आफ्नो क्षेत्रमा सफल भएपछि र दाम कमाएपछि आफूले सोचेजस्तो कार चढ्ने रहर जोसुकैलाई हुन्छ । महँगो या सस्तो भएका कारणले नै सबैलाई एकै ब्राण्ड र मोडलका कार मन पर्छ भन्ने पनि हुँदैन । विभिन्न क्षेत्रमा सफल सेलेब्रिटीले आ–आफ्नै रोजाइका कार चढेका छन् । सेलेब्रिटी कस्ता कार चढ्छन् ? नयाँ पत्रिकाका अजित अधिकारीले केही सेलेब्रिटीका कारको स्टोरी तयार पारेका छन्:
दीपकराज गिरी, कलाकार
मारुती डिजायर
कलाकार दीपकराज गिरीको सफलता शिखरतिर लम्किरहेको छ । हास्य टेलिशृंखलाबाट चर्चा बटुलिरहेका उनी ठूलो पर्दाका चलचित्रमा हात हालेपछि आर्थिक रूपमा पनि सफल बन्न थाले । ‘वडा नम्बर छ’, ‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’बाट सफलता हासिल गरेका उनी ३ वर्षयता मारुती सुजुकीको स्विफ्ट डिजायर कार चढ्दै आएका छन् ।
कम्प्याक्ट सेडान कार डिजायर उनलाई लक्जरी लाग्छ । ‘कम्पनीले धेरै स्थानमा सर्भिस सेन्टर खोलेको छ, त्यसैले कतै बिग्रिएर अप्ठ्यारोमा पर्नुपर्छ कि भन्ने चिन्ता पनि छैन,’ उनी भन्छन्, ‘गाडी पनि आरामदायी छ, त्यसैले यात्रा गर्दा अप्ठ्यारो महसुस पनि भएको छैन ।’
छक्का पन्जाको दुवै संस्करण हेर्नेलाई फिल्ममा दीपकले रोयल इन्फिल्डको बुलेट मोटरसाइकल चलाएको याद पक्कै हुनुपर्छ । उनीसँग घरमा सोही मोटरसाइकल छ । तर, उनी खासै चलाउँदैनन् । धुवाँधुलो छल्नका लागि पनि कार चढ्ने गरेको उनी बताउँछन् ।
ज्ञानेन्द्र मल्ल, क्रिकेटर
टाटा जेस्ट
राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल टाटा जेस्ट कार चढ्छन् । टाटा कार आयातकर्ता सिप्रदी ट्रेडिङले ज्ञानेन्द्रलाई उत्कृष्ट छुट सुविधामा कम्प्याक्ट सेडान कार जेस्ट उपलब्ध गराएको हो । ‘मलाई सिप्रदी ट्रेडिङले राम्रो छुट दिएपछि टाटा जेस्ट किनेर चढिरहेको छु,’ उनले भने, ‘कार निकै आरामदायी लागेको छ ।’
ज्ञानेन्द्रसँग युएम ब्रान्डको रेनिगेड बाइक पनि छ । उनी हतारमा कुनै ठाउँ पुग्नुपर्यो भने बाइक चलाउँछन् । ‘औपचारिक कार्यक्रममा जानुपर्ने भयो र बिस्तारै पुग्दा हुने ठाउँमा कार नै लिएर जान्छु,’ उनी भन्छन् ।
ज्ञानेन्द्रको युएम रेनिगेड सिरिजको बाइक क्रुजर सेग्मेन्टको हो । यस्तो बाइक लामो यात्राका लागि आरामदायी मानिन्छ । तर, अहिलेसम्म उनले बाइकमा लामो यात्रा गरेका छैनन् । प्रशिक्षण र अभ्यासमा जाँदा, आउँदा उनी कहिले कार, कहिले बाइक प्रयोग गर्छन् । साथीभाइ र परिवारसँग रमाइलो गर्न पर्दा पनि उनी कारमै निस्किने गरेका छन् ।
राधिका हमाल, गायिका
टोयोटा कोरला
लोकदोहारी गायिका राधिकासँग विगत ५ वर्षदेखि टोयोटाको कोरोला कार छ । तर, भूकम्प गएयता उनले कार चढ्न कम गरेकी छिन् । ‘अधिकांश कार्यक्रममा आयोजकबाटै सवारीसाधन मगाएर जाने गरेको छु । आफ्नो व्यक्तिगत काममा जाँदा पनि आफन्तसँग बाइक, स्कुटरमा जान्छु । कहिलेकाहीँ मात्रै कार प्रयोग गर्ने गरेको छु,’ उनी भन्छिन् ।
उनलाई अहिले महिन्द्राको स्कोरपियो कार चढ्न मन लागेको छ । कठिन बाटोमा पनि सजिलै दौडाउन सक्ने भएकाले उनलाई स्कोरपियोले लोभ्याएको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रयोग गरेको मुस्ताङ म्याक्स पनि उनको मनपर्ने कार हो ।
धीरज राई, गायक
हुन्डाई आई–१०
गायक धीरज राई हुन्डाईको आई–१० कार चढ्छन् । त्यसअघि हुन्डाईकै स्यान्ट्रो चढेका थिए । उनलाई हुन्डाई ब्रान्ड मनपर्छ । ‘हुन्डाई कारको भित्रको भाग (इन्टेरियर) पनि खुला लाग्छ । कारको पर्सनालिटी राम्रो छ,’ उनी भन्छन्, ‘लामो दूरीमा चलाउन पनि थकाइको महसुस हुँदैन । तीव्र गतिमा दौडाउँदा पनि हल्लिँदैन र नियन्त्रण कायम गर्न सजिलो छ । अहिले चढिरहेको कार पूर्ण पारिवारिक लाग्छ ।’
रातो रङको कार चढ्ने उनी काठमाडौंको धुलोबाट आजित छन् । आफ्नो साधनको निकै जतन गर्ने राई बेलुका घर फर्किंदा धुलोले कार हेर्नै नहुने भएकाले देख्दा दिक्क मान्छन् । ‘बिहान टिलिक्क पारेको कार बेलुका घर आइपुग्दा फोहोर देखिन्छ, कतै छ्यास्स कोरियो भने पनि मन चसक्क हुन्छ,’ उनी भन्छन्, ‘दुःख गरेर किनेको कारको राम्ररी हेरचाह गर्छु । साँघुरो गल्लीमा धेरै जोगाएर कुदाउँछु । पार्किङ गर्दा पनि ठोक्किन्छ कि भनेर विचार पुर्याउँछु ।’
उनी कामको सिलसिलामा उपत्यकाबाहिर जाँदा प्रायः कारमै जान्छन् । पाल्पा, धरान, पोखरालगायत स्थानमा कार नै लिएर गएको सुनाउँछन् ।
पल शाह, अभिनेता
निसान सन्नी
अभिनेता पल साह निसानको सन्नी कार चढ्छन् । युवा उमेरका उनलाई दुई वर्षदेखि चढिरहेको सेडान कार नै मन पर्छ रे । त्यसअघि उनले यामाहाको आर १५ मोटरसाइकल चढेका थिए ।
सेडान कार चलाउन सजिलो, आवाज कम आउने र यात्रा रमाइलो हुने गरेको उनको अनुभव छ । उनी आफैँ ड्राइभ गर्छन् । ‘मलाई सानै उमेरदेखि कारमा चढेर हिँड्न मन लाग्थ्यो,’ उनी भन्छन्, ‘ट्राफिक जामका कारण कार चढेर समयमै गन्तव्यमा पुग्न भने मुस्किल हुन्छ ।’
सेडान कार लामो हुन्छ । त्यसैले पार्किङ गर्ने वेला अन्य गाडीलाई छुन्छ कि भनेर उनी सजग हुन्छन् । छोटो समयमा कतै जानुपर्यो भनेचाहिँ स्कुटर नै प्रयोग गर्छन् ।
कोमल वली, गायिका
हुन्डाई आई–१०
सञ्चारकर्मीबाट गायिका हुँदै अहिले राजनीतिमा समेत क्रियाशील कोमल वली तीन वर्षअघि खरिद गरेको हुन्डाई आई–१० चढ्छिन् । उनले पहिले हुन्डाईकै स्यान्ट्रो चढेकी थिइन् । स्यान्ट्रो झन्डै ७ वर्ष चलाएको उनले बताइन् । हुन्डाईको पार्टपुर्जा पाउन सजिलो, चलाउन आरामदायी भएको उनको अनुभव छ ।
उनले कारको ब्रेकमा समस्या आउने गरेको बताइन् । त्यस्तै, सर्भिस सेन्टरमा रहेका प्राविधिकलाई भेटेर समस्या सुनाउन नपाउने गरेको पनि गुनासो गरिन् । काठमाडौंको जामले समयमै गन्तव्यमा पुग्न धेरै गाह्रो भइरहेको उनी बताउँछिन् । ‘जामकै कारण कार १, २ र ३ गियरमा चलाउनुपर्छ । माथिल्लो गियरमा चलाउनै मिल्दैन । जसकारण माइलेज धेरै पाउन सकिँदैन । क्लज र ब्रेक धेरै व्यस्त पार्नुपर्ने भएका कारण गाडी पनि छिटो बिग्रिन्छ,’ वलीले सुनाइन् ।
शिव परियार, गायक
हुन्डाई आई–२० एक्टिभ
गायक शिव परियार करिब एक वर्षदेखि हुन्डाईको आई–२० एक्टिभ कार चढ्दै आएका छन् । त्यसअघि १० वर्षजति उनले मोटरसाइकल चढे । पछिल्लोपटक होन्डाको सिबिआर २५० फेरेर कार चढेका हुन् । मोटरसाइकलका सौखिन उनी प्रत्येक वर्ष नयाँ–नयाँ बाइक फेर्थे ।
उनी धेरै पुरानो हुन्जेलसम्म कार पनि नचढ्ने बताउँछन् । ‘मैले धेरै पुरानो हुन्जेलसम्म गाडी चढेको छैन । यो पनि १–२ वर्षपछि बेच्ने हो,’ उनी भन्छन्, ‘बेच्ने नै भएपछि रिसेल भ्यालु राम्रो भएको कार किनौँ न त भनेर हुन्डाई रोजेको हुँ ।’
सेतो रङको कार चढिरहेका उनी पनि धुलोकै कारण हैरान छन् । जति सफा गरे पनि फोहोर हुने भएकाले दिनदिनै पुछ्दैनन् । विशेष कार्यक्रममा जाँदा भने टिलिक्क पार्न भुल्दैनन् ।
पूजा शर्मा, अभिनेत्री
फोर्ड इकोस्पोर्ट
अभिनेत्री पूजा शर्मा फोर्डको इकोस्पोर्ट कार चढ्छिन् । एसयुभी सेग्मेन्टमा धेरै रुचाइएको इकोस्पोर्टमा यात्रा गर्दा आनन्द हुने उनको अनुभव छ । अघिल्लो वैशाखमा यो कार किन्नुअघि उनी हुन्डाईको आई–१० चढ्थिन् ।
‘धेरै साथीहरू हुँदा लामो दूरीको यात्रा पनि गाडीमै गर्ने हो । एक–दुईजना हुँदाचाहिँ जहाजमा जान्छौँ,’ उनले सुनाइन्, ‘तर, ट्राफिक जामले हैरान पार्छ । सानो गाडी छाडेर ठूलो लिएको, ट्राफिक जामले त हैरानै पारेको छ ।’
उपेन्द्रमान सिंह, फुटबलर
टोयोटा यारिस
उपेन्द्रमान सिंह आफ्नो जमानाका स्टार फुटबलर हुन् । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उनी गोलकिपर हुन् । फुटबल खेलेरै कार उपहार पाउने उनी नेपालकै पहिलो खेलाडी हुन् । १० वर्षअघि उनले खेलकुद क्षेत्रमा योगदान गरेबापत टोयोटाको यारिस कार उपहार पाएका थिए । जसलाई अहिलेसम्म निकै जतन गरी चलाइरहेका छन् ।
उनीसँग कियाको स्पोर्टेज कार पनि छ । परिवारका सदस्यसँग मिलेर दुवै कार प्रयोग गर्दै आएको उनले बताए । सुरुका दिनमा टोयोटाकै पुरानो मोडलको प्राडो चढेका थिए । त्यसपछि टाटाको इन्डिका र हुन्डाईको स्यान्ट्रो पनि चढेको बताए । उनलाई किनेर भन्दा पुरस्कारमा पाएको कार चढ्न पाउँदा निकै खुसी लाग्छ ।
‘स्वाभाविक रूपमा पुरस्कारमा पाएको गाडी चढ्न पाउँदा धेरै गर्वानुभूति हुन्छ । राष्ट्रका लागि खेलकुदमार्फत मैले केही योगदान गरिरहँदा राष्ट्रले पनि खेलाडीको जीवनमा सहयोग गर्छ भन्ने उदाहरण हो, मेरो कार,’ उनी भन्छन्, ‘सायद मैले नै खेलाडीमध्ये सबैभन्दा महँगो कार उपहारको रूपमा लिएको हुनुपर्छ ।’
निखिल उप्रेती, अभिनेता
हुन्डाई क्रेटा
नायक निखिल उप्रेतीले हुन्डाईको एसयुभी (जीप आकारको) सेग्मेन्टको क्रेटा कार चढिरहेका छन् । हुन्डाईले नेपालमा क्रेटा सार्वजनिक गर्नेबित्तिकै किनेका हुन् । त्यसअघि दाइहात्सुको टेरियस कार चढेका थिए । उनले पहिलेदेखि नै एसयुभी सेग्मेन्टको कार चढिरहका थिए । ‘मलाई जिपजस्ता गाडी कम्फर्टेबल लाग्छ । अर्काे, आफैँले गाडी चलाउने गरेको छु । त्यसैले जिप चलाउन सजिलो लाग्छ,’ उनले भने, ‘सुटिङका क्रममा धेरै ठाउँमा जानुपर्ने हुन्छ र जिपले सजिलो भएको छ ।’
उनले कारमै लामो यात्रा पनि गरेका छन् । भारतको मुम्बईदेखि काठमाडौंसम्म कारमै आएको अनुभव उनीसँग छ । ‘मेरो ‘कमिटमेन्ट’ फिल्ममा पनि मुम्बईदेखि काठमाडौंसम्म कारमै आएको दृश्य समावेश गरेको छु,’ उनले भने ।
प्रियंका कार्की, अभिनेत्री
टाटा जेस्ट
अभिनेत्री प्रियंका कार्की टाटा जेस्ट चढ्छिन् । कम्प्याक्ट सेडान कार उनलाई अधिकृत आयातकर्ता सिप्रदी ट्रेडिङले विशेष छुटमा उपलब्ध गराएको हो । उनीसँग हुन्डाईको टक्सन कार पनि छ ।
२ वर्षसम्म ठूलो आकारको टक्सन चढेर उनी सानो जेस्ट कारमा ओर्लिएकी छिन् । ‘मलाई यात्राका लागि सानो गाडी नै आरामदायी र सजिलो लाग्छ,’ उनी भन्छिन् । घरमा रहेको टक्सन अभिभावकले प्रयोग गर्ने गरेको उनले बताइन् । वेला मौकामा उनी आफैँ पनि टक्सन चढ्छिन् ।
दीपाश्री निरौला, कलाकार
हुण्डाई आई–२० एक्टिभ
हास्यकलाबाट चर्चा कमाएर ठूलो पर्दाको चलचित्रमा हामफाल्दै निर्देशकको छवि बनाइसकेकी दीपाश्री निरौला हुन्डाईको आई–२० एक्टिभ कार चढ्छिन् । उनले त्यसअघि ६ वर्षजति हुन्डाईकै स्यान्ट्रो चढेकी थिइन् । ‘मलाई हुन्डाईको लुक्स मन पर्छ । स्यान्ट्रोभन्दा अलिक ठूलो गाडी चढ्न मन लागिरहेको थियो । र, आई–२० एक्टिभ हेरेपछि लुक्स धेरै राम्रो लागेर खरिद गरेकी हुँ,’ उनले भनिन् ।
कार उनी आफैँ ड्राइभ गर्छिन् । यो कार ड्राइभ गर्न कम्फर्टेबल र माइलेज पनि धेरै राम्रो रहेको उनको अनुभव छ । टिलिक्क टल्किने भएकाले रातो रंगको कार रोजेको उनले बताइन् । ‘यसअघि सिल्भर कलरको स्यान्ट्रो चढेको थिएँ । त्यसले खासै धुलो टिप्दैन थियो, तर रातो रङले धुलो टिपेर दिनहुँ धुनुपर्ने समस्या छ,’ रातो रङले दिएको हैरानी पनि सुनाइन् ।
The post नेपालका यी १२ सेलेब्रिटी को कस्तो कार चढछन्? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2q9dsb9
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.