Photo of Milford Sound in New Zealand

काठमाडौँ !! १२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो ।

उक्त कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन । त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए । अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन् ।

न्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य, सौन्दर्य एवं वाकपटुताको पनि उत्तिकै चर्चा हुने गरेको छ । स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भएकी इन्दिरा छोटो समयमै विश्वका २८ देशमा पुगिसकेकी छिन् भने नेपालका करिब–करिब सबै जिल्ला घुमेकी छिन् । उनलाई गायनमा ग्ल्यामर मिसाउन सक्ने खुबीका कारण धेरैले रुचाएका छन् । हँसमुख स्वभावकी इन्दिरासँग यसपटक साप्ताहिकले नेपालको ग्ल्यामर इन्डस्ट्रीदेखि उनको नितान्त व्यक्तिगत कुरा खोतल्ने प्रयास गरेको थियो ।

नेपाली तारामा तपाईं पाँचौं स्थानबाट आउट हुनुभएको थियो । त्यतिबेला तपाईं निकै दु:खी भएको दृश्य टेलिभिजनमा देखिएको थियो । अहिले त्यो दु:खलाई कसरी सम्झनुहुन्छ ?

एकदमै पोजेटिभ्ली लिन्छु । त्यतिबेला केही दु:खी भएँ हुँला तर नेपाली ताराले जे दियो, त्यसैमा टेकेर म यहाँसम्म आइपुगेकी छु । म ती क्षणहरूलाई गौरबका रूपमा लिन्छु । २ सय ८ जना प्रतिस्पर्धीबाट म टप टेनमा पुगेँ, त्यसपछि टप फाइभमा । मलाई त नेपाली गीत पनि गाउन आउँदैनथ्यो । तराईको मान्छे भएकाले मैले जानेको एउटा मात्र नेपाली गीत थियो : ‘तराई हेर कति राम्रो नेपाली हुनाले… ।’ त्यस्तो अवस्थाबाट टप फाइभसम्म पुग्नु नै ठूलो उपलब्धि थियो । मेरा लागि त्यो स्टेज ठूलो विद्यालय बन्न पुग्यो ।

त्यतिबेला तपाईं सामान्य खालकी केटी हुनुहुन्थ्यो । राम्रोसँग बोल्न पनि सक्नुहुन्नथ्यो । आज सबैलाई लठ्याउनुभएको छ । यो परिवर्तनको कारण के होला ?

म साह्रै अन्तरमुखी थिएँ । संगीत भर्खरै सिक्न थालेकी थिएँ । जजहरू देख्दा डर लाग्थ्यो । मेरा प्रतिस्पर्धीहरू आधुनिक थिए । उनीहरू गिटार बजाउँथे, आकर्षक पहिरन लगाउँथे । म कसैलाई सीधा हेर्न सक्दिनथेँ । आँखा तल गरेर हिँड्थे । सम्भवत: म छोरी हुँ, मैले सचेत हुनुपर्छ भन्ने कुरा मेरो दिमागमा यति धेरै भरिएको थियो कि मेरो कन्फिडेन्स बढ्नै सकेन । त्यसको कारण हाम्रो समाजमा छोरीप्रति गरिने व्यवहार पनि हुनसक्छ ।

त्यो भनेको के हो ?

भन्न खोजेको के भने जब छोरी मान्छे सानै हुन्छे, ऊ चकलेट खाँदै दाजु–काकाहरूसँग रमाउँदै हुर्कन्छे । जसै ऊ १५ वर्ष पुग्छे, तिनै दाजु–काकासँग त्यसरी गफ गर्‍यो भने परिवारले छोरी मान्छे भएर के नारिएर हिँडेकी ? कति छिल्लिएर बोलेकी ? किन बेलैमा घर नआएकी भनेर गाली गरिन्छ । त्यतिबेला त्यो केटी कन्फ्युज हुन्छे । जब करियर बनाउने समय आउँछ, अझ त्यो केटीले ग्ल्यामर क्षेत्रमा करियर बनाउनुपर्ने हुन्छ, त्यतिबेला ऊ लजाई, खुल्न सकिन भने उसले कुनै काम नै पाउन सक्दिन । एउटी केटीले समाजबाट सानो छँदा एक खालको व्यवहार पाउँछे, अलि ठूली भएपछि उसलाई अर्को खालको व्यवहार गर भनिन्छ । करियर बनाउँदा फेरि अर्कै खालको व्यवहार खोजिँदो रहेछ । यस्ता केटीहरू धेरै नै अलमलमा पर्छन् । उनीहरू मानसिक अन्तरद्वन्द्वमा फस्छन् । म पनि त्यस्तै शिक्षाको सिकार भएकी रहेछु । अबचाहिँ बल्ल जीवन बुझ्न थालें ।

एउटी अन्तरमुखी र डराइरहने केटीबाट यो लेभलको कन्फिडेन्स आउन कति समय लाग्यो ?

म अहिले पनि सिकिरहेकी छु । पहिले पत्र–पत्रिकामा कुनै निर्देशक र हिरोइनको कुरा वा कुनै गायिका र संगीतकारका कुरा अनेक तरिकाले जोडिएर आउँथे । मलाई पनि कुनै केटाले फसाउने हो कि, मेरो पनि पत्रिकामा त्यसैगरी समाचार आउने हो कि भन्ने लाग्थ्यो । आज पो बुझ्दैछु, कुनै निर्देशक वा लगानीकर्तासँग भेटघाट गर्नु त कामकै नेचर हो नि । त्यो हेलमेल नगरी कसरी फिल्म बन्छ, कसरी एल्बम निस्कन्छ ? कतिपय अवस्थामा पत्रपत्रिकामा त्यस्ता समाचार आउनुको पछाडि ती कलाकारलाई माथि ल्याउने प्रोपोगान्डा पनि हुँदो रहेछ । म चाहिँ यस्ता कुरामा साह्रै सोझी थिएँ । आफ्ना बारेमा अलिकति तलमाथि पर्‍यो भने तीव्र रियाक्ट गर्थे ।

हो, तपाईंले केही पत्रिकामा चर्को गुनासो गर्नुभएको छ, ती पत्रिका कुन–कुन हुन् सम्झना छ ?

वास्तवमा सानै कुरा गडबड हुँदा पनि मलाई डर लागिहाल्थ्यो । कान्तिपुरको कोसेलीमा अलिकति तलमाथि हुँदा मैले यज्ञसजीसँग झगडा गरेकी छु । त्यस्तै एकपटक साप्ताहिकसँग पनि गुनासो गरेकी थिएँ । म अन्तर्वार्ता पनि दिन डराउँथे । अहिले म खुला छु । अब बुझ्ने भएकी छु । पहिले चाँडै रिस उठ्थ्यो । अहिले त्यो रिसलाई म्यानेज गर्न सक्ने भएकी छु ।

तपाईं स्टेजमा चढ्ने बित्तिकै सामान्य इन्दिरा रहनु हुन्न । तपाईंमा अद्भुत मादकता चढ्छ, त्यसको कारण के हो ?

दर्शकहरूको मुडले मेरो मादकता बढाउँछ । विदेश जाँदा त्यहाँको स्टेज, त्यहाँका दर्शकहरूको मुडले मलाई अझै नाचूँ–नाचूँ बनाउँछ । म आफैंलाई बिर्सन्छु । म स्कुलदेखि नै राम्रो नृत्य गर्थे । जब युटुवमा अंग्रेजी गायिका सेडीको नृत्य हेरँे, त्यसपछि म उनलाई नै कपी गर्न थालेँ । दर्शकले त्यसलाई यति धेरै रुचाउनु भयो कि म अझ उत्साहित भएँ । स्टेजमा कस्तो परफमेन्स दिने भन्ने कुरा दर्शकको मुडमा पनि भर पर्छ । दर्शकहरू रमाइलो पर्नुभयो भने म लगातार ८ वटा गीत गाउँदै डान्स गर्न सक्छु ।

थाक्नुहुन्न ?

त्यतिबेला म आफैंलाई बिर्सन्छु । मैले नृत्यलाई नै एक्सरसाइज बनाएकी छु । कतिसम्म भने मलाई रिस उठ्यो भने पनि नृत्य नै गर्छु ।

आजभोलि तपाईंको पहिरन तथा हाउभाउ साह्रै ग्ल्यामरस छ । यो प्रयासले बनेको हो कि समयले ल्याएको परिवर्तन ?

समयले ल्याएको परिवर्तन हो । आज इन्दिराको गीत मात्र सुन्न कोही पनि आउँदैनन् । कसैलाई पहिरनले तानेको हुनसक्छ । कसैलाई नृत्यले तताएको हुनसक्छ । कसैको मुड नाच्ने हुन्छ भने कसैलाई गीत नै मन पर्छ । यो कुरा बुझ्दै गएपछि मैले आफूलाई पनि समयअनुसार परिवर्तन गरेकी हुँ र यो परिवर्तन मैले जबरजस्ती गरेकी होइन, यसमा म रमाएकी पनि छु ।

तपाईंले धेरैजसो सेतो परिहन लगाएको देखिन्छ, सेतो परिहनमा यतिसारो रस किन ?

सेतो परिहनले व्यक्तित्व उज्यालिन्छ । शान्त कुनै परी जस्तो देखिन्छ । यसले फरक इप्रेसन दिन्छ भन्ने लाग्छ । म गाउँमा छँदा बाबाले सेतो कुर्ती र पाइजामा लगाएर पत्रिका पढिरहेको दृश्यले ममा ठूलो प्रभाव पारेको थियो । त्यो स्टाइलले मेरो बाबा कति रिच लुकिङ हुनुहुन्छ भन्ने भाव पैदा गथ्र्याे । सेतो पहिरन लगाएर पनि मैलो हुन नदिनु अर्को खुबी हो । त्यसले डिसेन्ट फिलिङ दिन्छ ।

तपाईंको उध्रेको चोली बम्पर हिट भयो र तपाईंले त्यस्तै प्रकारका अरू धेरै गीत गाउनुभयो, यसले तपाईंको कलालाई असर गरेन ?

मलाई नाइँ भन्न आउँदैनथ्यो । जब ‘उध्रेको चोली’ गीत हिट भयो, आफूलाई मन नपरे पनि मैले त्यस्तै खालका धेरै गीत गाएँ । त्यति बेला मेरो मनमा के परेको थियो भने मैले नाइँ यो गीत गाउँदिन भनेँ भने त्यसले मेरो बजार पो बिग्रने हो कि वा म घमन्डी भएँ भनेर समाचार आउने पो हो कि भन्ने डर लाग्थ्यो । कुनै मेकअपम्यानले आफूलाई नसुहाउने मेकअप गरिदिए पनि म चुप लाग्थें । धेरै पछि पो थाहा पाएँ, नाइँ भन्न पाइने रहेछ । नाइँ भन्ने कला पनि हुँदो रहेछ । पोजेटिभ्ली नाइँ भन्न सक्नु त अझ ठूलो खुबी रहेछ । नाइँ भन्न नजान्दा मैले धेरै दु:ख पाएँ । त्यस्तै गीत गाउने गायिका भनेर चिनिँदा मेरो करियरमा पनि केही असर पर्‍यो । अब नाइँ पनि भन्छु, कतिपय गीतको शब्द पनि परिवर्तन गरेको छु ।

उध्रेको चोली जस्ता गीत गाउनु नराम्रो हो र ?

नराम्रो त होइन तर त्यो गीत सुन्ने निश्चित समय हुन्छ । हरेक गीतको एउटा कलर हुन्छ । साँझ रोमान्टिक मुडमा यस्ता गीत रमाइला लाग्छन् । सधैं श्रृंगार रसको गीत गाउनु एउटी गायिकाको बाध्यता पनि हुनसक्छ, तर म भर्सटायल गायिका हुन चाहन्थेँ । बिहान उठ्दाको अवस्थामा पनि मेरो गीत सुनियोस् । राती सुत्ने बेलामा पनि मेरै सुनियोस् । जुन दिनदेखि मैले पोजेटिभ्ली नाइँ भन्न सिकेँ मैले फरक–फरक खालको गीत गाउने अवसर पाएँ ।

तपाईंलाई घरमा चटकी भनिन्थ्यो होइन, किन ?

म धेरै चकचके थिएँ । हिलो–मैलोमा दलिएर हिड्थेँ । पुतली समाएर हिँड्थे, त्यसैले ।

दसैं आएको छ, त्यो बेलाको दसैं कसरी सम्झनुहुन्छ ?

तराईमा त्यसै पनि गर्मी हुन्छ । दसैं आउन थालेपछि मात्र अलिकति शीतल हुन थाल्छ । गाउँको माटोको गन्ध तथा हरियाली बढ्दै गएको वातावरण मलाई निकै राम्रो लाग्थ्यो । सानामा नयाँ लुगा लगाउन पाइन्थ्यो । बुवाले हामी ७ जना दिदी–बहिनीलाई झन्डै एकै किसिमका पहिरन किनिदिनु हुन्थ्यो । जाली भएका फरक–फरक रंगका मिडी लगाएर हिँड्दा सबैको आँखा फराकिलो भएको सम्भँmदा रमाइलो लाग्थ्यो ।

अहिले आएर दसैं कस्तो लाग्छ ?

रमाइलो त लाग्छ तर सानो छँदा जुन उत्साह हुन्थ्यो, त्यो कम हुँदो रहेछ । कलाकारितामा लागेपछि दसैंका अवसरमा विभिन्न देश जान पाउँछु । त्यसले फरक अनुभव गराएको छ । तैपनि दसैं भनेको सानै उमेरकै रमाइलो हुन्छ ।

सानै छँदा तपाईं प्रेममा हुनुहुन्थ्यो भन्ने सुनिन्छ, के भयो त्यो प्रेम ?

एक जना मनपरेको थियो । त्यसलाई प्रेमभन्दा पनि इन्फ्याचुएसन भन्नुपर्ला । त्यो आकर्षण प्रेममा परिवर्तन नहुँदै उहाँ विदेश जानुभयो । त्यसैले प्रेमको अनुभव नै गर्न पाइन ।

त्यसपछि प्रेम भएन ?

केही हेन्डसम केटा देखें । आहा, भन्ने भाव नआएको पनि होइन तर प्रेम हुन सकेन ।

अहिलेसम्म पनि ? कसले पत्याउने ?

सत्य यही हो । सम्भवत: कामको चापले भ्याइन कि ?

काम गर्दा–गर्दै प्रेम हुन सक्दैन र ?

प्रेमका लागि समय पनि हुनुपर्छ । सम्भवत: मैले गायन र स्टेजलाई यति धेरै प्रेम गरेँ कि अर्को प्रेमको आवश्यकता नै परेन ।

विवाहको आवश्यकता महसुस भएको छैन ?

मेरा दिदीहरूको भर्खरै विवाह सम्पन्न भएको छ । बल्ल मेरो पालो आउँदैछ । हाम्रो परिवारमा छोरीको विवाह गर्न तयारी पनि गरिदैन । करियर बनाएपछि नै विवाह गर भनेर ममीले उल्टै हामीलाई सम्झाउनुहुन्छ । तैपनि अब चाहिँ विवाह गर्ने बेला हुन लाग्यो जस्तो लागेको छ । सम्भवत: म प्रेम विवाह गर्छु होला तर ममीले सकेसम्म आफ्नै जातको केटा खोज है भन्नुहुन्छ । म पनि हुन्छ भनिदिन्छु । http://ift.tt/2CfpPVF बाट साभार

The post नाइँ भन्न नजानेर जीवनमा धेरै दु:ख पाएँ-लोकप्रिय चर्चित गायिका इन्दिरा जोशी !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pOx986
via IFTTT

0 comments:

Post a Comment

add

 
Top