Photo of Milford Sound in New Zealand

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, पुस १८ –विश्वकप खेल्न जाने खेलाडीले हवाइजहाजको टिकट किन्ने पैसा पाएनन् । ४ दिनको रेलयात्रा गर्दैछन् ।

जनवरी ८ तारिख अर्थात पुस २४ गते विश्वकप प्रतियोगिता छ, टोली पुस २२ गते मात्रै पाकिस्तान पुग्दैछ । कुनै कारणले बाटो जाम भएमा खेलाडीले विश्वकप नै गुमाउन सक्छन् ।

यो कुरा झट्ट सुन्दा अनौठो लाग्न सक्छ । तर यो समस्या नेपाली नेत्रहीन खेलाडीले भोगेको साँचो कुरा हो । पाकिस्तान र युएइमा हुने पाँचौ नेत्रहीन एकदिवसीय क्रिकेटमा नेपालले पनि सहभागिता जनाएको छ । प्रतियोगिताकै लागि भदौदेखि नेपाली नेत्रहीन क्रिकेट टोलीले लगातार अभ्यास पनि गर्‍यो । तर नेत्रहीन विश्वकप क्रिकेट खेल्न पाकिस्तान जाने टोलीले हवाइजहाजको टिकट किन्ने पैसासमेत पाएन र रेलमार्फत पाकिस्तान पुग्दैछ ।

जर्सी, अभ्यासको लागि खेल मैदान र खेलाडीलाई खान बस्नको बन्दोबस्त मिलाएको नेत्रहीन क्रिकेट संघ नेपालले धेरै पहल गर्दा पनि जहाजको टिकट भने बन्दोवस्त गर्न सकेन ।

‘अहिले नेपालबाट पाकिस्तानसँगको सिधा उडान छैन, पाकिस्तान पुग्न दुबई हुँदै जानुपर्छ । यसरी दुबई हुँदै पाकिस्तान पुग्दा प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लाग्ने भयो, यसरी त हामीलाई टिकटमै ३० लाख रुपैयाँ जति पर्ने भयो, तर हामीसँग पैसा नभएकाले सडकमार्गबाट पाकिस्तान जाने भएका छौं’ नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले गुनासो गर्नुभयो ।

नेपाली टोलीको पहिलो खेल यही पुस २४ गते बंगलादेशसँग छ । तर टोली मंगलबार मात्रै नेपालबाट हिँडेको छ । नेपाली टोली काठमाडौंबाट सुनौली बसमार्फत पुग्नेछ । सुनौलीबाट भने रेलमार्फत गोरखपुर, अमृतसर, भारत र पाकिस्तानको सीमा बाघा बोर्डर हुँदै नेपाली टोली पाकिस्तान पुग्नेछ । सीमामा कुनै समस्या नआओस भनेर नेत्रहीन क्रिकेट संघ नेपालले नेपालमा रहेको पाकिस्तानको दुतावाससँग सहकार्य गरेको छ । यसरी एकैदिनमा पाकिस्तान पुग्न सक्ने नेपाली टोली ४ दिनको सडकमार्ग हुँदै विश्वकप क्रिकेट खेल्न पाकिस्तान जाँदैछ ।

‘अरु जम्मै कुराको व्यवस्था भयो तर प्लेन टिकटको व्यवस्था गर्न सकेनौँ, तर हामीलाई प्लेन टिकटले छेक्दैन, विश्वकप जसरी पनि खेल्नुपर्छ भनेर हामीले ४ दिने सडकयात्रा तय गरेका छौँ’ नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले जति दुःख भोगे पनि नेपालको नाम राख्छौँ भन्ने भावना लिएर यो आँट गरेका हौं ।’
‘४ दिनमा पुगिएन भने विश्वकप नै गुम्न सक्छ’

नेत्रहीन विश्वकप क्रिकेट खेल्न लागेको नेपाली क्रिकेट टोली दंग छ । तर सडकको बाटो हुँदै पाकिस्तानसम्म बेलैमा कसरी पुग्ने भन्ने चिन्ता पनि उत्तिकै छ । नेपालले पहिलो खेल पुस २४ गते खेल्ने तालिका छ । तर बाटोमा कुनै गडबडी नभएमा नेपाली टोली रेलको यात्राबाट २२ गतेमात्रै पाकिस्तान पुग्नेछ । बाटोमा कुनै अवरोध आएमा प्रतियोगिता नै गुम्ने डर नेपाली टोलीलाई छ ।

पाकिस्तान छिर्ने वाघा सीमामा हुने तनावका कारण बेला बेला सीमा नाका बन्द पनि हुने गरेको छ । त्यसमाथि सीमामा हुने कडाइले पनि नेपाली टोलीले समस्या भोग्न सक्छ । तर नेपालमा रहेको पाकिस्तानी दुतावाससँग पर्याप्त छलफल गरेकोले सीमामा समस्या नआउला कि भन्ने आसा नेपाली टोलीको छ ।

‘प्लेन टिकटको व्यवस्था नभएपछि रेलमार्फत त जाने भैयो, तर कुनै कारणले हामी ढिला भयौं भने प्रतियोगिता नै गुम्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ’ नेपाली टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले उज्यालो अनलाइनसँग गुनासो गर्नुभयो ।
४ दिन रेलमा गुड्दा खेलाडी थाक्ने चिन्ता

२४ गते पहिलो खेल खेल्ने नेपाली टोलीको २२ गते पाकिस्तान पुग्ने तालिका छ । बाटोमा कुनै अवरोध नआएमा २२ गते पाकिस्तान पुग्ने टोलीका सबैजना ४ दिनको रेल यात्राले थकित हुने र खेल नै प्रभावित हुन सक्ने चिन्ता पनि छ । ‘४ दिनको रेलयात्रा गरेको भोलिपल्ट खेल्दा कति थकाइ लाग्ने हो त्यो पनि अर्को चिन्ताको विषय छ’ टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले भन्नुभयो, ‘४ दिनको यात्रामा खानपान र दिसापिसावको समस्या पनि झेल्नुपर्नेछ, यात्रामा दृष्टीविहीनलाई यसै पनि गाह्रो हुन्छ ।’

नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले पनि बाटोमा खेलाडीलाई अप्ठेरो पर्ने कुराले चिन्तित बनाएको बताउनुभयो । नेपालले २०६३ सालदेखि अन्तराष्ट्रिय नेत्रहीन क्रिकेट प्रतियोगितामा भाग लिँदै आएको छ ।

नेपालले पुस २४ गते बंगलादेशसंग २५ गते भारतसँग, २६ गते पाकिस्तानसँग, २९ गते अष्ट्रेलियासँग र माघ १ गते श्रीलंकासँग खेल्नेछ । अघिल्ला संस्करणमा यस प्रतियोगितामा १० देशले सहभागिता जनाए पनि यो वर्ष भने ६ वटा देशमात्रै खेल्ने भएका छन् ।

गत वर्ष भएको दोस्रो ट्वेन्टी ट्वेन्टी नेत्रहीन विश्वकपमा नेपालले दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई हराएको थियो । ujyaaloonline

The post जहाजमा जान पैसा भएन, रेलबाटै पाकिस्तान जाँदै विश्वकप खेल्ने नेपाली टोली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A6Uce4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top