Photo of Milford Sound in New Zealand

कसैले हेरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो
जब म ‘मेरी बास्सै’मा सुन्तलीको भूमिकामा अभिनय गर्न थालेँ, सुरुका दिनमा म दर्शकहरूसँग घुलमिल भइसकेको अवस्था थिएन । जसले गर्दा सुरुसुरुमा कसैले मलाई हेरिदिए हुन्थ्यो, मैले सिरियलमा अभिनय गरेर बाहिर चिनेका छन् कि छैनन् भन्ने लाग्थ्यो । जब मलाई आमदर्शकले चिन्न थाल्नुभयो मेरो अभिनयलाई सबैले मन पराइदिनुभयो अनि म सार्वजनिक ठाउँहरूमा जाँदा धेरै फ्यान भेटेँ ।

विवाह नहुँदै एउटै कोठा देखाउने कतारका फ्यान
धेरै वर्ष पहिला म र सीतारामजी कतारको एउटा प्रोग्राममा गएका थियौँ । जुनवेला हाम्रो विवाह भएको थिएन । त्यहाँ हाम्रो लेडिज तथा जेन्सको ठूलै समूह थियो । हामी बेलुका होटेलमा खाना खाएर सुत्ने वेलामा त्यहाँको मान्छेले दाइ र भाउजूलाई चाहिँ यहाँ है भनेर हामीलाई छुट्टै कोठा देखाउनुभयो । हामी छक्क पर्यौँ । किनकि हाम्रो विवाह भएको थिएन । उहाँले विवाह भइसक्यो भन्ने ठान्नुभएको रहेछ । अनि हामीले हाम्रो विवाह नै भएको छैन भन्यौँ, उहाँ पनि छक्क पर्नुभयोे ।

आशीर्वाद दिने दमककी बुढीआमा
केही वर्ष पहिला हामी दमकको एउटा कार्यक्रममा गएका थियौँ । त्यसवेलामा नाकाबन्दीका कारण गाडी चलेका थिएनन् । त्यसैले गर्दा हामी रिक्सामा गएका थियौँ। त्यहाँ केदार दाइ र बान्द्रे पनि हुनुहुन्थ्यो । सीतारामजी र मचाहिँ एउटै रिक्सामा चढेका थियौँ । त्यहाँ एकजना बुढीआमाले हामीलाई देख्नुभयो । हामीनजिक आउनुभयो र मेरो र सीतारामजीको हात समाउनुभयो । अनि टेलिभिजनमा देखेका तिमीहरूलाई यहाँ देख्न पाएँ, कस्तो छुन मन लाग्यो भन्नुभयो । उहाँले पोल्टामा मकै–भटमास ल्याउनुभएको थियो । त्यो हामीलाई दिँदै तिमीहरू विवाह गरेर सँगै बस्नु है, तिमीहरूको जोडी एकदमै राम्रो देखिन्छ मेरो आशीर्वाद लागोस् भन्नुभयो ।

मलाई देखेर हास्ने कलेजका विद्यार्थी
एक दिन म कुपण्डोलमा बाटो काट्दै थिएँ । त्यहाँ कलेजका विद्यार्थी पनि हुनुहुन्थ्यो । मैले माक्स लगाएकी थिएँ । उहाँहरूले मलाई चिनेर मेरो अभिनयलाई सम्झेर हाँस्नुभयो । त्यो देखेर मलाई माया गर्ने धेरै हुनुहुँदोरहेछ भनेर गर्व महसुस भयो ।

अमेरिकामा रुने भाइ
०७२ को कुरा हो । हामी कार्यक्रमका लागि अमेरिका गएका थियौँ। त्यहाँ एकजना भाइ हामीलाई भेट्नकै लागि टिकटको मूल्यभन्दा २ सय डलर बढी तिरेर आउनुभएको थियो । उहाँ हाम्रो एकदमै डाइहार्ड फ्यान हनुहुँदो रहेछ । उहाँ प्रोग्राम हेर्नभन्दा पनि धुर्मुस, सुन्तलीलाई भेट्न भनेर आउनुभएको रहेछ । उहाँचाहिँ विद्यार्थीका रूपमा अमेरिका जानुभएको रहेछ । हामीलाई भेटेर खुबै रुनुभयो ।

जहाँ गएँ त्यहाँ सुन्तली र फतौरी भेटेँ
म व्यक्ति एक भए पनि मैले अभिनय गरेका पात्र अनेक छन् । मैले जति पात्रमा अभिनय गरेकी छु त्यसलाई दर्शकहरूले रुचाइदिनुभएको छ । यही क्रममा म केही समय पहिला प्युठानको एउटा कार्यक्रममा गएकी थिएँ । त्यहाँ स्थानीयले धुर्मुुस सुन्तली, माग्नेबुढा बनेर अभिनय गर्नुहुँदो रहेछ । त्यस्तै, मोरङमा एउटी फतौरी थिइन् । यसरी मैले थुप्रै ठाउँमा मेरो पात्रलाई रुचाएर अभिनय गर्ने फ्यान फेला पारेको छु ।

फिलिपिनी महिला मेरी फ्यान
मेरो एकजना फिलिपिनी महिला फ्यान हुनुहुन्छ । उहाँ अहिले साउदीमा नर्सिङ गर्नुहुन्छ । उहाँलाई मेरो सबै आनीबानी थाहा छ । मैले चिकेन मःम मन पराउँछु भन्ने उहाँलाई थाहा छ । त्यस्तै, म लेफ्ट ह्यान्डेड हो भन्ने पनि थाहा छ । उहाँले कहिलेकाहीँ फेसबुकमा ‘म त मर्छु कि क्या हो’ भनेर पठाउनुहुन्छ । उहाँले चाहिँ मेरो क्यारेक्टर र गेटअपलाई देखेर त्यहाँ बस्ने नेपालीलाई सोध्नुभएछ । अनि त्यहाँको नेपालीले चाहिँ उहाँ हाम्रो नेपाली कलाकार हो भन्दिनुभएछ । त्यसपछि ती फिलिपिनी महिला मेरो डाइहार्ड फ्यान हुनुहुन्छ ।

मिर्गौलापीडितको तीन सय डलर सहयोग
मैले कलाकारिता सँगसँगै सामाजिक कार्य पनि गर्न थालेँ । त्यसपछि इमोसनल फ्यानहरू धेरै भेटेँ । आफ्नो राष्ट्रप्रतिको माया सबैलाई छ । कतिपय फ्यानले त मलाई नै रुवाउनुहुन्छ । एकजना अमेरिकामा दुवै मिर्गौला फेल भएको दाइ हुनुहुन्छ । अहिले यो अवस्थामा उहाँलाई नै सहयोगको खाँचो छ । हामीले नै उहाँलाई सहयोग गर्नुपर्ने वेलामा उहाँले हामीलाई ३ सय डलर सहयोग गर्नुभएको छ । उहाँले जुन सहयोग गर्नुभयो त्यसले मलाई निकै भावुक बनायो ।

छोरा फ्यान, बाबुको ५५ लाख सहयोग
कतारमा एकजना प्रकाश कोइराला दाइ हुनुहुन्छ । हामीले मुसहर बस्ती बनाउने वेलामा उहाँ एकै व्यक्तिले ४० लाख सहयोग गर्नुभएको थियो । हामी कतारमा प्रोगाम गर्न गएका वेलामा नै गिरानचौर बस्ती निर्माणका लागि सहयोग गरिसक्नुभएको थियो । त्यो वेलामा प्रकाश दाइले मेरो छोराले एउटा गीत गाएको छ, त्यसमा अभिनय गर्नुपर्छ है भन्नुभयो । वास्तवमा भन्ने हो भने उहाँको छोरा मेरो फ्यान हुनुहुँदो रहेछ । एकदिन उहाँको परिवारका सदस्यको ४, ५ वटा युरोपियन देश घुम्ने योजना भएको रहेछ । प्रकाश दाइको छोराले इन्टरनेटमा हामीले गरेको काम देख्नुभएछ । अनि उहाँले घुम्न जाँदा लाग्ने खर्चचाहिँ धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिऔँ भन्नुभएछ । उहाँले त्यस्तो भनेपछि प्रकाश दाइ झनै उत्साहित हुनुभएछ । उहाँको छोरा त्यस्तै १० वर्षको हुनुहुन्थ्यो होला । यसरी १० वर्षे बच्चाको मस्तिष्कमा पनि बस्न सफल भएकोमा निकै गर्व महसुस हुन्छ । यसरी हामीलाई प्रकाश दाइले विभिन्न समयमा गरेर ५५ लाखजति सहयोग गर्नुभयो ।

देश बनाउनुस् भनेर परिवारका सबै सदस्य रुनुभयो
केही समयअघि म क्यानडा गएकी थिएँ । क्यानडाको एडमन्टन भन्ने ठाउँमा पिकनिक आयोजना गरिएको थियो । त्यहाँ हाम्रो फाउन्डेसनलाई सहयोग गर्ने कार्यक्रम पनि थियो । एउटा परिवार थियो । उहाँहरूले हामीलाई सहयोग गर्दैै गर्दा परिवारका सबै सदस्यले नेपाल बनाउनुस् भनेर रुनुभयो । त्यसले पनि भावुक बनायो । यसरी माया गर्ने फ्यान पनि हुनुहुन्छ ।

भिड थाम्न नसकेर प्रहरी नै परिचालन
आजभन्दा १० वर्षअघिको कुरा हो । म र सीतारामजी धनगढी महोत्सवमा गएका थियौँ । त्यहाँ एक लाखजति दर्शक हुनुहुन्थ्यो । हामी गएपछि भिड थाम्नै नसक्ने भयो । त्यसपछि प्रहरी नै परिचालन गर्नुपरेको थियो ।

फ्यानकै कारण धुर्मुससँग विवाह
हास्य टेलिशृंखला मेरी बास्सैमा सीतारामजी र मैले धुर्मुुस–सुन्तलीको पात्रमा श्रीमान्–श्रीमतीको भूमिकामा अभिनय गरेका थियौँ । जुन पात्रले नै आज हामी चिनिएका छौँ । तर, टेलिसिरियलमा हामी जसरी प्रस्तुत भएका थियौँ, दर्शकहरूले पनि हामीलाई त्यसरी नै लिइदिनुभयो । हाम्रो विवाह नहुँदा नै हामीलाई फ्यानहरूले वास्तविक श्रीमान्–श्रीमती बनाइसक्नुभएछ । कतिपय ठाउँमा जाँदा उहाँहरूले हामीलाई विवाह नहुँदा नै श्रीमान्–श्रीमती भनेको सुनेर हाम्रो विवाह भएको छैन भन्थ्यौँ । त्यसपछि धेरै फ्यानहरूले हाम्रो विवाह भइदिए हुन्थ्यो भन्ने चाहना राख्नुभयो ।

देश, विदेश जहाँ गए पनि सिरियलमा मात्र नभएर वास्तविक श्रीमान्–श्रीमती भएको हेर्ने इच्छा छ भनेर कतिपय फ्यानहरूले आशीर्वाद पनि दिनुहुन्थ्यो । फ्यानहरूको आशीर्वादजस्तै हाम्रो भाग्यमा पनि हामी श्रीमान्–श्रीमती हुन लेखेको रहेछ । हामीले विवाह गर्यौँ । त्यसैले म यसको श्रेय मेरा फ्यानहरूलाई दिन्छु ।
प्रस्तुति : महेश तिमल्सिना

The post विवाह नहुँदै म र सीतारामजीलाई एउटै कोठा देखाउने कतारका फ्यान appeared first on Taja nepali news.

http://ift.tt/2mYBJwA

from SHYANE http://ift.tt/2FYgXoC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top