Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन ४ – हाँस्यकलाकार कुमार कट्टेल उर्फ जिग्री आज २९औँ जन्मदिन मनाउँदैछन् । २०४५ साल साउन ४ गते झापामा जन्मेका कुमार डाक्टर बन्ने सपना बोकेर काठमाण्डौ छिरेका थिए । तर काठमाडौंको शहरले उनलाई अर्कै बाटो देखाइदियो जुन बाटोमा उनी अहिले छन् ।
कुमारका सहोदर दाइभाउजू (सीताराम कट्टेल र कुञ्जना घिमिरे) कलाकारितामा भए पनि उनी भने परिवारका कारण कलाकारितामा प्रवेश गरेका होईनन् । धेरैले उनलाई दाइभाउजूका कारण सहजै कलाकारितामा आयो भन्ने गरेका छन् । तर यो कुरा उनी स्वीकार्दैनन् । उनी यस क्षेत्रमा आफ्नै कारण आए र आफै संघर्ष गरे । अहिले ‘जिग्री’का रुपमा लोकप्रिय बनेका कुमारको कलाकारिता प्रवेश एउटा संयोग हो भन्दा फरक नपर्ला ।

आज हामी उनको जन्मदिन पारेर उनी कसरी कलाकारितामा आइपुगे ? जिग्री पात्र कसरी जन्मियो ? त्यस बारेमा एक सामाग्री प्रस्तुत गर्दैछौँ ।
कसरी जन्मियो जिग्री ?

कुमारले एसएलसीमा विशिष्ट श्रेणी ल्याएपछि विज्ञान विषय अध्ययन गर्न थाले । बानेश्वरको कोलम्बस कलेजमा विज्ञान पढ्ने क्रममा उनी अचानक जन्डिसबाट पीडित भए । जण्डिसले उनलाई कलेज नै जान नसक्ने बनायो । जण्डिस कुमारको खानदानी रोग हो । विरामी भएका कारण घरमा बसेका जिग्रीले दाइ सीताराम कट्टेल र अर्का हाँस्यकलाकार केदार घिमिरेबाट काम सिक्ने मौका पाए । त्यसबखत ‘मेरी बास्सै’ टेलिश्रृङखला निकै लोकप्रिय थियो ।
डाक्टर बन्ने लक्ष्यका साथ विज्ञान पढ्न थालेका जिग्रीले दाई सीताराम कट्टेल र केदार घिमिरे उर्फ माग्ने बुढाले मेरी बास्सैको कथा बनाएको हेर्ने मौका पाए । घरमा बस्दा कुमार पनि मेरी बास्सैको कथा तयार पार्दा दाइ सीताराम र केदार घिमिरेसँग छलफलमा मिसिए ।

मेरी बास्सैको कथा तयार पार्दा जिग्रीले दिएको चासो, उनले त्यस कथाका लागि निकालेका आइडियाहरु देखेर केदार घिमिरे र सीतारामले उनलाई पनि काम दिन थाले । त्यसपछि कुमारले कथादेखि अवधारणसम्म तयार पार्न थाले । काम गर्ने क्रममा कुमार मेरी बास्सैको कथामा निस्केका नयाँ–नयाँ पात्रहरुको नक्कल गरेर बोल्थे । उनको यो कुरा केदार घिमिरेले ध्यान दिएका थिए । यही कारण केदारले कुमारलाई अभिनयमा आउन सुझाव दिए । केदार घिमिरेकै प्रेरणाले कुमार कट्टेल एक हाँस्यकलाकार बन्न पुगेका हुन् । यो कुरा कुमार पनि स्वीकार गर्छन् ।

दाइभाउजू र केदार घिमिरेसँग मेरी बास्सैको कथा लेखनको क्रममा एक दिन एउटा पात्रको उत्पत्ती भयो जो बेरोजगार र अर्ध शहरिया हुलियाको, जतिबेला पनि उट्पट्याङ गरिरहने खालको थियो । सबैले त्यो चरित्रलाई पूर्ण बनाउनको लागि आ–आफ्ना आइडियाहरु अघि सारे । कुमारले पनि त्यसको आवाज निकाले र आवाज अनुसारको भेष बनाए । सबैलाई यो चरित्र मन पर्‍यो र यसको नाम राखियो जिग्री । यसरी अहिलेको चर्चित पात्र जिग्रीको जन्म भएको थियो ।
मेरी बास्सै पछि भद्रगोल

धेरैको मेहनतले जन्मिएको जिग्रीले पहिले मेरी बास्सैमा काम गर्ने मौका पायो । मेरी बास्सैमा जिग्रीलाई दर्शकले खुबै रुचाए । देशदेखि विदेशसम्म जिग्री हिट भयो । जिग्री हिट भएकै समयमा कुमार कट्टेल बेलायत गए । बेलायतमा पनि उनलाई धेरैले जिग्रीको रुपमा माया दिए । त्यो देखेर जिग्रीलाई जीवनकै ठूलो खुशी मिलेको महसुस हुन थाल्यो । ​
झण्डै एक वर्षपछि उनी बेलायतबाट नेपाल फर्किए र कलाकारितालाई निरन्तरता दिने निर्णय लिए । नेपाल आएका कुमारलाई दाई सीतारामले आफैले केही गर्न सुझाव दिएपछि दाईको सुझाव अनुसार कुमारले आफ्नै अफिस खोले र नयाँ सिरियल बनाउन थाले । ‘मजाक छ यार’ नामको सिरियल बनाईसकेपछि कुमारले टेलिकास्ट गर्नको लागि निकै पापड पेल्नु पर्‍यो ।

उनी नेपाल टेलिभिजनमा धाए । मिडिया हबको अफिस पुगे तर कसैले पनि उनको ‘सिरियल मजाक छ यार’लाई टेलिकास्ट गर्न मानेनन् । यही क्रममा एक दिन कुमारको भेट अर्का कलाकार अर्जुन घिमिरे उर्फ पाँडेसँग भयो । कुमार र अर्जुनको भेट पत्रकार विदुर खतिवडाले गराइदिएका थिए । त्यसबखत अर्जुन नेपाल टेलिभिजन प्लसको सिस्नो पानी झ्याम्मैमा काम गर्थे ।

भेटपछि दुबैले एकअर्काको आवश्यकता ठानेर सहकार्य गर्ने निर्णय लिए । कुमारले पनि ‘सिस्नो पानी झ्याम्मै’का केही भागहरुमा काम गर्ने मौका पाए । तर कारणवस सिस्नो पानी झ्याम्मै बन्द हुन पुग्यो । यो सिरियल बन्द भएपछि बल्ल कुमार र अर्जुन मिलेर भद्रगोल जन्माएका थिए ।

सुरुमा केही भागहरु परीक्षण प्रसारणका रुपमा टेलिकास्ट हुने अवसर पाएको भद्रगोल दर्शकको मायाका कारण निरन्तर टेलिकास्ट हुन पुग्यो । भद्रगोल अहिले नेपालीहरुमाझ निकै लोकप्रिय बनेको छ । विशेष गरी अर्जुन घिमिरे उर्फ पाँडे, कुमार कट्टेल उर्फ जिग्री लोकप्रिय बनेका छन् ।

उज्यालो र forseenetwork.com को सहकार्य

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uBgOVg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top