Photo of Milford Sound in New Zealand

२४ वर्षदेखि सँगै यात्रा गर्दैनन् एमालेका शीर्ष नेता

सिताराम बराल – एमाले–माओवादी केन्द्रद्वारा चितवनमा हुने स्व प्रकाश दाहालको श्रद्धाञ्जलीसभासँगै हुने चुनावी सभामा आज तीन पूर्व प्रधानमन्त्रीहरु सहभागी हुनेछन्– एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

माओवादी केन्द्रका अर्का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ पनि तीनजना पूर्व प्रधानमन्त्रीहरुको साथमा चितवन जानेछन्। एमाले–माओवादी केन्द्रका चारैजना शीर्ष नेताहरु यति एयरलाइन्सको उडानबाट आज भरतपुर विमानस्थल झर्नेछन्।

दिउसो १२ बजे भरतपुरको केन्द्रीय बसपार्कमा हुनेसभाका लागि एउटै एयरलाइन्सबाट उडेपनि उनीहरुले एउटै उडान भने प्रयोग गर्ने छैनन्। प्रचण्ड, नेपाल र बादल १० बजेको उडानबाट भरतपुरका लागि काठमाडौंबाट प्रस्थान गर्नेछन् भने ओली १०.५० को उडानबाट जानेछन्। नेपाल खबरमा सिताराम बरालले लेखेको समाचार छ

एउटै ठाउँ, एउटै कार्यक्रममा जाने भएपछि एउटै उडानबाट गएपनि हुने हो। कतिपयलाई ‘मुग्लिन–नारायणगढ सडक विस्तारका कारण हवाई यात्रा गर्नेहरुको संख्या बढेको छ, त्यसैले हवाई जहाजका टिकट अग्रिम बुकिङ भएकाले टिकट अभावका कारण वामगठबन्धनका शीर्ष नेताहरु फरक फरक जहाजबाट भरतपुर जान लागेका हुन्’ भन्ने पनि लाग्ला।

तर कारण यो होइन। उडानको अभावका कारण एमाले–माओवादी केन्द्रका नेताहरु छुट्टाछुट्टै जहाजबाट भरतपुर जान लागेका होइनन्। खासमा एमालेले २४ वर्षदेखि अभ्यास गर्दै आएको परम्पराको निरन्तरता हो यो, जसलाई पछ्याउँदै एमाले–माओवादी केन्द्रका नेताहरु फरक–फरक उडानबाट मंगलबार भरतपुर पुग्नेछन्।

यो अभ्यासको कारण हो, दासढुङ्गा दुर्घटना र त्यसमा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन। ३ जेठ २०५० मा भएको सो विवादास्पद गाडी दुर्घटना चितवनको दासढुङ्गामा भएको थियो। त्यो घटनापछि एमालेका दुई मुख्य नेता सवारीमा सँगै देखिन छाडे।

अध्यक्षका हैसियतमा पार्टीको शीर्ष नेता थिए, मनमोहन अधिकारी। तर, अध्यक्ष पद एमालेमा ‘सेरमोनियल’ जस्तै थियो। पार्टीको कार्यकारी अधिकार महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितमा थियो। मदन हुँदैनथे भने महासचिव आश्रित नै हुन्थे। किनभने भण्डारीपछिको बरियतामा उनै थिए।

कार्यकारी अधिकार सम्पन्न र बरियतामा पनि अगाडि रहेका भण्डारी र आश्रित दुवैजना एकै दुर्घटनामा परेपछि एमाले नेतृत्वले के महसुस गर्‍यो भने, ‘पार्टीका दुई मुख्य नेताहरुले सँगै एउटै सवारीमा प्रयोग गर्नु हुँदैन, कथं एउटालाई केही भइहाल्यो भने अर्काेले पार्टी नेतृत्व हाँक्नु पर्छ।’

त्यसपछि मनमोहन अधिकारी, माधव नेपाल, केपी ओलीजस्ता नेताहरु एउटै सवारीमा हिँड्न छाडे।

दासढुङ्गा दुर्घटनाबाहेक एमाले नेतृत्वलाई झस्काउने अर्काे घटना थियो, एमालेको नौ महिने सरकारका पालामा २९ साउन २०५१ मा बर्दियामा भएको हेलिकोप्टर दुर्घटना। नेपाली सेनाको पुमा हेलिकोप्टरमा प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री केपी ओली, उपमहासचिव बामदेव गौतम र तत्कालिन सभामुख रामविलाश यादव (राप्रपा) सवार थिए।

एमालेका तीन र सभामुख यादवसमेत सवार त्यो सैनिक हेलिकोप्टर २० मिटर माथिबाट जमिनमा बज्रिन पुगेको थियो। भाग्यबस सबैजना बाँचे। तर प्रधानमन्त्री अधिकारी चाहिँ झण्डै ६ महिना अस्पतालमा रहे। १२ भदौ २०५२ मा संसद पुनस्र्थापना गर्ने सर्वाेच्च अदालतको फैसलापछि कांग्रेस–राप्रपाले ल्याएको अविश्वास प्रस्तावको उनले अस्पतालबाटै सामना गरेका थिए।

‘दासढुङ्गा दुर्घटनापछि मुख्य नेताहरु एउटै गाडी वा जहाजमा चढ्न हुँदैन है भन्ने म नै हुँ, तर के के नमिलेर त्यो दिन प्रधानमन्त्री, गृहमन्त्री, सभामुख र म एउटै हेलिकोप्टर चढ्न पुग्यौैं’ गौतमले नेपालखबरसँग भने, ‘त्यसपछि पहिलो र दोस्रो बरियताका एमाले नेताहरुले एउटै सवारी प्रयोग गरेका छैनन्।’

एमाले प्रचार विभाग सचिव बिष्णु रिजाल, जो माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार पनि थिए, भन्छन्, ‘२०५९ मा एमालेको सातौं महाधिवेशन जनकपुरमा हुँदै थियो, महासचिव माधव नेपाल र नेता केपी ओलीको टिकट बुद्ध एयरको टिकट एउटै उडानमा परेछ। यो थाहा पाएपछि एकजनाले टिकट रद्द गराउनु भयो र अर्काे उडानबाट जनकपुर पुग्नुभयो।’

यस्ता अनेक घटना छन्, संयोगबस एउटै सवारीमा परे भने एमाले नेताहरुले आफ्नो यात्रा कार्यक्रम यसरी नै बदलेका छन्। दासढुङ्गा दुर्घटनापछि केही सचेत बनेका एमालेका मुख्य नेताहरु सो सैनिक हेलिकोप्टर दुर्घटनापछि यति ‘चेत बाबा काशी’ बनेका छन् कि, गाडी होस् वा जहाज– एउटै साधनबाट सँगै सवार गर्दैनन्।

सुरक्षा सम्बन्धी यो अभ्यास बिगतमा राजपरिवारले पनि गर्दै आएको थियो। राष्ट्राध्यक्षको रुपमा रहेका राजा र युवराजले कहिल्यै एउटै सवारी प्रयोग गर्दैनथे। यस्तै अभ्यास नेपालका सुरक्षा निकायहरुले पनि गर्दै आएका छन्। सुरक्षा निकाय प्रमुख र उपप्रमुखपनि एउटै सवारीमा देखिन्नन्।

भनिन्छ, सुरक्षाको चिन्ता घटना भइसकेपछि होइन, घटना हुनु अगाडि नै गर्नुपर्छ।

दासढुङ्गा/सैनिक हेलिकोप्टर दुर्घटनापछि यो भनाईको एमाले नेताहरुले जति पालना गरेका छन्, अन्यले चाहिँ त्यति पालना गरेको देखिन्न।

The post दासढुङ्गा सम्झेर ओली र प्रचण्ड-नेपाल छुट्टाछुट्टै जहाजमा भरतपुर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hJ3F4J
via IFTTT

0 comments:

Post a Comment

add

 
Top