Photo of Milford Sound in New Zealand

उदयपुर र गुल्मीमा १८ को मृत्यु

उदयपुर/तम्घास : धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी शनिबार बिहान भएको बस दुर्घटनाको घाउमा खाटा नबस्दै सोमबार उदयपुर र गुल्मीमा भएका डरलाग्दा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जिप सोमबार दिउँसो भीरबाट खस्दा नौ जनाको र बुटवल-तम्घास सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका-४, वीरवासस्थित बन्द्रखुट्टामा यात्रुवाहक माइक्रोबस भीरबाट खस्दा नौ जनाको ज्यान गएको हो ।

उदयपुरको दुर्घटनामा परेका नौमध्ये आठ जनाको घटनास्थलमै र चालक कटारी नगरपालिका-२ का २८ वर्षीय हरि कार्कीको उपचारक्रममा कटारी अस्पतालमा मृत्यु भएको हो । सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी-बेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका-११, लेखानी ठाँटीमा ना.१ज ३४०४ नम्बरको जिप दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा नेपाली सेनाको अमरदल गण सोलुखुम्बुमा सिपाही पदमा कार्यरत सप्तरी वैखा-६ का रुपेन्द्र वुर्जा, उदयपुरको रामपुरठोक्सिलाका सन्देश किराँती, ओखलढुंगा शेर्मा-३ का ईश्वरप्रसाद भट्टराई, सप्तरी कविलासा-३ का गंगाराम साह, सप्तरी वयरगाडा-४ का राधेश्याम महतो र ठेगाना नखुलेका सविता राई छन् । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

मृतकको उमेर र केहीको जिल्ला खुले पनि अन्य ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएकी केसुंगा-७, ओखलढुंगाकी अञ्जना राईको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ । चालकसहित ११ जना सवार उक्त जिपबाट आठ वर्षीय बालकलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख एसपी भट्टले जानकारी दिए । उकालोमा तान्न नसकेर पछाडि सर्दा जिप भीरबाट खसेको प्रहरीको अनुमान छ । दुर्घटनास्थल कटारी बजारबाट ३५ किलोमिटर उत्तरी भेगको कच्ची सडकमा पर्छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीका डीएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले बताए ।

यात्राको हिसाबले उदयपुरको सबैभन्दा असुरक्षित मानिने उक्त सडकमा बर्सेनि सवारी दुर्घटना हुँदा दर्जन बढीको मृत्यु हुने गरेको संघका उपमहासचिव कार्कीको भनाइ छ । कच्ची सडक, त्यसमा पनि क्षमताभन्दा बढी यात्रु, ओभर स्पिड र सडकको नाजुक अवस्थाका कारण बर्सेनि दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

त्यसैगरी, गुल्मीमा माइक्रोबस भीरबाट खस्दा मृत्यु भएका नौ जनामध्ये घटनास्थलमै सात र उपचारक्रममा मिसन अस्पताल पाल्पामा दुई जनाको ज्यान गएको हो । विपरीत दिशाबाट आउँदै गरेको नेपाल टेलिकमले प्रयोग गर्ने लु.१च ४५२२ नम्बरको बोलेरो जिपमा बा.४ख ५५०१ नम्बरको यात्रुवाहक माइक्रोबस ठोक्किएको प्रहरीले जनाएको छ । माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल भीरमा खसेको छ । बोलेरोलाई साइड दिँदा माइक्रोबस भीरबाट खसेको प्रहरीले जनाएको छ ।

बुटवल-तम्घास सडक कालोपत्रे गरिए पनि धेरै ठाउँमा साँघुरो हुँदा बर्सेनि सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । सडकका अधिकांश ठाउँ साइड दिन नपुग्ने खालका छन् । साँघरो र घुम्ती सडक बर्सेनि दुर्घटनाको कारक बन्ने गरेको यातायात व्यवसायी बताउँछन् ।

दुर्घटनामा परी छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे, गुल्मीको रेसुंगा नगरपालिका-१० सिमिचौरका गाडीचालक अन्दाजी ३२ वर्षीय भीमबहादुर घर्तीमगर, मालिका गाउँपालिका-६ का ३० वर्षीय लालबहादुर मुखिया, इस्मा गाउँपालिका-१, हस्तीचौरकी २७ वर्षीया यमुना पन्थी (मरासिनी), मुसीकोट नगरपालिका-३, बडागाउँकी ५० वर्षीया मानकुमारी थापा, इस्मा गाउँपालिका-६ का २६ वर्षीय दिलबहादुर कुमाल र वडा नम्बर २ पालुखाकी ५० वर्षीया रुवी नेपाली, गुल्मी वेलफेयरमा कार्यरत केवी गुरुङ र रुरु गाउँपालिका-६ रिमुवाकी सुमित्रा दर्लामीको ज्यान गएको सशस्त्र प्रहरी बल गुल्मीका नायब उपरीक्षक प्रकाश सिग्देलले जानकारी दिए । माइक्रोमा १७ जना सवार थिए ।

गाउँकै सरस्वती माविका शिक्षक पाण्डे जीवनसंगिनी अमृताको स्वास्थ्योपचारका लागि बुटवल पुगेका उनी सोमबार घर फर्कंदै थिए । अस्पतालले दुई दिनभित्र पुनः जाँच गर्न आउनू भनेपछि उनी श्रीमतीलाई बुटवलस्थित आफन्तकोमा छाडेर घर फर्किएका हुन् ।

घाइते हुनेमा इस्मा गाउँपालिका-१, हस्तीचौरकी चार वर्षीया सिर्जना मरासिनी, सोही ठाउँकै दुई वर्षीया सृष्टि मरासिनी, रुरु गाउँपालिका-१ का १९ वर्षीय माधव पोखरेल, मुसिकोट नगरपालिका-२ का २३ वर्षीय प्रकाश केसी, गुल्मी दरबार गाउँपालिका-४ का २२ वर्षीय गोकुल कार्की, मालिका गाउँपालिका-६ अर्जेका सुमन कार्की, मालारानी गाउँपालिका-१, अर्घाखाँचीका २९ वर्षीय विष्णुप्रसाद भुसाल र रेसुंगा नगरपालिका-१० की १० वर्षीया रविना दर्लामी रहेको सशस्त्र प्रहरी बल गुल्मीका डीएसपी प्रेमप्रकाश सिग्देलले जानकारी दिए । घाइतेमध्ये आठ जनाको लुम्बिनी मेडिकल कलेज बुटवल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । annapurnapost

The post ३१ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको घाउमा खाटा नबस्दै:फेरि गाडी भीरबाट खस्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hr6uHY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top