Photo of Milford Sound in New Zealand

ए आम्मा, यहाँ सर्प रैछ !’ आमा आत्तिदै चिच्याउनुभयो । म दगुरेर आमा नजिकै पुगेँ ।एउटा हातमा पानी तान्ने पम्प र अर्को हातमा चियाको गिलास समातेकी आमा फ्या फ्या गर्दै हुनुहुन्थ्यो । सर्प देख्दा आत्तिएर होला चिया पनि पोख्नुभएछ । ‘कहाँ निर हो ?’ मैले सोधेँ ।

फूलदानी देखाउँदै आमाले भन्नुभयो ‘त्यहाँ छ ।’ फलामको पाताको दुई तह भएको र्‍याकमा धेरै जसो तल्लोमा जुत्ता र माथिल्लोमा फूलदानी अनि पानी तान्ने पम्प हुन्छ । त्यो र्‍याक अघिल्लो दिन मात्र स्टोर रुममा पुगेको हो । र्‍याकको बायाँपट्टी पानी भरिएका जार, जर्किन, बाल्टिन र प्लास्टिकका बोतल छन् । दायाँपट्टी छरिएका आलु, भाँडाकुडाँ । आमाले फुलदानीमा संकेत गर्ने बित्तिकै हेरेँ, पुच्छर देखियो । र्‍याकलाई घ्वार्र ताने तर सर्प र्‍याकमुनि रहेनछ ।

हामी कराएको सुनेर बुवा र दिदी पनि कोठामा नै आइपुग्नुभयो । हामी दुई दिदी बहिनी कसैलाई कुट्न लागे झैँ हातमा लौरो लिएर उभियौँ र लौरोले बिस्तारै एउटा एउटा जुत्ता र्‍याकबाट खसाल्न थाल्यौँ । आधा जति जुत्ता भुईँमा झारेपछि सर्प सलल पानीका बोतल राखेतिर गयो ।‘सर्प झ्यालबाट निस्केको राम्रो, झ्याल खोलिदेउ,’ बुवाको बोलि फुट्यो ।झ्याल खोल्ने कसरी, सर्पले टोक्यो भने’ दिदी आत्तिनुभयो ।सर्प कुनामा गुजुल्टिएर बसेको देखियो, हामी के गर्ने अन्योलमा परिरह्यौ ।यो बानले कति दुःख देको होला ? हिजै भेट्न पाको भए आनन्द हुन्थ्यो, अब के गर्ने होला छि !’ आमाले बोल्नुभयो । … अघिल्लो दिन क्याम्पसबाट घर फर्कदा १२ बजिसकेछ । घाम चरक्क नलागेपनि हप्प गर्मी थियो, ज्यान पसिनाले लपक्कै भिजेको भएर नुहाएर मात्र खाना खाने निधो गरे । नुहाइसके र कपडा पखाल्न थाले । पाइन्ट पखाल्दै गर्दा धाराले ख्वाक ख्वाक गर्‍यो, मैले बुझे माथि ट्याङ्कीमा पानी सकिएछ । पानी माथि पठाउन स्वीच अन गरेर म कोठामा पसे । साढे दुई बजेको थियो होला, छतबाट पानी खसेर टिनमा ट्वार्र गरर्‍यो ।

‘लौजा ! पानीको स्वीच बन्द गर्नुपर्ने’ हातको मोबाइल खाटमै छोडेर बाहिर निस्के र स्वीच अफ गरे । कति पानी पोखिएछ भनेर कौसीमा हेर्दा पानी धेरै जमेको देखेपछि लाग्यो आज तलको ट्याङकीमा जम्मा भएको पानी सबै सक्कियो । दोडिएर तल आए, ट्याङकीको ढक्कन खोलेको मात्र के थिए पानी भन्दा पहिला सर्प देखियो, पाइपबाट तल जाँदै रहेछ, ढक्कन खोलेपछि माथितिर फर्कियो, मेरो हात र सर्प दुरी अब धेरै छैन, मेरो सातो उड्यो । हातका रौं ठाडा भए । ‘घरमा कोहि छैन, सर्पले मलाई टोक्यो भने… !’ मेरो मनमा कुरा खेल्न थाल्यो ।

‘सर्प विषालु रैछ भने आज पक्का म गएँ ।’ केहि दिन अगाडिमात्र सर्पदशंको बारेमा डाक्टर शेरबहादुर पुनसँग अन्तरवार्ता गरेको थिए । त्यहाँ डाक्टरले भन्नुभएको प्राथमिक उपचारका विधि दिमागमा दौडन थाले ।तर सर्पलाई नि डर लागेछ सायद, छिटो छिटो गयो, भर्‍याङ मुनी अध्यारो भएकोले मैले कहाँ गयो देख्न सकिन । कोठाबाट मोबाइल ल्याएर टर्च बालेर हेरे, भर्‍याङ मुनी राखिएका सामान एकएक गरी लामो लठ्ठीले तान्न थाले, सर्प बेरेर राखेको पाइपमा रहेछ चलाएपछि भित्तो उक्लन थाल्यो र प्वालमा छिर्यो । बाहिर गएर प्वाल छ कि छैन हेर्न गए तर देखिन । अब अर्को पीर थपियो, घरमा कसैलाई सर्प छ भन्ने थाहा छैन, टोक्यो भने ?

बुवा र भिनाजु घरमा आइपुग्नुभयो, एकै छिनमा दिदी पनि । मेरो कुरा सुनेपछि सबैले प्वालमा हेर्न थाल्नुभयो । सर्प बाहिर निस्केको रहेछ, हामीले टर्च बालेपछि फेरि फर्कियो प्वालमै ।अब बुबा सर्प गोठालो हुनुभयो, दिदीले घरका अरु ठाउँमा भएका प्वाल टाल्न थाल्नुभयो । पानी ट्याङ्की सँगै भएको जुत्ता राख्ने र्‍याक स्टोर रुममा पुग्यो । भूइँ तलामा ५ वटा ढोका छन्, ट्वाइलेटको, दुईवटा सामान राख्ने कोठाको, म बस्ने कोठाको र मुल ढोका । सबै ढोकामा सर्प छिर्ने प्वाल टालेपछि बुवाले सर्प भगाउन बास्ना आउने धुम बाल्नुभयो । उहाँसँग अर्को जुत्ति रहेछ, महको रेखी हाल्ने । लठ्ठीमा महले भिजेको कपडा बेरेर सर्पलाई लक्ष्मणरेखा लागाईयो, अब सर्पले जाने बाटो भनेको मूल ढोकामात्र थियो । सबैलाई ढुक्क भयो अब सर्प माथितलामा आउँदैन ।

रातको खाना खाइसकेपछि दिदीले माथिल्लो तल्लामा सुत भन्नुुभयो, मैले मानिन । सोचेँ सर्प घरबाट निस्किसक्यो होला । तै पनि मनको शान्तिको लागि सर्प छिरेको प्वालमा हेरेँ र कोठामा चुकुल लगाएर सुतेँ । हिजोअस्ति देखेका भन्दा आज भिन्दै सपना देखेँ, सर्प सिरानीमा आएको, सिरकमाथि बसेको, मुख पुछ्ने रुमालमा झुन्डिएको आदि । प्राय एकै पटक बिहानमात्र खुल्ने आँखा ६ पल्ट भन्दा बढि खुले, कहिले बिहान होला जस्तो लाग्यो । … साढे ८ बजिसक्यो, सर्प हलचल गर्दैन, आँधो पो हो कि भन्ने अड्कल आमाको छ । सर्पको रंग घस्रने भाग पहेलो र माथिको भाग कालो, हरियो मिसिएको थियो । खाली ठाउँ पायो भने बाटो लाग्छ होला भन्ने लागेर गुजुल्टिएको ठाउँ अगाडि खाली गरिदियौँ । मलाई छिमेकीले मुसा आउँने बाटोमा धोक्रो थापेर मुसलाई पक्रेको याद आयो र सर्पलाई खुलाइदिएको बाटोमा मैले धोक्रोको मुख खोलेर राखिदिए । सर्प हामीले भनेको माने झैँ गरी धोक्रामा छिर्‍यो । सर्पको मुखले धोक्रो पिँध भेट्यो भने त पक्का फर्कन्छ, त्यसैले डरैडरमा आधा सर्प धोक्रामा छिर्ने बित्तिकै उठाए र धोक्रोको मुख बानेँ ।

अब झन् ठूलो हल्ला भयो सर्पलाई के गर्ने । दिदीले बाहिर लगेर छोड भन्नुभयो, बुवाले मान्नुभएन । हाम्रो घर भन्दा दायाँबायाँ साना बच्चाहरु खेलिरहेका हुन्छन्, त्यसैले सर्पलाई खोलामा नै पुर्‍याउने निर्णय भयो । म धोक्रो समातेर अघि लागे, मेरो पछाडि हातमा लौरो लिदैँ बुवा र त्योभन्दा पछाडि पल्लाघरका स–साना नानीहरु । हामी एक हुल लाइनबद्ध भएर सर्प फाल्न गयाँै, वल्लोपल्लो घरकाले हामीलाई के भयो भनेर ट्वाल्ल हेर्दै थिए ।

म उभिएको बारीको डिलबाट तीन पाटा कटेपछि मात्र खोला आउथ्यो, सर्पलाई मात्रै फाल्दा खोलामा नपुग्ने भएपछि बोरामा ढुंगा बेरेर हुत्याए । बुवा हामीले निकालेको जात्राको बेलिविस्तार लगाउँदै हुनुहुन्थ्यो, म घर फर्किए । सर्प खोलामा पुग्यो पुगेन थाहा छैन, तर घरका सबैको मनको डर भने सर्पको बोरासँगै गयो । आमाले धोक्रो नल्याको भनेर सोध्दा म टाउको हल्लाउँदै कोठामा पसेँ ।

The post घरभित्र सर्पको १८ घण्टे बास, परिवारलाई त्रास… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gZUv6B
via IFTTT

0 comments:

Post a Comment

add

 
Top