ललितपुर–१३ कुसुन्तीका ३२ वर्षीय प्रविण खत्री सोमबार दिउँसो प्रहरीको इन्काउन्टर मारिए। घरको दुई तलाबाट हाम फालेर प्रहरीमाथि नै गोली प्रहार गरेर भाग्न खोजेपछि जवाफी गोली प्रहार गर्दा उनी मारिएको दाबी प्रहरीको छ।
प्रहरीका अनुसार खत्री लागूऔषधका कारोबारी हुन्।
प्रहरीको इन्काउन्टरमा मारिएका खत्रीका बाबु प्रमोद खत्रीले भने प्रहरीले सिधै घरमा आएर गोली हानेको आरोप लगाएका छन्। अपराधी नै भएपनि प्रहरीले पक्राउ गरेर जेल हाल्नु पर्नेमा छोरा प्रविणलाई सिधै गोली हानेको भन्दै प्रमोदले आक्रोश पोखे।
उनले प्रश्न गरेका छन्– सिधै घरमा आएर गोली हानिएको छ। घरभित्र पसेर गोली हानेर मान्छे मार्ने पुलिसलाई कसले अधिकार दिएको छ?’
उनले कसैलाई मार्ने अधिकार प्रहरीलाई नभएको भन्दै गुनासो गरे।
‘गोली हानेर दुई तलाबाट खसालेको भनेका छन् सबैले। विश्वमै खाने मान्छे होलान्। कोही जाँड खालान्, कोही रक्सी खालान्, कोहीले ट्याबलेट खालान्, कोहीले ब्राउन खालान् के–के खालान्, के–के खालान्,’ उनले भने, ‘मेरा छोराले पनि एउटा नशा लियो होला। मेथा खान्थ्यो। तर, खाँदैमा मान्छेलाई मार्न पाइँदैन। प्रहरीलाई कसले अधिकार दियो?’
‘पहिले छोरोले खान्थ्यो। अहिले बा मैले खान छोडेँ, ७÷८ दिन भयो केही खाको छैन भनेको थियो। जुस सुस खाएर बसिराख्या छु भन्थ्यो,’ उनले भने।
उनले आफ्नो छोरा प्रविनसँग विहान ११ बजेसम्म फोनमा कुरा भएको र त्यसपछि एक्कासी प्रहरीले गोली हानेर दुई तलाबाट खसालिदियो भन्ने खबर पाएर दक्षिणकालीबाट घरतिर आएको बताए।
खाने व्यक्ति भन्दैमा पुलिसलाई मार्ने अधिकार कहाँ छ भन्दै बाबु प्रमोदले प्रश्न गरेका छन्। ‘खाने मान्छे कति छन् छन्। त्यसो भए सबैलाई मारिदिए भयो नि पुलिसले,’ उनी चिन्तित देखिन्थे।
प्रहरीको काम गलत बाटोमा लागेकालाई सुरक्षित बनाएर जेलमा लगेर सुधार्नु पर्ने हो भन्दै उनले भने,‘गोली हानेर मार्ने अधिकार छ प्रहरीलाई?’
उनले रिसिइवीका कारण आफ्नो छोरालाई प्रहरीले मारेको पनि आरोप लगाएका छन्।
यस्तै, मृतक खत्रीका काकाले पनि अपराधी नै भएपनि जेल हाल्नु पर्नेमा प्रहरीले गोली हानेर हत्या गरेको भन्दै आक्रोश पोखेका छन्। ‘मान्छे मार्नलाई प्रहरी बनाएको होइन। प्रहरीको काम सुरक्षा दिने हो मान्छे मार्ने होइन,’ उनले आक्रोशित हुँदै भने।
उनले सीमामा भारतीयहरुले गोली हान्दा प्रहरी किन हेरेर बस्छ भन्ने प्रश्न पनि गरेका छन्।
‘भारतीयले आक्रमण गर्दा तमाशा हेरेर बस्ने प्रहरी। हामीजस्ता निरीह जनतालाई गोली हान्न राख्या हो?,’ उनको प्रश्न छ।
उनले कसैले गल्ती काम गरेको भए जेल हालेर सजाय दिनु पर्ने ठाउँमा अपराधीको नाममा गोली हानिएको आरोप लगाए। ‘कुनै अपराधी नै भए पनि गोली हान्न पाइँदैन। घरमा सिधै पुलिस छिर्न पाउँदैन। इन्काउन्टर भन्ने कहाँ हो गोली हान्ने। प्रविनको कन्टचमा हानिएको छ गोली,’ उनले भने।
मृतकका आफन्तले पनि प्रहरीले अपराधी नै भएपनि पक्राउ गरेर सजाय दिनु पर्नेमा गोली हानेर मारेको आरोप लगाएका छन्। उनीहरुले आक्रोशित हुँदै भनेका छन्,‘मान्छे मार्न भएन। मान्छेलाई कुकुर बिरालो मारेजस्तो गरी मार्न पाइँदैन।’
पीडितका आफन्तहरुले दोषीमाथि छानविन गरी कारबाही गर्न पनि माग गरेका छन्। source:nepalkhabar
from SHYANE http://ift.tt/2fmDtyZ
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.