Photo of Milford Sound in New Zealand

काठमाडौं, जेठ १६- ‘अर्जुन दाइ….हाई हाई । यो जित कसको ? जनताको …..’

तनहुँको भानु नगरपालिकाको बाहिर यस्तै नारा जुलुस घन्किन थाल्यो । जेठ दुई गते रातको ९ बजेको थियो । भातगाउँले टोपी र स्टकोटमा ठाँटिएका अर्जुनलाई अबिर जात्रा र माला पहिर्‍याउनेको भीड लाग्यो । कोही उहाँलाई उचाल्न थाले । मोवाइलमा फोटो खिच्नेको भीड लाग्याे । अर्जुनको खुशीको सिमै थिएन । त्यो खुशी फोटो खिच्नका लागि बनावटि पनि थिएन । भानु नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित हुँदाको विजयको खुशी । उहाँसँगै खुशी थिए गाउँलेहरु पनि । जसले अर्जुनलाई भोट हालेर अध्यक्ष बनाएका थिए ।

गएको वैसाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावबाट अर्जुन खड्का वडा अध्यक्षमा निर्वाचित हुनुभयो । विपक्षिलाई १ सय २५ मतले मात्रै पछि पारेका अर्जुनलाई आफ्ना सबै असफलता पछि परेको भान भैरहेको थियो ।

कतारको फाइभ स्टार होटलमा मासिक दुई लाख रुपैयाँ भन्दा बढि तलब पाउँदा पनि अर्जुनलाई यस्तो खुसी मिलेको थिएन । १५ वर्ष कतार बस्दा आफूलाई पुग्दो पैसा कमाउनु भएको थियो । घरको अवस्था राम्रो थियो । तर आफू हराएँ भन्ने कुराले पछुतो लागिरहन्थ्यो । पैसा त भयो, तर के गर्नु नाम छैन ।

‘गाउँमा चिया पसल खोलेको भएपनि खड्का दाइको चिया पसल भन्थे, सबैले चिन्थे । तर महिनाको दुई लाख कमाउने अर्जुन गुम्नाम थियो’ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित अर्जुनले सुनाउँनुभयो ।

पैसा कमाए पनि नाम नकमाएकोमा उहाँलाई पछुतो लागिरहेको थियो । २०६८ सालमा कतारको होटलका म्यानेजर अर्जुन जागिर छाडेर घर फर्किनु भएको थियो । कतारबाट ल्याएको पैसाले एउटा ट्याक्टर किन्नुभयो । ट्«याक्टरमा ड्राइभरले रोजगारी मात्रै पाएनन् अर्जुनलाई नेपालमै केहि गर्ने बाटोको सुरुवात पनि भयो ।

आफू संघसंस्थामा काम गर्न थाल्नुभयो । ब्राइट फ्यूचर युवा क्लबको अध्यक्ष भएर सामाजिक क्षेत्रका काम थाल्नुभयो । उहाँ संलग्न संस्थाले थालेको सामाजिक अभियानमा अरुले पनि साथ दिन थाले ।

जसले चुनावका बेला पनि साथ दिए । चुनावमा टिकट दिने बेलामा तीनजनाको नाम चर्चामा आयो । तर अर्जुन उठे जित्ने गाउँले र पार्टीका कार्यकर्ताको बहुमत भयो । देश विदेश घुमेको छ देखेको छ यसले केही गर्छ भन्न थाले । त्यसैलाई आधार मानेर पार्टीले उहाँलाई नै टिकट दियो ।

यसरी सुरुभयो राजनीतिक यात्रा

२०४६ सालमा भानु माविमा कक्षा ८ पढ्दै गर्दा उहाँ नेपाल विद्यार्थी संघमा आवद्ध हुनुभयो । १७ वर्षका अर्जुनको राजनीति एउटा विद्यालयमा नेविसंघको कोषाध्यक्ष भएर सुरु भयो । तर २०४९ सालमा एसएलसी दिएपछि विद्यालय छाड्नुभयो । विद्यालयसँगै छुट्यो नेविसंघको पद पनि ।

ठूलो वुवाको छोरा इन्डियन आर्मि थिए । आफू पनि लाहुरे हुन पाइन्छकी भन्ने आशले अर्जुन पनि भारत जानुभयो । २०५१ सालमा लाहुरे हुने आशमा भारत हिँडेका अर्जुन दुई वर्षपछि निराश भएर फर्किनु पर्‍यो । भर्ती लाग्न सक्नु भएन । अनि रोजगारिका लागि कतारको बाटो समात्नुभयो ।

यस्तो भयो १५ वर्षे कतार बसाई

२०५३ सालको मंसिरमा अर्जुन होटलको काममा कतार पुग्नु भएको थियो । कतार बसाईको सुरुवात होटलका भाँडा माझ्ने कामबाट भयो । केही महिना भाँडा माझ्दा उहाँले अरु काम पनि जान्न थाल्नुभयो । तलव २० हजार रुपैयाँ (७ सय रियाल) थियो । कूकको काम जानेपछि काम फेरियो भने तलब पनि बढ्यो । कहिलेकहिँ १८ घण्टा काम गर्ने अर्जुन थोरै भनेको १२ घण्ट खट्नु पथ्र्यो ।

गाउँका अरुपनि अर्जुनको काम र कमाई सुनेपछि जान रहर गर्न थाले । अर्जुनले आफन्त पनि त्यो कम्पनीमा लानु भएको थियो । विदेशबाट छुट्टिमा घर फर्किएका अर्जुनले २०५७ सालमा तनहुँकै भलायोटारकी उत्तरा केसीसँग विवाह गर्नुभयो । अहिले तीन सन्तान छन् । २०६८ सालमा घर फर्किने बेला अर्जुन होटलको म्यानेजर हुनुहुन्थ्यो भने तलव दुई लाख रुपैयाँ भन्दा बढी थियो । तर अर्जुनलाई आफ्नै देशमा केही गर्न मन थियो । पैसा कमाएपनि लामो समयको विदेश बसाई पट्यार लाग्न थालेको थियो ।

यस्तो थियो विदेश जाने बाध्यता

तीनभाइ दाजुभाइ मध्ये जेठा दाई अपांगता भएका थिए । हातका औंला नभएका कारण उहाँलाई काम गर्न समस्या थियो । आमाको नाकको फुली बाहेकका सबै गहना बन्दगी राखेर ऋण लिइएको थियो ।

गरिब परिवारका माइलो सन्तान अर्जुन नै परिवारको तत्काल केही गर्नु परे उहाँ नै हुनुहुन्थ्यो । गाउँलेले हेर्थे बरु आफन्तले खासै सहयोग गर्दैनथे । ऋणमा ऋण थपेर अर्जुन विदेश जानु भएको थियो ।

विदेश जाने सबैले कमाउँछन् भन्ने निश्चित हुँदैन । तर अर्जुनले कमाउनुभयो । परिवारलाई लागेको सबै ऋण तिर्नुभयो । जग्गा जमिन जोडिसकेपछि हाकिम चोकमा दाइको लागि एउटा पसल खोल्नुभयो । खड्का फ्यान्सि पसल अहिले अपांगता भएका दाइले चलाउनुहुन्छ । उहाँलाई पनि भाइ अर्जुनकै कारण जीवन यापनमा सहज भएको छ ।

अबको योजना

चुनावका दौरान अर्जुनले खासै ठूला बाचा गर्नु भएको छैन । शिक्षालाई गुणस्तरीय बनाउने, बाटो पुल पुलेसाहरु बनाउने, बिजुली विस्तार गर्ने, भूकम्प पीडितलाई सहयोग गर्ने छुटेकालाई समेट्ने ।

शान्तीपूर्ण समाजको निर्माण गर्ने, खानेपानी, स्वास्थ्यचौकी सुविधासम्पन्न बनाउने योजना सुनाउनु भएको थियो ।

यीनै योजनाका कारण अर्जुनले चुनाव जित्नुभयो । चुनाव जितेपछि काम गर्न सक्छु भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । अबको योजना सुनाउनुभयो, ‘सबै दलका प्रतिनिधिसँग सल्लाह गरेर अगाडि बढ्छु, अग्रजलाई राख्छु र योजनाको प्राथमिकता छुट्याउँछु, पक्षपात नगरी अब देशकै लागि काम गर्छु ।’
source:sajhapage.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rDmxJ5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top