Photo of Milford Sound in New Zealand

सिताराम अधिकारी

धादिङ, कात्तिक ११ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेँसीको बाङ्गेबाट शनिबार बिहान त्रिशुली नदीमा यात्रु बस खस्दा ३० जनाको ज्यान गएको छ । ज्यान जाने २० जनाको सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

सप्तरी राजविराजबाट छुटेको बसमा हेटौडा आएपछि अर्को बसको यात्रु पनि थपिएको थियो । ५५ जना यात्रु बोकेर हेटौडाबाट काठमाडौं गुडेको भनिएको बसको गति अत्याधिक भएको र सिटमा अडेर बस्नसमेत समस्या हुनेगरि गाडी हाकेर ल्याइएको दुर्घटनामा घाइते भएका भारत मधुबनीका मनोजकुमार ठाकुरले बताउनुभयो ।
‘चालकको सनकी चरित्र देखिएको हो । यात्रुहरु आफ्नो सिटमा बस्न सक्ने अवस्था नै थिएन । स्पीड धेरै थियो । हामी यता र उता ठोक्किरहेका थियौँ । तर गाडीका सहचालकलाई भन्दा पनि चालकले मानेका थिएनन् । हेटौंडामा आएपछि अर्को गाडीका यात्रुहरुसमेत राखेर ल्याइयो । यात्रुको संख्या त एकिन छैन । तर ५५ भन्दा बढी मानिस गाडीमा थिए । उनिहरु कोही बिचमा झरेका छैनन् । छठ सकेर कामका लागि हिँडेका मानिसहरु बसमा थिए । धेरै मानिसहरु एउटै परिवारका तीन चार जनासमेत रहेका छन् । मेरो श्रीमती ममतादेवीको मृत्यु भयो । छोरो मनिष ठाकुरको लास भेटिएको छैन । मेरो त परिवार नै सखाप भयो । अब म के गरुँ ? म घाइते भएको छु । गाडीबाट फुत्किएँ अनि त्रिशुलीको पानीमा पौडी खेलेर बाहिर निस्किएँ ।’

दुर्घटनापछि गाडी नदीमा हराएकोले गोताखरको रुपमा रहेका सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिमकेन्द्र कुरिनटारका वरिष्ट हवलदार विरेन्द्र कार्की, हवलदार नरेन्द्र सिंह र प्रहरी जवान दिल्ली भट्टराईले पानी भित्र भएको गाडीबाट लास निकालेका थिए । २१ लास निकालेपछि गोताखोरकै टोलीले बसलाई बाँधेर टुचिन लगाइएपछि निकालिएको थियो । शनिबार बेलुकासम्म गाडीलाई टुचिनको सहायताले आधामात्र पानीबाट निकालिएको छ ।

शनिबार शुरक्षा निकायका जनपथ प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राजमार्ग उद्धारकर्ता र रेडक्रस परिचालन गरेर गोताखोरको सहयोगमा उद्धार कार्य जारी रहेको छ । यसकिसिमका दुर्घटना कमी गराउन छिट्टै पहल गरिने प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले घटनास्थलबाट बताउनुभयो ।

दुर्घटनामा ज्यान जानेमा सप्तरी तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ६ की ३५ वर्षकी सिसिपी कुमारी झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षका रञ्जितकुमार झा, तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ का ६ वर्षका आदित्य यादव, बोदेबर्साइन गाउँपालिका वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेया निवासी २४ वर्षका रामान्द यादव, २५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी, गाडी सहचालक सप्तरी जिल्ला देउरीमरुवा निवासी नरेश मुखिया, राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा, सिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो ।

यसैगरी सप्तरी जिल्ला कृष्णसबरन गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका सुधिरा यादव, कृष्णसबरन गाउँपालिकाका ५ वर्षकी सदिक्षा यादव, सप्तरी बसेज निवासी ३० वर्षका सुरेन्द्र चौधरी, बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ की अस्की कुमारी यादव, राजविराज नपा वडा नम्बर १३ का ऋषि आनन्ददेव, सिरहा नगरपालिकाका ३० वर्षका उदय मंडल, सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ९ का प्रमोद इसार, राजविराज नगरपालिका वडा नम्बर १४ का २० वर्षका आदित्य झाको सनाखत भएको छ ।

दुर्घटनापछि शनिबार बेलुकासम्म उद्दारको काम भइरहेको छ । दुर्घटनाका मृतकहरुको संख्या ३० पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएको थियो । घाइते मध्ये सप्तरीको राजविराज-६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उज्यालो

The post दुर्घटनापछि पौडिएर निस्किएका एक घाइतेको बयान – चालकको सनकले खसेको हो बस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yTuUBk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top