Photo of Milford Sound in New Zealand

चीनले हतियार ओसारेको क्षेत्र डोकलामबाट नजिकै पर्छ –

चिनियाँ सेनाको एउटा समूह १०औँ हजार टन सैन्य हतियारसहित तिब्बती क्षेत्रमा प्रवेश गरेको छ । भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ।

रणनीतिक क्षेत्रमा हतियार
सेनाको वेस्टर्न थिएटर कमान्डले उत्तरी तिब्बतमा पर्ने कुनलुन पहाडतर्फ ठूलो परिमाणमा हतियार ओसारेको सो सञ्चार माध्यमले जनाएको छ । वेस्र्टन थिएटर कमान्डले सिन्जियाङ र तिब्बतको अशान्त क्षेत्र र भारतसँगको सीमा डिल गर्छ । दुई साताअघि ती हतियार सडक र रेलमार्ग हुँदै सो क्षेत्रमा ओसारिएको जनाइएको छ । हतियार ल्याइएको क्षेत्र चीनका लागि रणनीतिक महत्वको क्षेत्र बताइन्छ । पछिल्ला साता चीनबाट प्रकाशित हुने विभिन्न सञ्चार माध्यहरूले भारतलाई बारम्बार चेतावनी दिँदै आएका छन् । भारतीय सेना सीमाबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले दिँदै आएका छन् । तर, यी दाबीबारे चीन सरकारले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

विशाल सैन्य अभ्यास
एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा विशाल सैन्य अभ्यास गरेको थियो । सो अभ्यास पछिल्लो वर्षयताकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चार माध्यहरूले जनाएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र डोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र डोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

सीमा सुरक्षामा चीन चनाखो
दुई साताअघि तिब्बत लगिएका दशौँ हजार टन सैन्य उपकरण सोही अभ्यासका लागि हो वा अन्य कुनै प्रयोजनका लागि हो भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । ‘हतियारको मात्रा र सेनाको संख्या मूल्यांकन गर्दा चीन आफ्नो सीमा रक्षाका लागि कति चनाखो छ भन्ने प्रष्ट हुन्छ,’ सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका विज्ञ वाङ देहुअ बताउँछन् । ‘तिब्बती क्षेत्रलाई अत्याधुनिक हतियारले सशक्त बनाइएको छ,’ उनी भन्छन्।

भारतको निगरानी
यसैबीच, भारतीय सेनाको एउटा समूहले सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्ना गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने सेनाका अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चुलियो विवाद
चिनियाँ सेनाले डोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाब चुलिएको छ । चीनले डोकलाममा खटिएका सेनालाई पछाडि हट्न बारम्बार चेतावनी दिएको छ भने सुरक्षाको विषय देखाउँदै भारतले सो क्षेत्रबाट पछि नहट्ने संकेत गरेको छ । चीनले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । सडक निर्माणले सिक्किममा सुरक्षा खतरा बढेको भारतले दाबी गरेको छ । सडक निर्माणले गम्भीर अर्थ राख्ने पनि नयाँदिल्लीले बताउँदै आएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ueqhRy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top