सुनसरी, भदौ ५ – सुनसरी र मोरङको सिमानामा रहेको दुहवीस्थित बुढी खोलाको पुलबाट बुढी खोलै खोला पूर्व उत्तर गएपछि पुगिन्छ डिपुटोल । बुढी गङ्गा गाउँपालिका-५ मा रहेको डिपुटोलमा मुसहरहरुको एक सय घर छन् ।
खोला किनारमा रहेको सुकुम्वासी डिपु टोलमा बस्छन् वीरु ऋषिदेव, अनिल ऋषिदेव र दिपेन ऋषिदेव । २४ वर्षका वीरु मोवाइल पसलमा काम सिक्दै छन् । अनिल १६ वर्ष मात्रै लागेका छन् । १० कक्षासम्म पढेका उनले पनि बिहे गरेपछि स्वस्तिक जुटमिलमा काम थालेका हुन् ।
दिपेनले पनि त्यही जुटमिलमा काम गर्न थालेको भर्खरै हो । मुसहरी टोलका उनीहरुको परिवार अरुकोमा बनी गर्न जान्छन् र त्यहाँबाट आएको दुई चार पैसाले घर खर्च चलाउने गर्छन् । १० कक्षा पास नगरेका तीनै भाइले भदौ ३० गते मध्य रातमा हल्ला खल्ला सुने । ‘गाउँमा बाढी पस्यो बाढी पस्यो’ भन्ने उनीहरु नजिकै रहेको बुढी खोलातिर हानिए ।
उनीहरुको मुख्य उद्देश्य थियो खोलाले बगाएको काठ भेला पार्ने र बेच्ने । खोला पुग्दा रातको एक बजेको हुनुपर्छ । बुढी खोला उर्लिएर बगेको थियो । ठूला ठूला काठका मुढा बगाएर ल्याउँथ्यो, उनीहरु तान्दै डिलमा थुपार्थे । सोफा सेट, टिनका बाक्सा, ग्यासका सिलिन्डर जे जे भेटे तान्दै र थुपार्दै गए । बिहानको चार बजिसकेको थियो ।
‘भूत छि ओ भुत (भूत छ हो भूत )’ खोलामा दाउरा तानिरहेका ऋषिदेव बिहान ४ बजेतिर चिच्याए ।
‘कते छो रे ? (कता छ) । १० मिटर दक्षिणमा मुढा तान्दै गरेका वीरु ऋषिदेव र दिपेन मुढा छाडेर कराउँदै अनिल भएतिर कुदे ।
अनिलले इशारा गरेको रित उनीहरुले हातमा रहेको टर्चको प्रकाश पारे । झाङमा अड्किएको रुखबाट मान्छेले गुहार मागेको जस्तो लाग्यो उनीहरुलाई ।
‘मान्छे छ रे’ वीरुले भनेपछि १६ वर्षे ठिटो अनिल त्यता हाम फाले । मन दह्रो बनाएर पानीमा पसेका उनले मान्छे नै भेट्टाए । छेउमा पुग्दा मान्छे नै हो रैछ, शरीरभरी हिलै हिलो भएकी युवती कामिरहेकी थिइन् । यो देखेर अनिल कराए, ‘भूत हैन बाढीले बगाएर ल्याएको मान्छे रै छ ।’
‘घर कहाँ हो ?’ वीरुले सोधे ।
युवतीले काँपेको स्वरमा भनिन् ‘इटहरी ।’
अनिल कराएपछि बीरु र दिपेन पनि युवती भएकै ठाउँमा पुगे । वीरुलाई इटहरी घर बताएपछि युवती बेहोस भइसकेकी थिइन् । तीन भाइले मिलेर युवतीलाई बोकेर खोला किनारमा ल्याए । जम्मा गरेको सबै काठ दाउरा छाडेर उनीहरुले युवतीलाई झ्यानकुल्टुङ पारेर बीरुको घरमा पुर्याए । पानी परिरहेको र बाढी पनि आइरहेकाले युवतीलाई अस्पताल लैजाने संभावना नै थिएन ।
काठ दाउरा भेला पार्न खोला गएका तीन भाइले बाढीमा फेला पारेकी युवती थिइन्, इटहरीको गैरीगाउँबाट बग्दै दुहवी पुगेकी सानुमाया राई । जसले चार घण्टा बुढी खोलाको बाढीमा १० किलोमिटर बगेर पनि मृत्युलाई जितेकी थिइन् ।
माटोले बनाएको घरमा पानी पसेको थियो । गाउँभरिका मान्छे भाग्दै थिए । गाउँ खाली भइसकेको थियो । तर वीरुले सानुमायालाई छाडेनन् । आफन्तको सहयोगमा उनले सानुमायाको शरीरमा रहेको हिलो पखालिदिए, भतिजीको लुगा ल्याएर फेराइदिए र कम्बल ओढाएर न्यानो पारिदिए । वीरुकी भाउजु र काकीले सानुमायाको खुट्टा मालिस गरे । धेरै बेरपछि सानुमायाको होस आयो । त्यतिखेर बिहान हुन लागेको थियो ।
वीरुले युवतीलाई ल्याएको बाढीले त्राहीमाम बनेर जाग्राम बसेका गाउँलेको कानसम्म पुगिसकेको थियो । गाउँका मान्छे ती युवतीलाई हेर्न आए ।
‘अब यो केटी मरी भने त जेल जान्छस्, किन यसलाई उठाएर ल्याएको ?’ बाढीमा बगेर मर्न आँटेकी युवतीलाई उद्धार गरेकोमा स्यावासी पाउनु पर्नेमा बीरुले गाउँलेको गाली र चेतावनी पाए ।
‘यसका मान्छे आए भने तँलाई जिम्मा लाउछन् तँ फसिस बीरु अब ।’ गाउँलेले यसो भन्दा बीरुलाई कति पनि डर लागेन ।
सानुमायालाई तत्काल अस्पताल लैजान पर्ने थियो । मुसहर परिवारले अस्पताल लैजान भनेर सल्लाह गरेर एम्बुलेन्स बोलाए । तर कोहि आएन । गाउँलेले ५ सय मिटर नजिकै रहेको इलाका प्रहरी कार्यालय नेुमवामा खबर गरे । तर प्रहरी पनि आएन । एम्बुलेन्स पनि नआएपछि छिमेकी नरेश झाको सिटी सफारी अर्थात विद्युतीय रिक्सामा बीरुले सानुमायालाई दुहवीस्थित सामुदायिक सुनसरी अस्पतालमा लगे । अस्पताल लैजाँदा झिसमिसे उज्यालो सुरु भइसकेको थियो ।
तर, सानुमायालाई अस्पतालले पनि उपचार गर्न मानेन ।
‘जति खर्च लाग्छ म तिर्छु भनेर जमानी बसेपछि बल्ल उपचार शुरु भयो ।’ सानुमायाको उद्धारमा खटिएका नरेश झाले भन्नुभयो ।
उज्यालो भएपछि अस्पतालका सञ्चालक सरोज सिंह अस्पताल पुगे । सबैकुरा भनेपछि निःशुल्क उपचार गरिदिने बचन दिए । उपचार शुरु भएको तीन घण्टापछि मात्रै सानुमाया पूर्ण होसमा आइन् । आफन्तको फोन नम्बर दिइन् । फोन गरेपछि आफन्त आए । हस्याङ फस्याङ गर्दै अस्पताल पुगेका आफन्तको खुसीको सीमा नै थिएन ।
‘आफन्तले त हामीलाई भगवान जस्तै मान्नुभयो ।’ बिरु अहिले पनि त्यो बिहान सम्झन्छन् ।
सानुमायालाई आफन्तको जिम्मा लगाएपछि वीरुलाई एउटा जीवन बचाएकोमा सन्तोष लागेको थियो । उहाँ सानुमाया र आफन्तसँग बिदा भएर घर फर्कनु भएको थियो ।
बीरुले बिदा माग्दै गर्दा सानुमाया बोलिन् ‘निको भएपछि तपाईको गाउँ आउछु है ।’
सानुमायाले बोलेका यिनै शब्द सम्झि रहने वीरुलाई सानुमाया निको भइन् कि भइनन् थाहा छैन । सानुमाया निको भएर आफूलाई भेट्न आउने आशामा बाटो हेरिरहेका वीरु भन्छन् ‘निको भएपछि उहाँ पक्कै मलाई भेट्न आउनु हुन्छ।’
वीरुलाई सानुमायाको पछिल्लो स्थिति थाहा छैन । तर सानुमाया विपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा उपचार गराएर घर फर्किएर अहिले स्वास्थ्य लाभ गरिरहेका छिन् । source:ujyaaloonline
The post बाढीमा ४ घण्टा बगेकी सानुमायाको पर्खाइमा ज्यान बचाउने वीरु appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vSheXk
via IFTTT
0 comments:
Post a Comment