंडेकी बिमला दुई हप्ता पछि भने खुसी बाँडेर हाँस्दै घर फर्किनुभयो ।source: ujyaaloonline
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vBJ5eE
via IFTTT
0 comments:
Post a Comment