Photo of Milford Sound in New Zealand

काठमाडौं – यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ ।

शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । yarsagumba जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।

किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो ।

वैज्ञानिक रूपमा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतली (मथ)को फुलबाट बनेका लार्भा अर्थात् झुसिलकीरालाई जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु त्यान्द्रारूपी माइसेलियम (रेसारूपी कोष) मा परिणत भएर लार्भाको शरीरभरि फैलन थाल्छ ।

उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि लार्भा मर्छ । र, मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठजस्तो भाग (स्टक) पलाउँछ, जुन औसतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रंगको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लन थालेपछि पलाउने यस्ता डाँठ मानिसले संकलन गर्छन् । संकलन गर्दा कुटोले खनेर वा औँलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि, सरसफाइपश्चात् केही समय शीतलमा सुकाएर यसलाई बजारमा बेचिन्छ । संकलन नभई प्रकृतिमा छोडिएका यस्ता ढुसीका डाँठ छिप्पिएपछि बीजाणु लाग्छ ।

लाखौँको संख्यामा रहेका बीजाणु माटोमा झरेपछि सुषुप्त अवस्थामा बसिरहन्छ र स्वस्थ लार्भा भेट्टाएमा आक्रमण गरी नयाँ यार्सा बनाउँछ । बीजाणुको आक्रमणमा नपरेका झुसिलकीरा प्युपा हुँदै वयस्क पुतली बन्छन् । त्यसरी बनेको पुतलीले फेरि फुल पार्छ र आफ्नो जीवनचक्र सञ्चालन गर्छ । त्यस कारण यार्सा बन्नका लागि एकातिर ढुसीको बीजाणु चाहिन्छ भने वयस्क पुतलीको जीवनचक्र पनि सुचारु हुन आवश्यक हुन्छ । वैज्ञानिकहरूका अनुसार पूर्ण रूपमा यार्सा बन्न दुईदेखि ६ वर्षसम्म समय लाग्छ ।

यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ । तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ । नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।

सुनभन्दा महँगो

हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ । चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सरसामान किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ । गत वर्ष काठमाडौँमा यसको २० देखि ३० लाख रुपियाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ ।

चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ भने नेपालले दुईदेखि तीन प्रतिशतसम्म । त्यस कारण चीन यसको प्रमुख उत्पादक र बजार दुवै हो । विकिपिडियाका अनुसार सन् २००४ देखि २०१३ सम्ममा चीनमा यसको बजार मूल्य एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपालमा विगत १३ वर्षमा यसको बजार मूल्य २ हजार ८ सय प्रतिशतसम्म बढेको छ ।

चीनको आर्थिक उन्नतिसँगै बढिरहेका नवधनाढ्यबीच यार्सा महँगो फ्रेन्च स्याम्पेनजस्तै लोकप्रिय छ । उनीहरूले आफूसँग यार्सा हुनुलाई ‘स्ट्याटस सिम्बोल’ (प्रतिष्ठाको प्रतीक)का रूपमा लिने हुनाले महँगो मूल्य तिर्न हिचकिचाउँदैनन् । यार्सालाई ठूला सरकारी अधिकारीहरूसँग काम पट्याउन घूसको रूपमा प्रयोग गर्ने गरेका समाचार चिनियाँ अखबारमा आइरहेका हुन्छन् । नेपालबाट विदेश निकास हुने यार्सा चीनलगायत हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ । चिनियाँ मूलका नागरिक बसोवास गर्ने संसारका सबै जसो सहरमा यार्सा बिक्री–वितरण हुन्छ । हिजोआज इन्टरनेटमार्फत पनि ठूलो परिमाणमा यसको खरिद–बिक्री हुन्छ ।

यार्सा अर्थात हिमालयन भियाग्रा:

प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारे पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ । तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो । उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशतस् पश्चिमा सञ्चारमाध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि अकासिएको छ ।

परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिबद्र्धक टनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ ।

यार्साले साँच्चै यौनशक्ति बढाउँछ त रु यो आमजिज्ञासा हो । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । उक्त तत्त्वले पुरुषमा एन्ड्रोजिनलगायतका सेक्स हर्मोनको उत्पादन बढाउँछ । एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए । पछिल्लोपटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुवाएर परीक्षण गर्दा उनीहरूमा सेक्स हर्मोन, टेस्टस्टेरोन बढेको देखिएको थियो । अर्को अनुसन्धानले यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिबद्र्धक एटीपी उत्पादन बढाउने देखाएको छ ।

यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्रट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

के को लागि प्रयोग गरिन्छ

यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । खोकी, दम, क्षयरोग, लगायतका रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ ।
त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ । त्यसैले यो बहुमूल्य जडीबुटी बनेको छ । सन् २००१ सम्म यार्सागुम्बा व्यापारिक प्रयोजनमा नआए पनि अहिले भने यसको मूल्य प्रतिकिलो ३२ लाखसम्ममा किनबेच हुने गरेको छ ।

The post के हो विश्वमा निक्कै महंगो यार्सागुम्बा,के को लागि प्रयोग गरिन्छ ? यस्तो छ रामकहानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gJakeE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top