Photo of Milford Sound in New Zealand

असार १८, २०७४- गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १०४ जना नेपाली छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् । मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट (जुलाई १) देखि नै देशव्यापी धरपकड थालेको हो । उक्त अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्वालालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा नेपालसहित वंगलादेश, इन्डनेसिया, म्यानमार, पाकिस्तान, फिलीपिन्स, थाईल्यान्डलगायत विभिन्न मुलुकका नागरिक रहेका छन् । तीमध्ये अधिकांश बंगलादेशी (५१५ जना) छन् । पक्राउ पर्नेमध्ये १०१ जना महिला र ३ जना बालबालिका समेत छन् । अन्य देशका नागरिकको तुलनामा पक्राउ पर्ने नेपालीहरु न्युन संख्यामा छन् । पक्राउ परेकाहरुलाई कालोसूचीमा राखेर पुन: मलेसिया आउन नपाउने गरी उनीहरुकै देश फिर्ता पठाइने अध्यागमन अधिकारीहरुले बताएका छन् ।

कामदार मात्र होइनन्, गैरकानुनी आप्रवासीलाई रोजगारी दिने र आफ्ना कामदार दर्ता गराउन बेवास्ता गर्ने रोजगारदाता सरकारी कारबाहीको निशानामा परेका छन् । यो अभियानअन्तर्गत १६ जना रोजगारदाताहरु समेत पक्राउ परेका जनाइएको छ । रोजगारदातासम्बद्ध संघ संस्थाले ‘दर्ता कार्यक्रम’को समयावधि थप गर्न आग्रह गरे पनि सरकारले त्यसलाई अस्वीकार गरिदिएको उल्लेख गरिएको छ ।

कामदार बस्ने होस्टल, काम गर्ने कम्पनी मात्र होइनन् उनीहरु बढी जमघट हुने स्थान र उनीहरुले लुकेर काम गर्ने ग्रामीण भेगका कतिपय स्थान समेत धरपकडको पहिलो निशानामा छन् । त्यस्ता स्थानमा रातदिन गैरकानुनी आप्रवासीको खोजी भइरहेको छ । देशव्यापी धरपकड थालिएपछि गैरकानुनी आप्रवासीहरु थप त्रसित र चिन्तित छन् ।

आइतबार छापिएका स्थानीय पत्रपत्रिकाले गैरकानुनी आप्रवासीविरुद्ध सरकारले चलाएको अभियानलाई प्राथमिकता दिएका छन् । मलेसियाका लागि ‘गैरकानुनी आप्रवासी’एक ठूलै समस्या हो । उसले यस्तो समस्या समाधानका लागि कयौंपटक अवसरहरु दिए पनि अपेक्षित रुपमा त्यस्ता आप्रवासीको संख्या घटाउन सकिरहेको छैन । गत सन् २००९ यतामात्रै आधा दर्जनभन्दा बढी अवसरयुक्त कार्यक्रमहरु सञ्चालन भइसकेका छन् ।

मलेसियाले पछिल्लो पटक ल्याएको दर्ता कार्यक्रम (ई–कार्ड लिने कार्यक्रम) गैरकानुनी आप्रवासीका लागि सुनौलो अवसर थियो । करिब ६ लाख जनाले यस्तो कार्ड लिने अपेक्षा राखिएको तर उक्त संख्याको करिब २३ प्रतिशतले मात्र यस्तो कार्ड लिएको र अझै लाखौं आप्रवासीहरु गैरकानुनी ढंगले बसोबास गरिरहेको मलेसियाको अनुमान छ ।
ekantipur

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tGThlP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top