Photo of Milford Sound in New Zealand

कुरो लगभग ३ महिना अगाडी म घर बिदामा गएर कर्म भुमी फर्किने दिनको हो । कोठा बाट सबै आफन्तजनहरु लाई बिदाईको हात हल्लाउँदै गला भरी खादा, गह भरी आँसु , मन भरी बिछोडको पीडा, अनि भबिष्यको लागि केही धन कमाउने मीठो सपना बोकेर एयरपोर्ट तर्फ आउदै थिए । जुन समय बेलुकी ९ बजेको थियो । मेरो जेठान साब र दुई भेनाहरु मलाई एयरपोर्ट सम्म पुर्याउन आउनु भएको थियो । त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल आइपुगेसी बाहिर झुन्ड्याएर राखिएको LCD मा हिमालय एयरलाइन्सको फ्लाइट सेडुल हेरे । विमान उडानको लागि केही समय डिले भएको रहेछ अर्थात एयर टिकेटमा तोकिएको समय भन्दा ३० मिनेट पछि सारिएको रहेछ । हामी त्यही एयरपोर्ट बाहिर उभिएर सामान्य गफ गर्दै केही सेल्फी लियौँ । एयरपोर्टको बाह्य माहोल कोहि बिदाईको हात हल्लाउदै गह भरी आँसु पार्दै थिए । कोहि स्वदेश फर्केकाहरु लाई स्वागत गर्दै केहि हर्षित मुहारहरु देखिन्थे ।

मोबाइलमा घडी हेरे । मेरो लगभग भित्र छिर्नु पर्ने समय हुन लागि सकेछ । दुई भिनाजु र जेठान साब लाई बिदा माग्दै छुट्टिनु पर्यो । म बिदाईको हात हल्लाउँदै प्रस्थान द्वार (Departure Gate) तर्फको लाइनमा उभिए । भिड बाक्लो थियो । प्रस्थान टोलिको भिड बिस्तारै अघि बढ्दै थियो । गेट सामु बिमानस्थलका सुरक्षाकर्मी तथा कर्मचारीहरु चेक जाँच तथा सोधपुछ गर्दै थियो । म मेरो डकुमेन्टहरु हातमा लिएर अघि बढ्दै कर्मचारीहरुले सोधेको प्रश्नको जवाफ दिँदै पहिलो गेट पार गर्दै दोश्रो गेट तर्फ अघि बढ्दै थिए । जहाँ सरसामानहरु Luggage/Baggage/Hand Carry तथा गोजिमा भएको सामानहरु चेक जाँच गर्दै तौलिएर स्टिकर टाँसिन्थ्यो र सामान लकेज ह्यान्ड ब्याग छुट्याइन्थ्यो । म मेरो ह्यान्ड ब्याग बोकेर हिमालयन एयर लाइनन्सको टिकट काउन्टर तर्फ लाग्दै थिए ।

एक जना एयरपोर्टको कर्मचारी आएर मलाई एक्कासी “सर तपाइको घाँटीको खादा फुकाल्नुस” भन्यो, यत्ती भन्ने बित्तिकै उसको सिर देखी पाउ सम्म सर्लक्क हेरे, नेकपा एमाले अध्यक्ष केप्पी ओलीले खादा बिस्थापन गर्नु पर्छ भन्ने भाषण झ्याप्पै कानमा ठोक्कियो, News 24 मा प्रेम बानिया जस्ता नाम चलेका पत्रकारले खादा प्रकरण लाई मुख्य समाचार बनाएर बारम्बार खादा लाई प्रतिबन्ध लगाउन बनाएको पावर न्युज आँखामै झलझल्ति देख्यो, नेपाली काङ्ग्रेस चितवनले खादा बहिस्कार गरेको पनि आँखा वरिपरी घुमी रह्यो, NRN UAE ले खादा बहिस्कार गरेको पनि दिमागमा फनफन्ती घुमेर आयो । किनकी ति कर्मचारीको लागी मैले लगाको खादा नभैइ ढाकाको गम्छा हुनु पर्थ्यो । त्यही हेतुले उस्ले मलाई त्यसो भनेको हुनु पर्छ । रगत यति धेरै उम्लेर आयो कि रिसले रात्तो भैसकेको थिएँ । आँखा देख्न छोडि सकेको थिएँ । म कहाँ छु । के गर्दै छु सबै भुली सकेको थिए ।

एक सटमै दुई चार ओटा दाँत खसाल्छु भन्ने मात्रै दिमागमा आइ रहेको थियो । तर लगत्तै दिमागमा यो कुरो पनि निस्क्यो कि मैले यहाँ उसलाई प्रहार गर्नु भनेको मेरो आजको फ्लाइट क्यान्सिल हुनु हो । रिसको झोकमा हान्दा केहि ठुलै चोट पटक लाग्यो या एयपोर्ट जस्तो संबेदनसिल क्षेत्रमा झगडा परेसी पक्कै कानुनी रुपमा झमेलो बोक्नु पर्ने र झन आपत आउने देखेसी । आफ्नो रिस लाई नियन्त्रण गर्नु नै बुद्धिमानी ठान्दै हात हाल्नु हुन्न भन्ने Quick Decision निकाल्दै भने “किन सर ? यो मेरो खादा शान्तिका अग्रदुत भगवान बुद्धको पबित्र बस्त्रको रुपमा र अस्टमङ्गल युक्त हो हाम्रो हरेक सुभ कार्यमा प्रयोग गरिन्छ ।

भन्नुस मेरो खादा ले कस्लाई के अप्ठ्यारो गर्यो”? उसले उत्तर नदिई सोध्यो “कुन देश जाँदै” रे मैले झट्टै रिसाएर “अमेरिका” भनिदिए यतिन्जेल सम्ममा उ डरले स्वर काँप्न थालेको थ्यो । म चाहिँ रिसले झन ठुलो स्वर निकाल्दै भन्दै थिए “भन्नुस मेरो गलाको खादाले कस्लाई के समस्या पर्यो ? उसले त्यसो होइन सर भन्दै कसरी उम्कौँ झैँ गरि राथ्यो । त्यहि समयमा कसैले उसलाई केहि सोध्न आयो तर उ अलि पर गएर ति यात्रीको समस्या बारे केहि बोल्दै थियो । म एक्छिन हेरि रहे ति कर्मचारी फर्केर आउला कि भनी तर उ मलाई फर्केर समेत हेरेनन । यतिन्जेलमा मेरो दिमाग केहि शान्त भैसकेको थियो । किनकी म मा जति छिटो आक्रोश र रिस उठ्छ त्यती छिट्टै नै आबेग लाई विवेकमा परिणत गर्ने प्रयास गर्छु ।
त्यसपछि हिमालयन एयर लाइन्सको टिकट काउन्टर Airline Check In मा लाइन बसे । टिकेट पासपोर्ट आइडी देखाएर Approved भई सकेसी माथिल्लो तल्लाको लिफ्ट चढेर गए ।

त्यहाँ फर्म भरेर सिधै गेट पास (Boarding Gate) को टिकट लिने लाइनमा उभिए । त्यहाँ बाट पनि पास भएर अर्को काउन्टर तर्फ लागे । जहाँ मोबाइल पर्स घडि जुत्ता पेटी देखी लिएर सबै Scan गर्नु पर्छ । त्यो गेट पनि पास भएर म अन्तिम कक्षमा गएर सिटमा बसे । जहाँ कुन बिमान कता जाँदैछ बोर्डिङ पासको अर्धकट्टि लिने वा दिने गर्छन । जुन हरेक यात्रुले प्लेनमा चढ्दा वा ओर्लिदा बिमानमा देखाउनु पर्छ । म चढ्ने जहाज (हवाई जहाज) उड्नको लागी केहि समय थियो । अघि भएको केहि बाद बिबाद फेरि दिमागमा ठोक्किन आयो । मन मनै गम्भिर भएर सोचेँ । यार आफ्नै देशमा एक हिन्दु खस आर्य नेपालीले एक बौद्ध मार्गी नेपाली लाई यसरी थिचो मिचो गर्न खोज्छन ।

अरुको धर्म संस्कृती माथी सम्मान र सहिष्णुता देखाउनुको सट्टा अपमान नकारात्मक रुपमा खडा हुन्छन र अन्याय, अत्यचार, दमण र शोषण गर्न खोज्छन भने समाज कसरी परिवर्तन होला ? देशमा कसरी परिवर्तन आउला ? कहिले स्थाई शान्ती आउला ? नेपाल भनेको १२३ भाषी र १२५ जातिको साझा भुमी हो । फेरि मन मनै आफैले आफैलाई प्रश्न गरे यि बिभिन्न खालको असमानता र राज्य वा कुनै एक समुदायले गर्दै आएको बिभेदको बिरुद्ध बोल्दा किन हाम्रैहरु (उत्पिडित जाती/समुदाय/बर्ग/क्षेत्र) उल्टो हाम्रो बिरुद्ध खडा हुन्छन त ??? गहिरिएर सोच्दै थिए ।
यत्तिकैमा स्पिकर बाट “आदरणिय सज्जन तथा महिला मित्रहरु हिमालय एयर H9556 काठमान्डौ देखी दोहा तर्फ उडान हुँदैछ । यात्रु महानुभाबहरु कृपया C गेट तर्फ अघि बढ्नु होला धन्यवाद! Dear Ladies and Gentleman…..भन्ने सुनियो । म हत्त न पत्त जुरुक्क उठेर लाइनमा उभिन गए। बोर्डिङ पासको अधकट्टि लिएर सबै जना बिस्तारै अघि बढ्यौँ । बिमानको धावन मार्ग सम्म हामी लाई नेपाल एयरलाइन्सको बसले पुर्यायो । बस बाट सबै जना उत्रेर जहाज चढ्यौँ । आफ्नो सिट खोजेर बसे । अब केहि बेरमै आफ्नो प्यारो जन्म भुमी छाड्न गैरहेको हुँदा मन निक्कै भारी भैरहेको थियो । आमा, दिदीहरु र उनि (प्यारी)ले उड्न लाग्ने बेला भएसी फोन गर्नु है भन्नु भएको थियो ।

फोन गरे । अघि कोठामा छुट्टिदा रोई रहेको थियो । फोनमा पनि उस्तै स्वर सुनियो । मन थाम्न सकिन । न आफ्नो बोलि नै फुट्यो, न उनकै । एक्छिन पछि फोन राखे अनि “घरमा आमा बुबाको ख्याल गर्नु, छोरीको राम्रो सँग हेर बिचार गर्नु म भोली उता पुगेसी फोन गर्छु । मेरो केहि चिन्ता नलेउ है प्यारी 😢😭😥” भन्दै म्यासेज पठाए । बिमान भित्रको सानो LCD मा कुनै पनि विद्युतीय उपकरण तथा मोबाइल Switch Off गर्नु भन्ने जानकारी दिरहेको थियो । मोबाइल बन्द गरे । यतिन्जेलमा हामी चढेको बिमान उडानको लागी अन्तिम तयारीमा थियो ।

निमा योन्जन तामाङ
हाल प्रबास भुमी
दोहा कतार ।

http://ift.tt/2r92dQ0

from SHYANE http://ift.tt/2vHq9bQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top