Photo of Milford Sound in New Zealand

काठमाडौं– वैदेशिक रोजगारीका लागि युरोपियन देश नेपाली युवाहरुका लागि ‘ड्रिम’ हुन सक्छ। लाखौं खर्च गरेर त्यहाँ पुग्ने नेपालीको संख्या यसरी बढिरहेको छ कि मेनपावरमा पैसाको चलखेल मात्र होइन नेताहरुकै ‘सोर्सफोर्स’सम्म चल्ने गर्छ।

युरोपको रोजगारीमा आकर्षण देखिए पनि वास्तविक अवस्था भने खाडी मुलुकभन्दा भयावह छ। १० लाख रुपैयाँसम्म खर्च गरेर मेनपावरमार्फत नै युरोपियन देशमा वैदेशिक रोजगारीमा जाने सयौं युवा त्यहाँ बिचल्लीमा परेका छन्। श्रम शोषण, जोखिमपूर्ण काम र उच्च लगानीका कारण युरोपमा रोजगारीको सपनामा धेरै युवा बर्बाद भइरहेका छन्।

जसमध्ये एक हुन् हेटौंडाका बसन्त लामा। जो सुकेधारास्थित स्पेस मेनपावरलाई ८ लाखभन्दा बढी बुझाएर डेढ महिनाअघि पोल्यान्ड पुगे। त्यहाँबाट अन्य देश जाने र त्यहाँको आइडी हात पार्ने उनको सपना थियो। तर, एक महिना पनि उनले त्यहाँ काम गर्न सकेनन्। गत साता भागेर आएका उनी भन्छन्, ‘युरोपमा जागिरेको अवस्था सोचेभन्दा आकाश–जमिनको फरक रहेछ। त्यहाँको गल्ली गल्लीमा नेपालीको बिचल्ली देखें।’

युरोपियन देशहरु पोल्यान्ड, चेक रिपब्लिक, लिथुएनिया, पोर्चुगल लगायत देशमा मेनपावर कम्पनीहरुले सरकारबाट अनुमती लिएर नै कामदार पठाउँदै आएका छन्। तर, त्यहाँ पुर्‍याएपछि श्रम सम्झौताभन्दा अर्काे काम लगाउने र श्रम शोषण गर्ने प्रवृत्ति देखिएको पीडितहरु बताउँछन्। प्रहरीमा समेत यससम्बन्धी उजुरी बढ्दै गएको छ।

‘युरोपियन देशमा हुने मानव तस्करीका उजुरी बढ्न थालेका छन्,’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी पुष्कर कार्की भन्छन्, ‘युरोपको सपनामा ठग्नेको समूह ठूलै भएजस्तो देखिन्छ।’

युरोपियन देशमा पठाउने भनेपछि कामदारहरु जति पनि रकम तिर्न तयार हुने गरेका छन्। जसकारण मेनपावर कम्पनीले त्यहाँका सामान्य कम्पनीसँग सम्झौता गरेर कामदार पठाइरहेका छन्। ठूलो सपना बोकेर त्यहाँ पुग्ने युवाहरु पोर्चुगल र चेक रिपब्लिकका कम्पनीमा पुगेपछि बिचल्लीमा पर्ने गरेका छन्। मासिक ४० देखि ५० हजारसम्म कमाइ हुने र त्यसमध्ये आधा खान र बस्नमै खर्च हुने गरेको छ। अर्काेतर्फ काम पनि असाध्यै जोखिमपूर्ण हुने भएकाले नेपालीहरु त्यहाँ समस्यामा परेका छन्।

त्यसरी युरोप पुग्नेहरु कतिपय धान्न नसकेर फर्कने त कतिपय वाध्य भएर युरोपका अन्य देशमा भाग्ने गरेका छन्। धेरैजसो ऋण गरेर त्यहाँ पुग्नेहरु अन्य देशमा भागेर शरणार्थी समेत बन्ने गरेका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ वैदेशिक रोजगारीका लागि युरोप जाने कामदारहरु बढिरहेको बताउँछन्। त्यहाँको समस्याबारे भने धेरै उजुरी नआएको उनको भनाइ छ।

युरोप पठाउन अधिकतम ६० हजार रुपैयाँसम्म मात्र लिन पाउने भए पनि मेनपावर कम्पनीहरुले १० लाख रुपैयाँसम्म असुल्दै आएका छन्।

ठगिए पनि ठूलो लगानी गरेकाहरु फ्रान्स तथा जर्मन पुगेर अवैध रुपमा बस्ने गरेका छन्। अवैध रुपमा त्यसरी युरोपमा पुगेका कतिपय नेपाली जेलमा परेका छन्।

अवैध जानेहरुका लागि टर्कीको रुट

अवैध रुपमा युरोप छिर्न खोज्ने नेपालीको संख्या पनि बढ्दै छ। जसमध्ये धेरैजसो टर्कीको ‘रुट’ प्रयोग गर्छन्। टर्कीबाट युरोप छिर्न सक्ने सपना बोकेर कतिपय युवा लाखौं तिरेर त्यहाँ पुग्ने गरेका छन्।

त्यसरी टर्की पठाउने समूहका तीन जनालाई हालै मात्र सिआइबीले हिरासतमा लिएको छ। पोखराका प्रविन गिरी, प्रदीप गिरी र झापाका ज्ञानेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले नक्कली भिसा लगाएर टर्की पु¥याएर युवालाई अलपत्र बनाएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए। चाबहिलमा रहेको पिपी मिराकल कन्सलटेन्सीमार्फत उनीहरुले प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिएर टर्की पठाएका थिए। ‘त्यहाँ लगेर हामीलाई काठ बोक्न लगाइयो,’ सिआइबीमा भेटिएका एक पीडितले भने, ‘युरोप छिर्ने सपनामा टर्की पुगेका धेरै जनाको बिचल्ली भएको छ।’

युरोप पठाउने भनेर कतिपयलाई टर्कीमै काममा लगाउने गरिएको छ। काठका मुडा बोक्नेजस्ता निकै गाह्रो काम लगाउने तर पैसा निकै थोरै दिने भएपछि त्यहाँबाटै भागेर नेपाल आएका एक पीडित युवाले सिआइबीमा उजुरी दिएका थिए।

त्यस्तै, युरोपका नाममा ठगी गर्ने मेनपावर सञ्चालक पारस लोहनीलाई पनि महानगरीय अपराध महाशाखाले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनले करिब ३ करोड रुपैयाँ ठगी गरेको एसएसपी दिवेश लोहनी बताउँछन्।

भारतको नयाँदिल्ली हुँदै टर्की पुग्ने र त्यहाँबाट युरोप पठाउने गिरोह नै सक्रिय रहेको सिआइबीका एसपी श्रेष्ठ बताउँछन्। कतिपय नक्कली भिसा बनाएर त केहीले भारतस्थित टर्कीको दूतावासबाट भिसा मिलाई मानवतस्करी गर्दै आएका छन्। त्यसरी टर्की पुगेका कतिपय युवा त्यहाँ पक्राउ परी जेलमा छन्।

अवैध रुपमा लिबियाबाट इटाली जाने क्रममा हालै एक नेपाली युवाले ज्यान समेत गुमाए। म्याग्दीका धनमान पुर्जाको समुद्रमा डुबेर मृत्यु भएको थियो। डुंगामा चढेर इटाली जाने क्रममा उनको डुबेर मृत्यु भएको थियो।

युरोप गएपछि त्यहाँको पिआर पाउने र परिवारसमेत लैजान सकिने सपनामा कतिपय व्यक्तिले युरोपमा खुट्टा टेक्नकै लागि १० लाख रुपैयाँसम्म खर्च गर्दै आएका छन्।

कन्सलटेन्सी तथा विभिन्न एजेन्टले युरोपमा मानव तस्करी गर्दै आएको प्रहरीले जनाएको छ। सिआइबीका एसपी श्रेष्ठ भन्छन्, ‘मावन तस्करीको समस्या विकराल बन्दै गएको छ, विकसित देश भनेपछि त्यहाँ जान लाखौं तिर्न तयार हुने प्रवृत्ति छ, जसकारण तस्करहरुले सजिलै ठगिरहेका छन्।’ सिआइबीले हाल वैदेशिक रोजगारका नाममा हुने मानव तस्करीका आधा दर्जन घटनाको अनुसन्धान गरिरहेको छ।

महानगरीय अपराध महाशाखामा पनि युरोप पठाउने भन्दै ठगी गरिएका उजुरी बढिरहेका छन्।

८ लाख तिरेर पुगेको तीन हप्तामै भागें

बसन्त लामा, हेटौंडा | सुकेधाराको स्पेस ओभरसिज मेनपावरबाट म २४ नोभेम्बरमा पोर्चुगल गएको हो। श्रम स्वीकृति लिएरै म त्यहाँ पुगेको थिएँ। त्यहाँ गएपछि अन्य युरोपेली देशमा पुगेर लाखौं कमाउन सकिन्छ भन्ने सपना थियो। तर, त्यहाँ पुगेपछि वास्तविकता थाहा भयो।

हुन त युरोप जाँदा अधिकतम ६० हजार मात्र लाग्ने सरकारको नियम रहेछ। तर, मैले त काठमाडौंमा ७ लाख ८० हजार र भारतमा गएर १७ हजार भारु बुझाएको थिएँ।

श्रम सम्झौता नै लिएर त्यहाँ गइएको थियो। लोडर चलाउने सम्झौता थियो, तर फर्निचरमा काठ बोक्ने काम लगाइयो। ५० हजार रुपैयाँ जति तलब हुन्थ्यो। काम साह्रै गाह्रो। २०–२५ हजार रुपैयाँभन्दा बढी बच्दैन थियो। ती देशमा आर्थिक मन्दीपछि त्यहाँका मान्छे काम गर्न अरु देशमा जाँदा रहेछन्, अनि अन्य देशबाट ल्याएर सस्तोमा काम लगाइने रहेछ। जसकारण त्यहाँ राम्रो काम र तलब पाउने सम्भावना निकै कम छ।

पोर्चुगल गएपछि अन्य युरोपियन देशमा पनि गएर काम गर्न सकिने आश्वासन दिएर हामीसँग त्यति धेरै पैसा लिएर पठाइएको थियो। अरु देशमा घुम्न त जान पाइन्छ, तर काम गर्न जान पाइँदैन।

त्यसकारण मैले तीन हप्तापछि नै काम छोडें। करिब डेढ महिना युरोप बसेपछि १० जनवरीमा म काठमाडौं आएको हुँ। मेनपावरको मुख्य एजेन्टलाई मैले पैसा हालिदिएको थिएँ। फर्केपछि प्रहरीमा उजुरी गरेपछि उनीहरुले पैसा फिर्ता गर्छु भनेका छन्। मसँगै गएका कतिपय साथी त्यहीँ छन्। कोही अन्य देशमा भाग्ने प्रयासमा छन्।

युरोपको जागिर धेरै नै गाह्रो रहेछ। यत्रो लाखौं बुझाएर त्यहाँ गएर दुःख गर्दा पनि खर्च नै उठाउन नसकिने स्थिति छ। पोर्चुगल र चेक रिपब्लिकका गल्लीगल्लीमा धेरै नेपालीको बिजोग देखें। युरोपको रोजगारी त खाडीको भन्दा पनि खत्तम रहेछ।

via : http://ift.tt/2Dtx5B2

The post नेपालबाट युरोपमा मानव तस्करी : १० लाख खर्च, २५ हजार कमाइ पोल्यान्ड र चेक रिपब्लिकका गल्ली–गल्लीमा नेपाली युवाको बिचल्ली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mXqxAu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top