Photo of Milford Sound in New Zealand

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् । अध्यात्म र योगामा रमाउँछन् । योगेश ढकालको रिपोर्टः

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् ।

०७१ चैतमा बैंककबाट फर्केपछि पारस बहिनी शीताष्मा (काका धीरेन्द्रकी छोरी)को घरमा बस्दै आएका छन् । पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका सदस्यसँग उनको भेटघाट कमै हुने गरेको थियो । तर, पछिल्लो एक वर्षयता बाबुआमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको छ ।

पारस गत १५ असोजमा पत्नी हिमानीको जन्मदिनको कार्यक्रममा सहभागी भए । पारिवार र नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाचेका पनि थिए । उनीहरूलाई सँगै नाच्न नजिकका नातेदारहरूले माहोल मिलाइदिएको जानकार स्रोत बताउँछ । दसैँ–तिहार बुवाआमासहित परिवारसँग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

अघिल्लो तिहारझँै यसपटक पनि बहिनी प्रेरणा सिंहबाट भाइटीका लगाए । अघिल्लो वर्षको भाइटीकाको तस्बिर सार्वजनिक गरेका पारसले यसपटक भने त्यसो गरेनन् । त्यसअघि गत चैतमा छोरा हृदयेन्द्रको जन्मदिनको कार्यक्रममा पनि परिवारका सदस्यसहित उनी सहभागी थिए ।

पारस–हिमानीबीच विगतको रुखो र तीतो सम्बन्ध मेटिँदैै गएको जानकारहरू बताउँछन् । सँगै नबसे पनि उनीहरूको सम्बन्धमा सुधार आउँदै छ । पारसले हिमानी ट्रस्टका लागि केही सहायतासमेत गर्दै आएका छन् ।

गत ६ असोजमा बाबु ज्ञानेन्द्र शाह र पत्नी हिमानी थाइल्यान्डबाट फर्केपछि पारसले परिवारका सदस्यसँग पहिलो सार्वजनिक भेट गरेका थिए । मुटुको समस्याले नर्भिक अस्पतालमा भर्ना भएका ज्ञानेन्द्र डिस्चार्ज हुने वेला पनि पारस हिमानीसँगै अस्पताल पुगेका थिए । त्यो घटना पारसको पारिवारिक सम्बन्धमा सुधार हुँदै छ भन्ने आधार पनि थियो ।

१३ पुसमा पूर्वराजा ज्ञानेन्द्र मध्यपश्चिम भ्रमणमा जान लागेको उनका निजी सचिव सागरराज तिमल्सिनाले बताए । पारस पनि उनीसँगै जाने हल्ला चलेको छ । पारिवारिक सम्बन्धमा केही सुधार भएकाले पारससँगै जान सक्ने हल्ला भएको हो । तर, अहिलेसम्म टुंगो भने नलागेको पारिवारिक स्रोत बताउँछ । खासमा ज्ञानेन्द्र नेपालगन्जमा सोल्टी होटेलको ब्रान्च उद्घाटन गर्न जान लागेको निकट स्रोत बताउँछ ।

सुटुक्क जान्छन् निर्मलनिवास
बैंककबाट फर्किएपछि सुरुका केही दिन पारस कुण्डलिनी निवासमा बसेका थिए । त्यसपछि बहिनी शीताष्माको घरमा बस्न थालेका हुन् । देखिनेगरी निर्मलनिवासमा खासै आवतजावत हुँदैनथ्यो ।

जानकारहरूका अनुसार पछिल्लो समय उनको निर्मल निवास आवतजावत पनि बढेको छ । तर, बस्ने गरी होइन । हिमानीसहित छोराछोरी भेट्न उनी निर्मलनिवास जान्छन् । उनीहरूको भेटबारे परिवारका सदस्यबाहेक अरूले सुइँकोसमेत पाउँदैनन् । स्रोतका अनुसार माता सविता सरुले पारस र हिमानीलाई सँगै बस्न नहुने सल्लाह दिएकी छिन् ।

शीताष्मा र पारसको परिवारका अन्य सदस्यको तुलनामा आत्मीय सम्बन्ध छ । बैंककको बसाइमा पारसका लागि खर्च जोहो गरी साथ दिने पनि शीताष्मा नै थिइन् । दाजु–बहिनीको प्रेमपूर्ण सम्बन्धकै कारण परिवारका अन्य सदस्यको भेटघाट पातलो हुँदा पनि पारस शीताष्माकै घरमा बस्दै आएका छन् ।

बैंककबाट फर्केपछि बहिनी प्रेरणा सिंहको घरमा बस्ने पारसको योजना थियो । त्यो सम्भव नभएपछि उनी कुण्डलिनी क्लब हुँदै शीताष्माको घर जीवनकुञ्जमा बसे । १२ वैशाख ०७२ मा भूकम्प आएका कारणले जीवनकुञ्जमा असर परेपछि शीताष्माको परिवार त्यहाँबाट सर्नुपर्ने भयो । विकास राणाको घर भाडामा लिएर शीताष्माका परिवार ललितपुरको सुनाकोठीमा बसेका थिए । पारसका साथी वेदनाथका अनुसार अहिले पनि पारस शीताष्माको घरमै बस्दै आएका छन् ।

अध्यात्म र योगमा रमाउँछन्
विगत एक वर्षदेखि पारसको स्वास्थ्य स्थिर छ । बैंककमा रहँदाभन्दा स्वास्थ्यमा सुधार भएकाले पारसले हरेक दिन योगा र ध्यानलाई निरन्तरता दिएका छन् । पारसका साथी प्रभञ्जन सिंहका अनुसार उनी बिहान ५ बजे उठिसक्छन् र योगा तथा ध्यान गर्छन् । कहिलेकाहीँ बुढानीलकण्ठ स्कुलमा फुटबल खेल्छन् भने कहिले गोकर्णमा गल्फ खेल्न पुग्छन् । तर, नियमित भने नजाने सिंहको भनाइ छ ।

पारस राजनीतिकभन्दा पनि आध्यात्मिक पुस्तकमा बढी रुचि राख्छन् र प्रभञ्जनबाट योगी व्यग्र वेदनाथ भएका सिंहसँग आध्यात्मिक बहसमा बढी केन्द्रित भएर छलफल गरिरहेका हुन्छन् । सोहीकारण पारस आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त–महन्तसँगको छलफल एवं अन्तक्र्रियामा जोड दिइरहेका छन् । मित्रहरूका अनुसार पारस अध्यात्म र हिन्दू धर्मदर्शनका मौलिक पक्षलाई विश्वभर विस्तार गर्नुपर्छ र त्यसको संरक्षणमा जोड दिनुपर्छ भन्नेमा बढी चासो राख्छन् ।

नियमित स्वास्थ्य जाँच
पारस नियमति स्वास्थ्य जाँच गर्छन् । शीताष्माको निवासबाटै फलोअपका लागि अस्पताल जाने गरेका छन् । स्वास्थ्य सुधार भएकाले गतवर्ष खप्तड भ्रमणमा गएका उनी पछिल्ला दिनमा भने लामो यात्रामा निस्केका छैनन् ।

नर्भिक अस्पतालमा उनले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । पारसका मित्रहरूको भनाइमा उनी कहिलेकाहीँ हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पुग्छन् । ०७२ वैशाख पहिलो साता गम्भीर बिरामी भएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल पु¥याइएको थियो । त्यसपछि उनी निरन्तर चेकअपमा छन् ।

पारसको स्वास्थ्यमा सुधारभन्दा पनि स्थिरता भएकाले उनी खास मोटाउन पनि सकेका छैनन् । कमजोर स्वास्थ्यका कारण उनी पातलो, अग्लो र ख्याउटे देखिन्छन् । बैंककबाट फर्किंदाको वेलाभन्दा भने केही मोटाएका छन् । स्रोतका अनुसार पारसले अहिले लामो कपाल ‘स्ट्रेट’ गरेका छन् । लुक्स चेन्ज भएको छ ।

रक्सी पिउन कम गरे
आध्यात्मिकताको साथै योगा र ध्यानमा लागेका पारस पहिलाजस्तो रक्सी पिउँदैनन् । तर, पूरै छाडेका पनि छैनन् । पिएर झै–झगडा गर्ने काम भने पारसबाट हुन छाडेको छ । योग र प्राणायाम गर्ने बानी विकास गरेका छन् ।

खानपिनमा सुधार गरेका छन् । ‘खानपानबाट स्वास्थ्य सुधारमा ध्यान दिएका पारस सन्तुलित भोजनका साथै ‘सोसल ड्रिंक्स’बाहेक मदिरा सेवन गर्दैनन्,’ स्रोतले भन्यो । पारसले मासु खान पनि कम गरेका छन् । पहिला योग उनकै साथी प्रभञ्जन सिंह अर्थात् वेदनाथले सिकाएका थिए । उनी पहिलाजस्तो रक्सी पिएर रिसाउने, उद्दण्ड शैली देखाउनेभन्दा पनि सामान्य कुराकानीमा रमाउने गरेका छन् । तर, खुलेर धेरै कुरा भने कसैसँग पनि गर्दैनन् ।

जन्मदिनको तयारी
१५ पुसमा पूर्वयुवराज पारस शाहको जन्मदिन हो । त्यस दिनको औपचारिक कार्यक्रम अहिलेसम्म सार्वजनिक भएको छैन । तर, शीताष्माको निवासमै जन्मदिन मनाउने तयारी छ । बेलुकीको डिनर कार्यक्रम के हुने भन्ने टुंगो अझै नलागेको स्रोत बताउँछ ।

बिहान र दिउँसो भने शीताष्माको घरमै पारसले आफन्त र उनीनिकटका साथीको शुभकामना ग्रहण गर्ने कार्यक्रम रहेको पारसका साथी योगी व्यग्र वेदनाथले बताए । ‘अहिलेसम्म त घरमै जन्मदिन मनाउने भन्ने कार्यक्रम छ र केही साथीहरूले नेवारी कल्चरअनुसार जन्मदिन मनाउने भन्ने कुरा पनि गरेका छन्,’ वेदनाथले भने ।

मठमन्दिरको दर्शन
१ जनवरी २०१७ मा पूर्वयुवराज पारस दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा नयाँ वर्षको रमझममा झुमेका थिए । वर्षको आरम्भ रमाइलो गरेर सुरु गरेका उनी सन् २०१७ को अन्त्यसम्म आइपुग्दा त्यति चर्चामा र विवादमा आएनन् । कुनै ठूला कार्यक्रममा पनि सहभागी भएनन् । केही सीमित साथीभाइसँग डिस्को जाने, होटेलका कार्यक्रममा सहभागी हुनेबाहेक पारस २०१६ को जति सक्रिय भएनन् ।

सन् २०१६ मा पारस निकै सक्रिय बनेका थिए । आध्यात्मिकदेखि सांगीतिक कार्यक्रमसम्ममा उनको सहभागिता बाक्लो थियो । सन् २०१७ मा भने बाहिरी घुमघाममा खासै रुचि देखाएनन् । यद्यपि, केही आध्यात्मिक भ्रमण भने गरे ।

पारस आध्यात्मिक बाटोमा क्रियाशील रहेको उनका साथी वेदनाथले बताए । उनले यहीबीचमा बहिनी शीताष्माका साथ ललितपुरको बंगलामुखी मन्दिर, रुद्रायणीदेवी, दक्षिणकाली र पशुपति दर्शन गरे । त्यसो त पारस गतवर्ष योगी व्यग्र वेदनाथसहितको टोलीसँग खप्तडबाबाको दर्शनका लागि खप्तड क्षेत्र पुगेका थिए ।

पारस-हिमानी कहिले हाेलान सँगै ?
६ असार ०७४ मा पारस र हिमानी सँगै नर्भिक अस्पताल पुगेको सन्दर्भ हेर्दा अहिले पारस र हिमानीको सम्बन्धमा सुधार भएको मान्न सकिन्छ । पछिल्ला दिनमा उनीहरूको सम्बन्ध बिग्रिएको समाचार पनि बाहिर आएका छैनन् । पारसनिकट स्रोतका अनुसार हिमानीसहित छोराछोरीसँगको भेटघाट पनि पहिलाभन्दा बाक्लिएको छ । पछिल्ला दिनमा पारसको स्वास्थ्य स्थिर रहेका कारणले पनि उनीहरूको भेटघाट बाक्लिएको हो ।

माता सविता सरुले ग्रहदशा बिग्रिएकाले पारस र हिमानीलाई सँगै नबस्न सुझाएकी छिन् । त्यही सुझाबअनुसार उनीहरू एकसाथ नबसेको दरबार निकट स्रोत बताउँछ । निर्मल निवासलाई थरिथरि मान्छेले दिने अनेकथरि सुझावका कारण पनि परिवारसँग पारसको औपचारिक मिलन नभएको जानकारहरू बताउँछन् ।

पारसका मित्र प्रभञ्जन सिंहले थरीथरीका सुझाबहरू दरबारमा गइरहेकाले पनि राजपरिवारका सदस्यहरूबीच बेमेल भएको बताए । माताहरूले पारस र हिमानी छुट्टाछुट्टै बस्न भनेको डेढ वर्ष बितिसक्यो ।

– नयाँ पत्रिकाबाट

The post पत्नी हिमानीसंग सम्बन्ध सुमधुर बनाउँदै पुर्ब युबराज पारस , सुटुक्क जान्छन् निर्मलनिवास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cv48kB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top