छत्र लकाई खड्का/हाल, मलेसिया ।
म नेपाली सेनामा भर्ती हुँदा संकटकाल थियो । २०६१ माघ ५ गते धरानको फुस्रेमा रहेको श्री भवानी दल गुल्मले लिएको परीक्षा पास गरेर सेनामा भर्ती भएको थिएँ . तालिमका लागि सप्तरीको राजबिराजमा रहेको श्री आर्टिलरी गणमा परेको थिएँ ।
चैत वैशाखमा एकदमै गर्मी थियो । तर पनि तालिम त गर्नु नै पर्ने । ७ महिनाको सैन्य तालिम सफलतापूर्वक पूरा गरें । सेनाको बर्दी लगाउने र हतियार बोक्ने ठूलो रहर थियो, जो पूरा भयो ।
तालिम सकिएपछि पल्टनले ३/४ दिनको घर बिदा दिएको थियो । तर संकटकालका कारण घर जान सकिन । त्यो बिदा विराटनगरमा रहेका ठूलोआमाको घरमा बिताएँ । बिदा सकिएपछि राजबिराज फर्किएँ । भोलिपल्ट बिहानै हामीलाई सामेल गरेर दरबन्दीका बारेमा जानकारी गराइएको थियो ।
मेरो दरबन्दी सुनसरीको धरान फुस्रेमा रहेको श्री कालिबक्स (इ) गणमा परेको थियो । पल्टनले मलाई भेडेटारमा रहेको रिपिटर टावर सुरक्षार्थ टोलीमा खटायो ।
यसै समयमा मलाई बिहेको ‘अफर’ आयो । साथी मार्फत इटहरीमा नातागोताको घरमा आएकी केटी भएको जानकारी पाएँ । त्यसबेला २३ वर्ष लागेको थिएँ । साथीले भन्यो बिहे गर्छस् । मैले सोधें, केटी कस्ती छ । उसले भन्यो, तैले केटी देख्ने बित्तिकै मन पराउँछस् । नभन्दै आपसमा मन परापर भयो । केही समयपछि बिहे गरियो ।
मेरो ड्युटी धरानस्थित रेडियो नेपाल टावरको पोष्टमा थियो । नजिकै कोठा खोजेर उनलाई राखें । कोठा भाडामा राख्नु त्यो बेलाको मेरो तलबले नभ्याउने अवस्था देखियो । त्यतिबेला मेरो तलब ३६ सय रुपैयाँ थियो ।
यसैबिचमा मेरा केही साथी जागिर छाडेर कतार, मलेसिया, साउदी गएको थिए । उनीहरुले मलाई फोन गरेर भन्न थाले, यहाँ कमाई राम्रो छ । त्यसपछि जागिरका बारेमा सोच्न बाध्य भएँ । विदेशको सपना देख्न थालें । १५ दिनको घरबिदामा लिएर पासपोर्ट बनाएँ । काठमाडौंमा गएँ । त्यसपछि म पल्टन फर्केर गइन् ।
काठमाडौंमा दलाल जताजतै भेटें । मैले चिनेको त एउटा म्यानपावर मात्रै थियो । त्यहाँ गएर साउदीको लागि पासपोर्ट दिएँ । मेडिकल गरें र घर फर्किएँ । केही महिना पछि मेरो साउदीको भिसा लागेको खबर आयो । लागत एक लाख रुपैयाँ भनेको थियो । नातागोता छरछिमेकमा पैसा जुटाएर काठमाडौं आएँ ।
केही दिनको काठमाडौं बसाई पछि म साउदी अरब गएँ । कम्पनी पनि राम्रो थियो । कमाइ पनि राम्रै थियो । २७ महिना बसेर ५ महिनाको छुट्टिमा नेपाल फर्कें । छुट्टि सकिएर फर्किएपछि साउदीको गर्मीले पिसावमा खराबी देखियो । कहिलेकाँही त पिसाबबाट रगत जान्थ्यो । त्यसो भएपछि आफ्नै पैसाले टिकट काटेर नेपाल फर्किएँ ।
औषधि खाएपछि निको भएँ । त्यसपछि म मलेसियामा रोजगारीका लागि आएँ । कम्पनी राम्रो थिएन । दिनमा १४ घण्टा काम गर्नुपर्ने । कुनै दिन छुट्टि हुँदैनथ्यो । तलब ७५० रिंगिट थियो । दुःखसुख गरेर २ वर्ष बिताएर नेपाल फर्कें । नेपालमा एक वर्ष बसेर अहिलेको कम्पनीमा आएको हुँ । पहिलाको कम्पनी भन्दा यहाँ राम्रो छ । यहाँको कमाइले नेपालमा तीन कोठे पक्की घर बनाएको छु । दुई छोरीलाई बोर्डिङमा पढाइको छु । यसैमा खुसी छ । Ujyaloo Online
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vExFqn
via IFTTT
0 comments:
Post a Comment