Photo of Milford Sound in New Zealand

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), २० असार । उपमेयरको उम्मेदवारमध्ये सायद उनी मुलुककै कान्छी उम्मेदवार हुन् । उमेर उनी भर्खर २३ वर्ष ११ महिना पुगेकी छन् । कपिलवस्तुको शिवराज नगरपालिकाबाट उम्मेदवारी पाएकी उनी हुन् शिवकुमारी चौधरी (थारु) । शिवराज नगरमा नेकपा एमालेबाट उपमेयरको टिकट पाएसँगै सामाजिक संजाल र संचारमाध्यममा राम्रै चर्चा पाएकी शिवकुमारी चर्चालाई सार्थकतामा परिणत गरेर देखाइ दिइन् ।

टिकट पाएसँगै पहिलो पटक औपचारिक समारोहमा सबैको मन छुने भाषणले उनी एकाएक चर्चामा आएकी थिइन् । अर्कोतर्फ उनको परम्परागत जातीय पहिरनले पनि उनी आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् । जसले गर्दा उनी सामाजिक संजाल र संचार माध्यममा रन्जु दर्शनाको नामले समेत चर्चा पाइन् । उनलाई कतिपयले प्रचारका लागि एमालेले उनलाई रन्जु बनाएको आरोप लगाए भने कतिपयले उनको बोल्ने क्षमता र आत्मविश्वासलाई सम्मान गर्दै रन्जुको नाम दिएको प्रशंसा गरे । उनले सामाजिक संजालमा करिब २ महिनादेखि राम्रो स्थान पाएकी थिइन् । एमालेले मेयरको मत प्राप्त गर्न उनलाई मोहरा बनाएको भनेर विपक्षीले प्रशस्त भम्र नछरेको पनि होइन । तर अहिले आएर यो गलत सावित भयो । उनी निकटम प्रतिद्वन्दीभन्दा दोब्बर मतले शिवराजको उपमेयर बनिन् ।

कूल सदर मत २४ हजार ६सय १८ मध्ये उनले ५हजार ९सय ६२ मत प्राप्त गरिन् । प्रतिद्वन्दी संघीय समाजबादी फोरम नेपालकी सुमन यादवलाई २हजार ९सय ३३ मतले पछाडि पार्दै उनी जीत हासिल गरिन् । उनको प्रतिद्वन्दी सुमन यादवले भने ३हजार २९ मत पाएकी थिइन् । शिवकुमारीको जीतले यतिबेला थारु समुदायमा मात्र होइन नगरबासीमा खुशियाली छाएको छ । उनको जीतले जिल्लामा मात्र नभई देश विदेशमा समेत चर्चा पाएको छ ।

जिल्लाको शिवराज नगरपालिका १, शिवपुर घर भएकी शिवकुमारीको जन्म २०५०।४।९ गते भएको थियो । बुवा भग्गु थारु र आमा बउँरी थारुको कोखबाट उनी शिवराज नगरपालिका १, (साविक शिवपुर ७), चैनपुरमा जन्मेकी हुन् । उनी मीठो बोली, हँसिलो अनुहार, निकै मिजासिलो र कसैको आँखामा नबिझाउने स्वभावकी छन् ।

शिक्षण पेशा छाडेर एमालेबाट उनी उपमेयरको उम्मेदवार बनेकी थिइन् । गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा निजीस्रोतमा उनी अध्यापन गराउँदै आएकी थिइन् । एमालेबाट शिवराज नगरमा उपमेयरको टिकट पाएलगत्तै परिवारकै सल्लाहमा उनले स्कूलमा राजीनामा दिइन् । ‘भाग्यमानीलाई भाग्यले पछ्याउँछ’ भनेझैं उनले भनेजस्तै उपलब्धी हासिल गरिन् । आफ्नो जीतलाई नगरबासीको जीत भएको बताउँदै उनले शिवराजलाई एक नमूना नगरको रुपमा अगाडि बढाउन पहल चाल्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

शिक्षा शास्त्र संकायबाट स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी सर्वप्रथम आफूले नगरभित्र शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् । आफू आदिबासी थारु समुदायकी एक नारी भएको बताउँदै उनले दलित, जनजाति, पिछडा वर्गका बालबालिकाहरु गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाबाट बन्चितीकरणमा परेको गुनासो गरिन् । उनले नगरभित्र मौलाएको भ्रष्टाचार, विभेद, लैंगिक हिंसा जस्ता समस्याको न्यूनीकरण गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा विशेष कदम चाल्ने बताइन् ।

सानै उमेरमा विवाह भएकी शिवकुमारीको अहिले ३ वर्षकी एक छोरी छिन् । उनको पति राजेन्द्र चौधरी भने वैदेशिक रोजगारीमा अहिले कतारमा छन् । छोरीले अहिले नजिकैको एक निजी स्कूलमा नर्सरी कक्षामा अध्ययनरत छिन् । उनी नगरको गरिमामय मेयर पदमा सफल हुनुमा आफ्नो श्रीमान् राजेन्द्र, ससुरा रामबहादुर, सासु मन्नी लगायत घरपरिवारलाई श्रेय दिन्छिन् ।

-दैनिक नेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2unQviL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top