Photo of Milford Sound in New Zealand

२० मंसिर, काठमाडौं । मेरीबास्सै लगायतका हास्य टेली श्रृंखलामा ‘दर्शने र मनमाया’ को जोडीका रुपमा ख्याती कमाएका हास्य कलाकार सुरेश थापा र अनिता दंगालको जीवनमा यतिबेला महाविपत्ति आइलागेको छ । ‘फ्याक्ट’ र ‘फिक्सन’ वीचको भेद नबुझ्दा कहिलेकाँहि यस्तै अनिष्ट हुँदोरहेछ ।

गत भदौ ८ मा अचानक एउटा यस्तो घटना भयो, जसबाट उनीहरु ठूलो संकटको भुमरीमा फसेका छन् । सोही घटनाका कारण यतिबेला दर्शने-मनमायाको चरित्र पनि संकटमा फसेको छ ।

तीन महिनायता दर्शने-मनमाया फाट्फुट्ट मात्रै टेलिभिजन र युट्युव च्यानलमा देखिन्छन् । गाउँ-गाउँमा हुने महोत्सव र निर्वाचन आयोगको जनचेतना कार्यक्रममा पनि उनीहरु देखिएका छैनन् । उनीहरु एकाएक किन हराए ? उनीहरुको उक्लिरहेको लोकप्रियताको ग्राफमा किन अचानक ब्रेक लाग्यो ? धेरै दर्शकलाई यसको रहस्य थाहा छैन ।

ख्यातीले खोसेको खुशी

कुनैबेला कलाकारका लागि अनुहार देखाउने एउटा मात्र प्रशारण केन्द्र थियो नेपाल टेलिभिजन । कलाकारहरुको संख्या सीमित थियो । स्टेजमा हरिवंश-मदनकृष्णको बोलावाल थियो भने सानो पर्दामा सन्तोष पन्तको रजगज । ‘हिजो आजका कुरा’ हिट थियो । त्यही कार्यक्रममा स-साना रोलमा देखिँदै दीपकराज गिरी, जितु नेपालहरु सतहमा आए । विस्तारै टेलिभिजनको संख्या बढ्दै जाँदा हास्य कलाकार पनि बढ्दै गए ।

अचेल यस्ता कलाकारको संख्या सयौं पुगेको छ । यही भिडमा आफ्नो पहिचान बनाइरहेका केही महिला-पुरुष जोडीले दर्शकलाई लोभ्याइरहेका छन् । तीमध्ये पर्दामा श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गरिरहेका दीपा-दीपक र धुर्मुस-सुन्तलीको चरित्र हास्यब्यङ्ग्य दर्शकबीच स्थापित छन् । सँगै कलाकार सुरेश थापा र अनिता दंगाल पनि पर्दामा उदाउँदै छन् ।

सुरेश र अनिताले ‘दर्शने-मनमाया जोडी’ का रुपमा चर्चा कमाइरहेका छन् । केही समययता युटुब च्यानलमा दर्शने र मनमायाको जोडीले विदेशमा बस्ने नेपालीको मन रिझाइरहेका छन् । तर, यसैवीचमा उनीहरुमाथि एउटा बज्रपात भयो, जसले गर्दा उनीहरुको कताकारिता कर्म नै धर्मराइरहेको छ ।

‘कमेडी गाइज’ नामक श्रृंखलादेखि सुरु भएको यो जोडी ‘अप्रील फूल’, ‘खित्का डट कम’, ‘पुर्पुरो’ हुँदै गाउँ-गाउँमा हुने महोत्सवका लागि अनिवार्य जोडी बनेको थियो । गएको दुई वर्षयता दुईवटा च्यानलमा सय भन्दा बढी हास्य श्रृंखला गरिसकेका ‘दर्शने-मनमाया जोडी’ को अभिनय देश विदेशमा रहेका सर्वसाधारण नेपालीले रमाइलो मान्ने गरेका छन् ।

आखिर के भएको थियो ?

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरी बास्सै’ मा सुरेश थापा एक महत्वपूर्ण कलाकार थिए । उनले निर्वाह गरेको जनआन्दोलनका घाइते ‘दर्शने’ को चरित्र आम दर्शकले धेरै रुचाए र त्यही चरित्रमार्फत उनी स्थापित भए । ‘दर्शने’ दर्शकमाफ लोकपि्रय भएपछि उनले आफ्नो कलाकारितालाई स्थायित्व दिन श्रीमतीका रुपमा नयाँ पात्र जन्माए, ‘मनमाया’ । मनमायाको चरित्र निर्वाह गरिन् कालाकार अनिता दंगालले । अनिताले प्रशिद्ध कलाकार-निर्देशक नीर शाहले निर्देशन गरेको चलचित्र ‘सेतोबाघ’मा एक मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् ।

बिराटनगरकी अनिता दंगाल ‘सेतोबाघ’ प्रदर्शनपछि कलाकार त भइन् । तर, भनेजति काम पाउन सकेकी थिइनन् । ‘मनमाया’ का लागि उपयुक्त कलाकार खोजिरहेका सुरेश थापाले एक दिन फेसबुकमा एउटी कुनै युवतीले गफ गर्न चाहेको सन्देश प्राप्त गरे । ती युवती ‘दर्शने’को अभिनयबाट परिचित मात्र थिइनन्, फेसबुकबाटै उनले एउटा राम्रो कलाकार खोजिरहेको थाहा पाएकी थिइन् ।

फेसबुकबाटै दंगालले आफू ‘मनमाया’ हुन तयार भएको स्वीकृति दिएपछि उनीहरुको भेट भएको थियो । त्यो भेटलगत्तै उनीहरुले दर्शने-मनमायाको चरित्रलाई कथामा ढालेर नयाँ टेलिश्रृंखला सुरु गरे । नयाँ कलाकारको टिम लिएर सुरेश थापा आफैले निर्देशनको जिम्मा लिएर सुरु भयो, ‘कमेडी गाइज’ ।

यो श्रृंखला तेस्रो-चौथो भाग नपुग्दै लोकपि्रय हुन थाल्यो र दीपक-दीपा, धुर्मुस-सुन्तलीजस्तै दर्शने-मनमाया पनि नयाँ जोडीका रुपमा दर्शकमाझ स्थापित हुन थाले । गाउँ-गाउँमा हुने महोत्सवबाट उनीहरुको माग आउन थाल्यो । बढदो घनिष्ठता देखेर आम दर्शकले पनि उनीहरुलाई साँच्चैका श्रीमान्-श्रीमती ठान्न थाले ।

‘घरमा म श्रीमतीसँग हुँदा पनि दर्शकहरुले फोनमा मनमायाकै विषयमा सोध्नथाले । दर्शकलाई मैले विवाहित हुँ भनेर बताउने आवश्यकता थिएन’, सुरेश भन्छन्, ‘दर्शकले मलाई सुरेश थापा होइन, दर्शनेका रुपमा स्वीकारका हुन् ।’

दीपकराज गिरी जहाँ गए पनि दीपाश्री निरौलाबारेमा सोध्ने गरिन्छ । सीताराम कट्टेलसँग सुन्तलीकै बारेमा चासो राखिन्छ । ठीक यसैगरी दर्शकहरु सुरेससँग मनमायाकै बारेमा सोध्थे ।

‘आफ्नो जोडी हिट हुन थालेको महसुस भएपछि मैले मेरो व्यक्तिगत जीवनलाई बाहिर ल्याइनँ । आफू विवाहित भएको कुरा दर्शकबीच गोप्य राखें । यो काम धेरै वर्षसम्म दीपकराज गिरीले पनि गर्नुभएको थियो, मैले पनि दर्शनेलाई दर्शकबीच अझै लोकपि्रय बनाउन त्यही शैली अपनाएँ’, सुरेश भन्छन् ।

सुरेशले जब आफूलाई दर्शनेकै रुपमा ब्याख्या गर्न थाले, यता उनको व्यक्तिगत जीवन धरापमा पर्न थाल्यो । प्रेम विवाह गरेर घर भित्र्याइकी श्रीमती अम्बिकाले उनको कलाकारिता जीवनमै आपत्ती जनाउन थालिन् । सानी छोरीसमेत भएकी अम्बिकाले आफ्ना श्रीमानलाई कलाकारिता त्यागेर सामान्य जीवन जिउन आग्रह गर्न थालिन् ।

‘कलाकारिता छाड्ने उनको आग्रहलाई मैले अस्वीकार गरेँ । किनभने कलाकार हुनका लागि मैले एक दशकभन्दा बढी संघर्ष गरिसकेको थिएँ । बल्ल बल्ल पाउन थालेको पहिचान र आम्दानी छाडेर नयाँ काममा स्थापित हुन फेरि संघर्ष गर्नुपर्दथ्यो । म यो गर्न तयार थिइनँ । उनले म तपाईंलाई पाल्छु भनेर आश्वासन पनि दिइन्, मैले मानिनँ, भूल त्यहीँ भयो । उनले यति ठूलो निर्णय गर्लिन् भन्ने कल्पना गरेको पनि थिइनँ’, सुरेश भन्छन् ।

आखिर जे नहुनुपर्थ्यो, त्यही भयो । गत भदौ ८ मा अम्बिकाले विष सेवन गरेर आत्महत्या गरिन् ।

आँखाभरि छचल्किएको आँशु रोक्ने असफल प्रयास गर्दै पहिलोपटक सञ्चार माध्यममा आफ्नो व्यथा सार्वजनिक गरिरहेका सुरेश थापालाई मन दह्रो बनाउन उनकै सहकर्मी अनिता दंगालले हौसला दिइरहेकी थिइन् ।

‘मनमाया’का रुपमा पाएको सार्वजनिक पहिचान अहिले उनी आफैँलाई भार भइरहेको भान उनीसँग कुरा गर्दा लागिरहेको थियो । यी तिनै मनमाया हुन्, जोसँग सुरेश पर्दामा मात्रै होइन, वास्तविक जीवनमा पनि श्रीमान-श्रीमती भएको आरोप लगाउँदै अम्बिकाले आत्महत्या गरेकी थिइन् ।

संसारभरि नै सार्वजनिक जीवन बाँचिरहेका सेलिब्रेटीहरुको व्यक्तिगत जीवन अप्ठ्यारोमा पर्नु सामान्य कुरा हो । तर, नेपालजस्तो मुलुकमा भर्खरै पहिचान बनाएका कलाकारले कलाकारिता नत्याग्दा श्रीमतीले आत्महत्या गरेको खवर सुन्नु परेको घटना सम्भवतः यो पहिलो हो ।

दोष कसको ?

सुरेशले कलाकारिता नत्यागे कुनै पनि बेला उनले श्रीमती गुमाउनुपर्ने संकेत आफूहरुले पाएको उनका सहकर्मीले अनलाइनखबरलाई बताएका छन् । सुरेश आफैंले पनि आफ्नी श्रीमतीले पटक-पटक कलाकारिता नत्यागे पनि ‘दर्शने-मनमाया’को जोडी त्याग्न गरेको आग्रहलाई गम्भीर रुपमा लिन थालेका थिए ।

‘हामी दुबैबीच गएको दसैंमा दर्शने-मनमायाको जोडी सधैंका लागि छुट्टएिको घोषणा गर्ने र आ-आफ्नो संसारमा र्फकने सहमति भएको थियो’, सुरेशले अनितातर्फ हेर्दै भने, ‘उनी पनि म अविवाहित हुँ, भोलि बिहे गर्नुपर्छ, भाउजूका कारण बजारमा बद्नाम हुन थालेकाले हामी छुट्टनिु नै उपयुक्त हुन्छ भन्दै दसैंपछि जोडी भङ्ग गर्न सहमत भएकी थिइन् । तर, जोडी भङ्ग भएको दर्शकले जानकारी पाउनुअघि नै मेरी श्रीमतीले संसार त्यागिदिइन् ।’

सुरेश थापा अर्थात दर्शनेकी रियल श्रीमती अम्बिकाले रिल श्रीमती अनिता दंगालका कारण आत्महत्या गरेको खबर अहिले भुसको आगो झैं कलाकारबीच फैलिरहेको छ । विवाहित सुरेशले घरमा कलह हुँदा हुँदै पनि अविवाहित सहकर्मी अनिता दंगालसँग प्रेम-यौन सम्बन्ध राखेर श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लागिरहेको छ । यसले उनीहरुको सार्वजनिक छविमा आँच मात्र आइरहेको छैन, उनीहरु कामै गर्न नसक्ने अवस्थामा पनि पुगेका छन् ।

अनिता आफ्नो छवि कलाकारहरुले जबरजस्ती बिगारेर भोलि अरुसँग विवाह गर्न नसक्ने अवस्थामा पुर्‍याएको आरोप लगाउँछिन् । सुरेश भने आफ्ना निकट मित्रहरुले नै आफ्नो घर बिगारेर यो अवस्थामा पुर्‍यादिएको गुनासो गर्छन् ।

उनका पुराना-नयाँ सहकर्मीहरु भने सुरेशले आफ्नो परिवारलाई ध्यान नदिएका कारण यो दुर्घटना निम्तिएको दाबी गर्छन् । यिनै आरोपबीच हामीले ‘दर्शने-मनमाया’को जोडीलाई मिडियाबाट नभाग्न, बजारमा चलेको हल्ला र अम्बिका आत्महत्या प्रकरणलाई सहीरुपमा बाहिर ल्याउन आग्रह गरेका थियौं ।

पहिलोपटक अनलाइनखबरमार्फत उनीहरुले रहस्यमय हुन थालेको घटनालाई सार्वजनिक गरेका छन् ।

तपाईहरुले पीडा दिएकै कारण अम्बिकाजी आत्महत्या गर्न बाध्य हुनुभयो, त्यसकारण ‘यो एक प्रकारको हत्या हो’ भन्ने कतिपयको आरोप छ नि ?

सुरेशः उनीहरुले फेसबुकमै यस्ता स्टाटस लेखेका थिए । प्रेम विवाह गरेकी र खान नपुग्ने अवस्थामा पनि नुन-भात खाएर जीवन गुजारा गरेकी श्रीमती हुन् । जब म अलि सक्षम भएँ, सुख दिन सक्ने अवस्थामा पुगेँ, अचानक उनले यो संसार छाडिन् ।

यो घटनाले मलाई चरम पीडा दिइरहेका बेला शान्त्वना दिनुको साटो सामाजिक सञ्जाल र कलाकार वृत्तमा नचाहिने आक्षेप लगाइयो । त्यसबाट ममा पर्ने मानसिक तनावबारे साथीहरुले सोच्नुपर्ने हो । यो मानवीय संवेदना नभएका व्यक्तिले लगाउने आरोप हो । मानौं, मेरै कारण त्यो घटना भएको भए, यो देशमा प्रहरी छ, कानुन छ । ममाथि कार्वाही गर्ने निकाय छ । मलाई किन नसमाएको त ?

अनिताः भाउजू माइत गएका बेला यस्तो घटना भयो । हाम्रो श्रृंखलाको सुटिङ धेरैजसो सुरेशजीको घर छेऊछाऊ हुन्थ्यो । कतिपल्ट हामी कलाकारले सुरेशजीको घरमै रात बिताएका छौं । मानौं, घरमै त्यो घटना भएको भए, हामी सबै शंकाको घेरामा पर्दथ्यौं । उहाँ र मलाई त पक्राउ नै गर्थे होला ।

केही पुराना कलाकार साथीहरु हाम्रो सम्बन्धलाई लिएर भाउजूलाई उकासिरहेका थिए । कहिलेकाहीँ मलाई लाग्छ, हाम्रो पवित्र सम्बन्धका कारण ईश्वरले हामीलाई बचाए । सायद यो घटना घट्नु थियो तर, काठमाडौंमा घटेन । उहाँलाई पनि हाम्रो व्यवसायिक सम्बन्धमा विश्वास थियो, यही कारण संसार त्याग्दा माइती नै जानुपर्छ भन्ने सोच्नुभयो होला ।

तर, तपाईंहरुले पोखरामा सुटिङ गर्न जाँदा एउटै कोठामा रात बिताएको भनेर अम्बिकाजीले प्रहरीमा रिपोर्ट लेखाउनुभएको थियो । तपाईंहरुलाई प्रहरीले पक्राउ पनि गरेको थियो रे नि ?

सुरेशः हामी टिमका धेरै कलाकारहरु सँगै थियौं । बिहान ८ बजे प्रहरीले हामी बस्ने होटेलमा छापा मारेको थियो । त्योबेला हामी आफ्ना सामानहरु प्याकिङ गरिरहेका थियौं । हामीलाई ‘आपत्तिजनक अवस्थामा प्रहरीले फेला पारेको’ खबर भाइरल भएको थियो । यस्तो खबर कलाकारले नै फैलाएका थिए ।

खासमा मेरी श्रीमतीलाई फोन गरेर ‘तेरो श्रीमान् आफ्नै सहकर्मीसँग एउटै कोठामा सुतिरहेको छ, तँ के हेरेर बसिरहेकी छस्’ भनेर उकासेर प्रहरीमा रिपोर्ट लेखाउन उनीहरुले नै लगाएका थिए । साथीहरुकै सहयोगमा उनले मलाई पक्राउ गराएकी थिइन् । आखिर हामीलाई पक्राउ गरेर जतिसुकै कबुल गर्न लगाए पनि हामी गलत सम्बन्धमा थिएनौं । उनी आफै लज्जित भइन् ।

अनिताः प्रहरीले त्योबेला हामीलाई श्रीमान्-श्रीमती भएको, एउटै कोठामा सुतेको कबुल गर्न लगाएको थियो । तर, जतिसुकै बेइज्जत भए पनि नभएको कुरा कबुल गर्न सकिनँ । सबै मिलेर ‘तैंले सुरेशसँग बिहे गर्नैपर्छ, तैंले नै उसको घर बिगारेकी होस्’ भनेर मलाई दबाव दिए । यसरी दबाव दिँदा कसैको घर बिग्रन्छ, कसैको जीवन बिग्रन्छ भनेर उनीहरुले सोचेनन् । उनीहरु केवल आफ्नो इगो साँध्नेतिर मात्रै लागे । प्रहरी प्रशासनको दुरुपयोग गरे ।

भाउजू पनि उनीहरुको कुरामा आउनुभयो । यसरी जबरजस्ती गर्दा भाउजूको भविश्यको बारेमा सोचेनन् । म अविवाहित युवती हुँ, भोलि मेरो विवाह गर्नुपर्छ र मेरो जीवनलाई कस्तो असर पर्छ भन्ने पनि सोचेनन् । त्यो घटनाले भाउजू र मेरो जीवन बर्बाद भयो ।

यो विषयमा तपाईंहरु तीन जनाबीच त्यसबेला केही पनि कुराकानी भएन ?

सुरेशः उनी मलाई असाध्यै माया गर्थिन् । मलाई कसैले खोस्ला भनेर डराउँथिन् । यो कुरा अरुले बुझेनन् । सुरु सुरुमा दर्शने र मनमायाको जोडीले बजार तताउन थालेको खबर सुनाएर उनलाई डर देखाइदिए । बिस्तारै हाम्रो सम्बन्ध बढ्न थालेको हल्ला फैलाइयो । उनले पटक-पटक मनमायालाई छाड्न दबाव दिन थालिन् । यस्तो बेलामा म उनलाई ‘तिमी अनावश्यक चिन्ता गरिरहेकी छ्यौ’ भनेर सम्झाउँथे ।

म कुनै पनि हालतमा दर्शने-मनमायाको जोडी तोड्न चाहन्नथें । किनभने यत्रो वर्षको संघर्षपछि बल्ल कलाकारको पहिचान बनेको थियो । म श्रीमती र कलाकारिता साथ-साथ लिएर जान चाहन्थेँ । पटक- पटक सम्झाएको थिएँ ।

तपाईंको अरु धेरै कलाकारसँग पनि सम्बन्ध थियो, तैपनि अम्बिकाजीले अनितासँगकै सम्बन्ध तोड्न आग्रह गर्नुपर्ने कुनै कारण त पक्कै थियो होला, किन लुकाउनुहुन्छ ?

सुरेशः उनी शंकालु स्वभावकी थिइन् । एकपल्ट मैले नायिका केकी अधिकारीलाई लिएर म्युजिक भिडियो बनाएको थिएँ । केकी उनकी फेबरेट कलाकार थिइन् । जब केकीसँग काम गर्दैछु भनेर उनले सुनिन्, उनले मलाई खुसी हुँदै अंगालो मारेकी थिइन् । काम सकिएको भोलिपल्ट मैले केकीसँग बसेको तस्वीर फेसबुकमा पोस्ट गर्दा उनले रोएर जात्रा गरिन् ।

कुनै युवतीसँग त्यसरी फोटो खिचाएको समेत उनलाई मन पर्दैनथ्यो । आफू राम्री छैन, कुनै राम्री युवतीले मलाई खोस्न सक्छ भन्ने डर उनको मनमा व्याप्त थियो । मैले पटक-पटक ‘म तिम्रै हुँ’ भनेर सम्झाउनुपर्थ्यो ।

अनिताः जब सुरेश दाइले हाम्रो जोडीका कारण घरमा समस्या पर्न थालेको कुरा बताउन थाल्नुभयो, मैले भाउजूसँग सम्बन्ध विस्तार गरेँ । किनभने डराउनुपर्ने कुरा थिएन । मैंले भाउजूलाई ‘म अविवाहित युवती हुँ, नराम्री पनि छैन, पढेलेखेकी छु, अभिनय पनि राम्रै गर्छु । आफ्नै खुट्टामा उभिएकी छु । यति हुँदाहुँदै पनि श्रीमती र छोरी भएकी सुरेश दाइसँग म किन लसपस गर्छु ? त्यति बुद्धि त मेरो पनि छ । तपाईंले शंका गर्नुपर्दैन, हामी कलाकार मात्रै हौं । श्रीमान-श्रीमतीको अभिनय गर्दा अलि नजिक भएकाले अरु र तपाईंलाई शंका लागेको मात्र हो’ भनेर सम्झाएँ ।

त्यति मात्र होइन, बेला-बेलामा हामी परिवारिकरुपमा घुम्न पनि जान्थ्यौं । भाउजू मात्रै होइन, छोरी पनि मसँग झ्याम्मिन थालेकी थिइन् । मैले उहाँको शंका निवारण गर्ने सक्दो प्रयास गरेँ । मेरो कुरा सुनुञ्जेल उहाँ सहमत हुनुहुन्थ्यो । तर, हामी सुटिङ्मा अथवा महोत्सवहरुमा दुई-चार दिन बाहिर हुनेवित्तिकै उहाँलाई चिन्ता लाग्दोरहेछ । उहाँ हामीबीच कस्तो सम्बन्ध छ भनेर अरु कलाकार साथीहरुलाई सोध्न थाल्नुहुँदोरहेछ ।

उहाँको त्यो कमजोरी सुधार्न सहयोग गर्नुको साटो अरुले झन उचाल्न थाले । हामीले कहाँ र कसरी रात बितायौं, कुनबेला हामीले एक-अर्काको हात समायौं, कुनबेला कस्तो व्यवहार देखायौं सबै सुनाइदिँदारहेछन् । यही कारण उहाँ पटक-पटक पीडित हुनुभयो ।

सुरेशः यही कारण झगडा हुन थालेपछि मैले उनलाई भनें, ‘यो तरिकाले हाम्रो जीवन झन बिग्रन्छ । म कलाकारिता छाड्न सक्तिनँ । तिमी कमजोर नबन । बरु यहाँ बस्न गाह्रो हुन्छ भने विदेश जाऊ । संसार कहाँ पुगिसक्यो बुझ । मलाई बुझ्यौ भने हाम्रो जीवन बन्छ, मलाई बुझ्न सकिनौ भने पनि पैसा कमाउँछौ, तिम्रो भविष्य सुरक्षित हुन्छ ।’

मेरो कुरा बुझेर उनी जापान जान तयार भइन् । उनी शिक्षण पेशा गर्थिन् । उनले केही पैसा बचाएकी थिइन् । त्यसमा मैले केही लाख थपेर उनलाई जापान पठाएँ । लागेको थियो, जापान बसेर उनको सोचाइ फरकिलो हुन्छ । हाम्रो सम्बन्धका विषयमा चिन्तन-मनन गर्छिन् । तर, मानिस जहाँ गए पनि आफ्नो स्वाभाव परिवर्तन गर्न सक्दोरहेनछ ।

त्यहाँबाट पनि उनले हाम्रो सोधपुछ गर्न छाडिनन् । भन्नेहरुले भनिदिए, ‘पहिला तपाईं यहाँ छँदा त उनीहरुको चाला यस्तो थियो, अहिले त झन् फ्री छन् ।’ यस्तो सुनेपछि उनी जापान बस्न सकिनन् र ७ महिनामै घर फर्किन् ।

त्यत्रो खर्च गरेर जापान पुगेकी थिइन्, भविश्य सुरक्षित गर्न छाडेर पैसा डुबाइन् ।

त्यसपछि भने तपाईंले वास्ता गर्न छाड्नुभएको हो ?

सुरेशः खासमा त्योबेला उनी मलाई कति माया गर्छिन् भन्ने राम्ररी महसुस भयो । म आफ्नो कलाकारिता दुनियाँमा रमाइरहेको हुनाले उनका चिन्तालाई म बच्काना सम्झिन्थेँ । उनले मेरा लागि जापानको सुरक्षित भविश्यसमेत त्यागिदिइन् । उनी मेरो शरीरलाई चाहन्छिन् । मलाई एकलौटी आफ्नो बनाउन चाहन्छिन् । यस्तोबेलामा म कि कलाकार मात्र हुनसक्थेँ, कि उनको श्रीमान् मात्रै ।

उनी सुरुदेख नै एक प्रकारले मानसिक समस्यामा छिन् भन्ने कुरा महसुस गरेँ । हुन त जपान जानुअघि पनि उनलाई मानसिक औषधि खान सल्लाह दिएको थिएँ । अब भने उपचार नै गर्नुपर्छ भन्ने निर्णयमा पुँगे । त्यही बेला हाम्रो कलाकारिताको जोडीलाई यहीँ ब्रेक गर्नुपर्छ भनेर अनितासँग सल्लाह गरेँ ।

दुई वर्ष काम गर्दा हामी एक अर्कासँग नजिक भैसकेका थियौं । त्यसमाथि कलाकारिता नै छाड्नुपर्ने अवस्था निकै गाह्रो थियो । तैपनि मैले परिवारलाई ध्यान दिनुपर्छ भन्ने लागिरह्यो । यो निर्णय गर्न निकै गाह्रो थियो । यही कारण कलाकारिताको यो जोडी र समग्र कलाकारिता त्याग गर्नुअघि हामी एउटा ध्यानमा सहभागी हुने र भगवानलाई साक्षी राखेर यो काम गर्ने निर्णय गर्‍यौं । दसैंमा त्यो ध्यान गर्ने र त्यसपछि खुसी-खुसी आ-आफ्नो संसारमा र्फकने अनिता र मबीच सल्लाह भएको थियो ।

मेरी श्रीमतीलाई पनि मैले यही कुरा सुनाएको थिएँ । उनी तीज मान्न माइती गएकी थिइन् । खुसी हुन थालेकी थिइन् । तीजका दिन मेरा नाममा ब्रत लिइन् । तीजको ब्रत लिँदा पानी पनि खानुहुँदैन भन्ने चलन छ, तर उनले त्यहीबेला पानी होइन, विष खाइदिइन् ।

आत्महत्या नै गर्नुपर्ने अरु नै कारण थियो भन्ने लाग्छ ?

सुरेशः संसार छाडेका मानिसको राम्रा कुरा मात्रै हेर्नुपर्छ । उनका केही कमजोरी थिए, जुन मलाई पनि सेयर गरेकी थिइन् । सायद, मैले श्रीमानको भूमिका निभाउन सकिनँ । मैले कलाकारितालाई बढी महत्व दिएँ । म अरु कलाकार जस्तो हुन्न, मेरो परिवार र कलाकारिता सँगै सम्हाल्छु भन्ने सोच खरानी भयो ।

सानी छोरी छिन्, उनलाई सम्हाल्नुपर्छ । अब कलाकारितामा ब्रेक लाग्छ कि ?

अनिताः उहाँ निकै हतास हुनुहुन्छ । म उहाँलाई हौसला दिइरहेकी छु । आखिर यही कलाकारिताले त यो अवस्था भयो भने अब गुमाउन के बाँकी छ र ? हिजो सल्लाहमै उहाँको परिवारका लागि हाम्रो जोडी ब्रेक गर्न सहमत भएका थियौं । अब यही कलाकारितालाई नै शक्तिमा परिवर्तन गर्नुपर्छ भनेर सम्झाउँछु । अब झन दरो जोडी बनाउनुपर्छ भन्छु । तर, उहाँ हतास हुनुभएको छ ।

सुरेशः मेरा कारण यिनको (अनिताको) सार्वननिक बदनामी भयो । अब त म श्रीमती नभएको एक्लो मान्छे, उनी छोरी भनेपछि मरिहत्ते गर्छिन् । आमाका बारेमा थाहा पाएपछि छोरीले अनितालाई नै खोज्न थालेकी छन् । सायद, उनले पनि असाध्यै माया गरिन् क्यारे । बच्चा मायाको भाषा मात्रै बुझ्छन् । संसारले के भनिरहेको छ, उनीहरुलाई थाहा हुने कुरा भएन । मेरा कारणले उनको झन् ठूलो बदनामी हुन थालेको छ । म मेरो जीवन सपार्न उनको जीवन बर्बाद गर्न चाहन्न ।

आखिर तपाईंहरुबीच सुरुदेखि नै एक प्रकारको आकर्षण छ भन्ने देखिन्छ । सायद यही कारण त्यत्रो घटना भयो । यो जोडी सधैंका लागि एक हुँदा के हुन्छ ?

अनिताः मेरा आमा-बुवा हुनुहुन्छ । उहाँहरुका आफ्ना सपना छन् । मप्रति एउटा विश्वास छ । मलाई उहाँहरुले कहिल्यै पनि कुनै काम गर्न रोक्नुभएन । सुरेश दाइ र मबीच भएका चाहिँदा नचाहिँदा हल्ला सुन्दा पनि मप्रति उहाँहरुले कहिल्यै अविश्वास गर्नुभएन ।

म दिदीसँग काठमाडौं बस्छु । दिदीसमेत मलाई ठूलो विश्वास गर्नुहुन्छ । मानौं, अहिले मैले उहाँसँग विवाह गर्ने निर्णय गरें भने सबैले यिनीहरुको पहिलेदेखि कै प्रेम थियो, यिनीहरुकै कारण भाउजूले आत्महत्या गर्नुभयो भन्ने प्रमाणित हुन्छ । यसै पनि बजारले हामीलाई राम्रोसँग बाँच्न दिएको छैन । झन् जीवनभरि कलंक बोक्नुपर्छ ।

सुरेशः खासमा अनिता कलाकार हुन् । कलाकार भएका नाताले मेरो कलाकारिताको भोक बुझ्छिन् । दुई वर्षदेखि संगत गरेका कारण मेरा राम्रा-नराम्रा बानी उनलाई थाहा छ । उनी नभएको भए यो बेला म रक्सी खाएरै मरिसक्थेँ । उनले मलाई रक्सीबाट टाढा राखेकी छन् । सायद हामी एक हुँदा धेरै राम्रो हुन्छ । छोरीले पनि साथी पाउँछिन् । तर, मैले मेरो स्वार्थ हेरेर मात्र हुँदैन ।

अनिताः उहाँलाई हेर्छु, उहाँका दुःखहरुलाई हेर्छु, त्यसै-त्यसै मन भरिएर आउँछ । उहाँलाई साथ दिन मन लाग्छ । तर, परिवारलाई हेर्छु, समाजलाई हेर्छु, उनीहरुको अर्कै मनसाय पाउँछु । मैले उहाँलाई साथ दिने निर्णय गर्दा केही कलाकार साथीहरुले लगाएकै आरोप सत्य हुन जान्छ । खासमा म यतिबेला अनिर्णयको बन्दी भएकी छु ।

अब म केही सोच्दिनँ, समयले जे गराउँछ, त्यसमा समाहित हुन्छु । म कलाकार हुन चाहन्थेँ, उहाँले साथ दिनुभयो । तर, मेरो कलाकारिताले यत्रो मूल्य चुकाउनुपर्ला भनेर सोचेकी पनि थिइनँ ।

सुरेशः मैले गाडीमा खलासी गर्दै कलाकारिता सुरु गरेको हुँ । अरु काम गर्दा समय मिल्दैनथ्यो । गाडीमा पार्टटाइम गर्न पाइन्थ्यो । एक हप्ता काम गर्दा अर्को हप्ता निर्देशकको दैलो चाहार्ने पैसा हुन्थ्यो । म पढाइमा राम्रो थिएँ । जीवनमा अरु धेरै क्षेत्रमा जान सक्ने सम्भावना थियो । मैले कि गायक हुन्छु कि कलाकार हुन्छु भनेर लागेँ ।

कलाकारिताले पैसा नदिँदा धेरैपटक हामी तीनजना कलाकार, सरापे र धतुरेसँगै म दर्शनेले फुको चिउरा खाएर सुतेका छौं । त्यही दुःखका बेलामा मैले उनलाई प्रेम विवाह गरेको थिएँ । उनी म कलाकार भएकाले अवस्था राम्रै होला भनेर आएकी थिइन् । तर, सुरुवातको अवस्था दयनीय थियो । अब राम्रो हुन थालेको थियो । तर, ५ वर्षकी छोरी त्यागेर उनले जीवनै त्याग्ने निर्णय गरिन् ।

उनी हारेर गइन् कि जितेर गइन् थाहा छैन, नतिजा आफैंतिर पारेर गइन् । सायद यही कारण उनलाई भन्दा मलाई नराम्रो भन्नेहरुको जमात बढिरहेको छ ।

के अब कलाकारिता छाड्नुहुन्छ ?

सुरेशः कान्तिपुर टेलिभिजनमा शंक चक्र, गोर्खे लौरीजस्ता श्रृंखला गरुन्जेलसम्म कलाकारिता मेरो रहर मात्रै थियो, अहिले नशा भएको छ । मलाई शिशिर सुवेदीले ठूलो आशा राखेर ब्रेक दिए । आखिर कलाकारिताले नै आज सबै कुरा गुम्यो । अब गुमाउनुपर्ने कुरा छैन, त्यसैले छाड्दिनँ । एकपटक दह्रो गरेर खुट्टा टेक्छु । सायद भगवानले साथ देलान् ।

अनिताः म पनि अनौठो तरिकाले यो केसमा मुछिएँ । उहाँको जीवनमा मिसिन आइपुगेँ । दर्शकले हाम्रो जोडी मनपराएका छन् । समाजले साथ दिन्छ र दर्शकले पनि साथ दिनुहुन्छ भन्ने लाग्छ । म पनि उहाँलाई फेरि एकपटक साथ दिन्छु । हामी पुनः एकपटक संघर्ष गर्छाैं । यो घटना भाउजूका आफ्नो कारणले भन्दा पनि केही मानिसले उहाँलाई अनावश्यक उचालेका कारण भएको हो । यसमा हामीले रोएर बस्नुपर्छ भन्ने लाग्दैन । एकपटक पुनः आँशु पुछेर संघर्ष गर्नुपर्छ जस्तो लाग्छ ।

तर, तपाईंहरु हास्य कलाकार, यस्तो दुःखमा कसरी हँसाउन सक्नुहुन्छ ?

सुरेशः उसै पनि हँसाउनु अप्ठ्यारो काम हो । मानिसहरु के गर्दा हाँस्छन्, हामी रात-दिन त्यही चिन्तामा रहन्छौं । दर्शक नहाँसेको दिन हाम्रो कलाकारिता सकियो भन्ने लाग्छ । यसरी रातदिन खटिरहनुपर्छ । अहिले त झन् यस्तोबेलामा क्रिएसन गर्ने मुड नै आउँदैन । दिमाग नै भुत्ते भएजस्तो लाग्छ ।

अनिताः उहाँसँग अनौठो प्रतिभा छ । कुनै एउटा जोकमात्रै फेला पार्नुभयो भने त्यसलाई उहाँले यसरी घुमाउनुहुन्छ कि मानिसले त्यो जोक कहाँबाट ल्याउनुभयो र त्यसलाई कसरी खेलाउनुभयो भन्नेसमेत थाहा पाउँदैनन् । मञ्चमा उक्लिएपछि नै हामीले स्टाण्डवाइ नयाँ-नयाँ शैलीमा दर्शकलाई हँसाएका छौं । उहाँ क्यामेराअघि उभिनेवित्तिकै दर्शनेमा परिणत भैहाल्नुहुन्छ । अद्भूत प्रतिभा भएको मान्छे । उहाँ जस्तोसुकै अवस्थामा पनि काम गर्न सक्नुहुन्छ । म उहाँलाई कलाकारिता नछाड्न आग्रह गर्छु । खासमा सुरेशजी दर्शक खुसी बनाउन नै जन्मिनुभएको हो ।
(अनलाइन खबरबाट साभार गरिएको सामाग्री)

The post हाँस्य कलाकार दर्शनेकी श्रीमतीको आत्महत्याः दयनीय अवस्थामा दर्शने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AdO7Sh
via IFTTT
06 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top