Photo of Milford Sound in New Zealand

फागुन १  । त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा स्तब्ध पार्दै सीएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ ।

सिमरा रंगशालामा शनिबार भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले सिमरा गोल्डकपको उपाधि उचालेको हो ।
उपाधिसँगै संकटाले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
रोमान्चक फाइनल खेलको निर्धारित् समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।
टाइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदीप कार्कीले गोल गरेका थिए । संकटाका विश्व अधिकारीको प्रहार भने आर्मीका गोलरक्षक सुनील श्रीवास्तवले रोकेका थिए ।
आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरलेमात्र बललाई जाली चुमाउन सके । आर्मीका जितेन्द्र कार्की र दीपक गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाऊ गरे ।
यसअघि, खेलको ४७औं मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलमा दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । पहिलो हाफमा १–० ले पछि परेको संकटाले खेलको ५६औं मिनेटमा बराबरी गोल फर्कायो ।
आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाइलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे ।
निर्धारित् समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलमा २० मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक विनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकसमेत घोषित भएका उनले यामाहा मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे ।
विधागतरुपमा पुरस्कार पाएका सबैले जनही १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगिताको ‘फेयर प्ले’को पुरस्कार सशस्त्र प्रहरीले पायो ।
प्रतियोगिताको विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए ।


from ARENA http://ift.tt/2l1UMGF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top