Photo of Milford Sound in New Zealand

नवलपरासी — विवाह लगनको अघिल्लो दिनबाट बेपत्ता भनिएका दुलाह भारतको विभिन्न सहरमा घुम्दै गरेको अवस्थामा भेटिएको छ । गत माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोटका बालकृष्ण खरेल बिहेको अघिल्लो राति १२ बजेदेखि घरबाट बेपत्ता भएका थिए ।
घर नजिकैकी युवतीसँग विहेको टुंगो लागेका खरेल जन्ती हिड्नुभन्दा १२ घण्टाअघिबाट बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि सिंगो गाउँ नै दुलाह खोज्ने तनावमा थियो । मोबाइल अफ गरिएको र घरीघरी फेसबुक चलेको आधारमा उनको खोजी भइरहेको थियो ।

फेसबुक चलेको आधारमा प्रहरीले उनको लोकेसन भारतको दिल्ली र हैदरावाद आसपास देखेको थियो । बेहुलाको अपहरण भएको आशंकामा प्रहरी प्रधान कार्यालयको (सीआईबी) केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली बेहुलाका दुलाह खोज्न दिल्ली पुगेको थियो । दिल्लीबाट गोरखपुरमा उनको लोकेसन देखिएपछि पछ्याउँदै गएको टोलीले दुलाह गोरखपुरको रेल्वे स्टेसननजिक सुन्दर गेस्ट हाउसमा माघ २४ गतेदेखि २८ गतेसम्म बसेको प्रमाण भेटिएको छ । होटलमा उनले दिएको परिचयपत्र र सीसीटीभीमा देखिएको फुटेजका आधारमा उनी त्यो होटलमा एक्लै बसेको देखिन्छ । प्रहरीले उनी बसेको होटल पत्ता लगाउनुभन्दा १२ घण्टा अगावै होटल छोडेर हिँडेको भेटेको हो । उनले होटलमा काम गर्नेहरुसँग आफूले विवाह छोडेर हिँडेको र अब दिल्लीतिर घुम्न जाने बताउने गरेका थिए । ती सबै प्रमाणका आधारमा उनी अपहरणमा नपरेको र आफैं हिँडेको पुष्टि भएको भन्दै नखोज्ने निधो गरेको छ ।

अपहरणमा परेको आशंकाका आधारमा प्रहरीले दुलाहका माइला दाइ गुरुप्रसाद खरेललाई सँगै लिएर भाइको खोजीमा हिँडेको थियो । उनी बेपत्ता भएपछि तनावमा रहेका घरपरिवार र केटीतर्फका आफन्तले उनलाई कसैले अपहरण गरेको हुन सक्ने भन्दै प्रशासन घेराउ र प्रहरीलाई खोजी गरिदिन दबाब दिँदै आएका थिए । दुलाह र दुलहीपक्षका घरमा विवाहको सबै तयारी पूरा भएको थियो । दुलही पक्षकाले बिहेको अघिल्लो दिन नै ११ लाख मूल्यको दाइजो केटाको घरमा लगेर सजाईदिएका थिए । दुवैतर्फ परपाहुना आउने बधाई दिनेक्रम बाक्लिँदै थियो । बिहान विस्तरामा बेहुला नदेखेपछि कतै निस्केको लख काटेकाहरु दिनभरि बेहुला नआएपछि छट्पटिएका थिए । त्यसपछि उनको खोजीमा सिंगो गाउनै लागेको थियो । कसैले हत्या गरेको होकि भन्ने आंशकामा दुवै पक्षकाले जंगल-जंगल चाहारेका थिए ।

यस्तो थियो कहानी
विगत नौ वर्षसम्म स्पेनलगायत देशमा बस्दै आएका बालकृष्ण गत मंसिरमा बिहेका लागि घर आएका थिए । गत माघ दोस्रो साता गाउँकै छिमेकी एक केटीसँग उनको बिहेको टुंगो लागेको थियो । दुबै पक्षका बसेर माघ २२ गते बिहे गर्ने लगन तोकेका थिए । ‘विवाहको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, १२ बजेपछि हामी सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएनन् । कतै निस्केका होलान् आइहाल्छन भनेर सबै तयारी गर्‍यौं, जन्तीहरु आउने क्रम सुरु भयो तर भाइ आएनन्’ बेहुलाका दाजु गणेश खरेलले भने, ‘त्यसपछि सबै आत्तिएर खोज्न थाल्यौ, अहिले बुझ्दै जाँदा त भारतमा घुमेको घुम्यै छ ।’ जिउँदो रहेको र अपहरणमा नपरेको पुष्टि भएपछि खोज्न छोडिएको उनले बताए ।

प्रहरीका अनुसार माघ २१ गते राति ११:३७ देखि ११:५७ सम्म लगातार बेहुलीको मोबाइलमा फोन गरेको देखिन्छ । त्यसबाहेक उनको नम्बर अफ गरिएको छ । फेसबुक सक्रिय देखिएपछि परिवारले विभिन्न प्रश्न सोध्दा उत्तर आउँदैन्थ्यो । एकैपटक अघिल्लो बिहीबार राति ११ बजेर ३९ मिनेट जाँदा उनको फेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएपछि परिवारजनहरु थप आतंकित र त्रसित भएका थिए । त्यसको अघिल्लो दिन ११:३९ बजे उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा बोलेर बालकृष्ण नही है भन्ने आवाज आएको र त्यसपछि फोन राखेको परिवारजनले बताएका थिए ।

परिवारमा ३ दाजुभाइमध्ये बालकृष्ट कान्छा हुन् । कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उनी ९ वर्ष अघि विदेसिएका हुन् । पछिल्लो पटक स्पेनको होटलमा काम गर्दै रहेका बालकृष्ण ९ वर्षपछि पहिलो पटक विवाह गर्न भन्दै घर आएका हुन् ।

गाउँलेहरुले केटीपक्षले बिहेको तयारीमा गरेको सबै खर्च केटापक्षले तिर्नुपर्ने र केटालाई जेल हाल्नु पर्ने माग गरेका छन् । पूर्वी नवलपरासीका एसपी दीपेन्द्र जिसीले केटो जिउँदो र भारतमा मोज गर्दै हिँडेको प्रमाण भेटिएपछि उस्को स्पेन जाउआउ गर्ने पासपोर्ट नियन्त्रणमा लिइएको जानकारी दिए । ‘आएपछि कानुनअनुसार कारबाही हुन्छ’ एसपी जिसीले भने झुक्याएको र ढाँटेको आधारमा उनिविरुद्ध मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले खोजतलास सुरु गरेको समाचार कान्तिपुरमा छापिएको थाहा पाएपछि उस्ले आफ्नो दाजुलाई फोन गरेर पासपोर्ट दिल्ली पठाइदिन आग्रह गरेका थिए । उस्ले गत मंगलबार बिहे गर्ने निधो भएकी केटीलाई पठाइदिनु भन्दै आफ्नो एक साथीलाई म्यासेन्जरमा खबर पठाएको समेत प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । kantipurdaily

The post बिहेको अघिल्लो दिनदेखि बेपत्ता दुलाह भारतमा घुम्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EMGZh2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top